बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

भारतको परमाणु ऊर्जामा ऐतिहासिक फड्को : ५०० मेगावाटको फास्ट ब्रीडर रियाक्टर सञ्चालनमा

बुधबार, २५ चैत २०८२, १६ : १०
बुधबार, २५ चैत २०८२

सारांश

  • भारतको तमिलनाडूस्थित ५०० मेगावाट क्षमताको प्रोटोटाइप फास्ट ब्रीडर रियाक्टरले सफलतापूर्वक पहिलो क्रिटिकालिटी प्राप्त गरेको छ।
  • यो रियाक्टर इन्दिरा गान्धी सेन्टर फर एटोमिक रिसर्चद्वारा स्वदेशमै विकसित प्रविधिमा आधारित रहेको छ।
  • फास्ट ब्रीडर रियाक्टरले खपत गर्नेभन्दा बढी इन्धन उत्पादन गर्दै भारतको दीर्घकालीन आणविक रणनीतिलाई बलियो बनाउनेछ।

नयाँ दिल्ली । भारतको परमाणु ऊर्जा कार्यक्रममा एक महत्त्वपूर्ण उपलब्धि हासिल भएको छ। तमिलनाडूको कल्पक्कमस्थित ५०० मेगावाट क्षमताको प्रोटोटाइप फास्ट ब्रीडर रियाक्टरले ६ अप्रिल २०२६ को राति ८:२५ बजे सफलतापूर्वक पहिलो क्रिटिकालिटी (नियन्त्रित परमाणु विखण्डन प्रक्रिया) प्राप्त गरेको छ। 

परमाणु ऊर्जा नियामक बोर्डको कडा सुरक्षा मापदण्ड र समीक्षापछि यो प्रक्रिया सुरु गरिएको हो। यस अवसरमा भारतको परमाणु ऊर्जा आयोगका अध्यक्ष डा. अजित कुमार मोहन्ती लगायत शीर्ष वैज्ञानिक र अधिकारीहरूको उपस्थिति थियो। 

यो रियाक्टरको डिजाइन र प्रविधि पूर्ण रूपमा इन्दिरा गान्धी सेन्टर फर एटोमिक रिसर्चले स्वदेशमै विकास गरेको हो भने यसको निर्माण र सञ्चालन भारतीय नाभिकीय विद्युत निगम लिमिटेडले गरेको हो।

फास्ट ब्रीडर रियाक्टर भारतको दीर्घकालीन आणविक रणनीतिको मुख्य खम्बा मानिन्छ। परम्परागत थर्मल रियाक्टरको तुलनामा यसले युरेनियम-प्लुटोनियम मिश्रित अक्साइड इन्धन प्रयोग गर्छ। यस प्रविधिको विशेषता यो हो कि यसले खपत गर्नेभन्दा बढी इन्धन उत्पादन गर्छ। 

भविष्यमा यस रियाक्टरमा थोरियम-२३२ को प्रयोग गरी युरेनियम-२३३ बनाइनेछ, जसले भारतमा प्रचुर मात्रामा रहेको थोरियम भण्डारलाई ऊर्जा उत्पादनमा प्रयोग गर्ने बाटो खोल्नेछ।

यस रियाक्टरमा उच्च तापक्रमको लिक्विड सोडियम कूलिन्ट प्रविधि र बन्द इन्धन चक्र जस्ता अत्याधुनिक सुरक्षा प्रणालीहरू जडान गरिएका छन्। यसले परमाणु फोहोरलाई कम गर्दै दिगो ऊर्जा उत्पादनमा मद्दत पुर्‍याउँछ। भारतका वैज्ञानिक, इन्जिनियर र प्राविधिकहरूको वर्षौंको मेहनतको नतिजा स्वरूप भारत अब थोरियममा आधारित परमाणु ऊर्जा कार्यक्रमको तेस्रो चरणमा प्रवेश गर्न निकै नजिक पुगेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप