बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
सुरक्षा/अपराध

राजधानीमै नाबालिकालाई जबर्जस्ती वेश्यावृत्तिमा लगाउने गिरोह

कम्बोडिया पुर्‍याएर बन्धक बनाउने पनि खोरमा
बुधबार, २५ चैत २०८२, २० : ३३
बुधबार, २५ चैत २०८२

सारांश

  • नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले जबर्जस्ती वेश्यावृत्ति र मानव तस्करीमा संलग्न चार जनालाई पक्राउ गरेको छ।
  • ब्युरोले काठमाडौँको कलंकी र ललितपुरबाट पाँच नाबालिकासहित आठ जना पीडितको सकुशल उद्धार गरेको छ।
  • वैदेशिक रोजगारीको प्रलोभनमा कम्बोडिया पुर्‍याएर बन्धक बनाउने एक जनालाई पनि प्रहरीले पक्राउ गरी अनुसन्धान अघि बढाएको छ।

काठमाडौँ । नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले जबर्जस्ती वेश्यावृत्तिमा लगाउने र वैदेशिक रोजगारीको प्रलोभनमा पारी विदेशमा लगेर बन्धक बनाउने कार्यमा संलग्न चार जनालाई पक्राउ गरेको छ।

ब्युरोले राजधानीका विभिन्न स्थानमा अपरेसन चलाएर पाँच नाबालिकासहित आठ जनाको उद्धार गर्दै उनीहरूलाई यौन शोषण गर्ने तथा कम्बोडिया पुर्‍याएर अनलाइन स्क्याममा लगाउने गिरोहलाई सार्वजनिक गरेको हो।

ब्युरोका सूचना अधिकारी प्रहरी उपरीक्षक (एसपी) राजन लिम्बुका अनुसार काठमाडौँको कलंकीमा टहरा भाडामा लिएर नाबालिका र महिलालाई जबर्जस्ती वेश्यावृत्तिमा लगाउने दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा दोलखाको भीमेश्वर नगरपालिका–४ की ५६ वर्षीया सुष्मा तामाङ र धादिङको थाक्रे गाउँपालिका–७ का ४२ वर्षीय हरि शम्शेर रायमाझी छन्। 

उनीहरूले कलंकीमा तीनवटा कोठा भएको टहरा भाडामा लिएर विभिन्न प्रलोभन र डरत्रास देखाई पाँच जना नाबालिका र तीन जना महिला गरी आठ जनालाई दैनिक तीनदेखि चार जना ग्राहकसँग शारीरिक सम्पर्क राख्न बाध्य पार्ने गरेका थिए।

प्रहरी टोलीले चैत २४ गते उक्त टहरामा छापा मारेर आठै जना पीडितको सकुशल उद्धार गरेको छ भने पक्राउ परेका तामाङ र रायमाझीलाई काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाएको छ।

अर्को एक घटनामा, खाजाघरमा काम दिने बहानामा जबर्जस्ती वेश्यावृत्तिमा लगाउने मकवानपुरको बकैया गाउँपालिका–१२ की ३० वर्षीया बास्ना माया योञ्जनलाई पनि ब्युरोले पक्राउ गरेको छ। योञ्जनले एक जना पीडितलाई ललितपुरको ठैबमा बुद्ध तामाङले सञ्चालन गरेको खाजाघरमा कुक र वेटरको काम लगाइदिने भन्दै विभिन्न ग्राहकसँग यौनजन्य क्रियाकलाप गर्न बाध्य पारेकी थिइन्। 

उक्त होटल बन्द भएपछि गत असोज २५ गते ललितपुरकै हरिसिद्धीमा रहेको ‘के खानी खाजाघर’ मा भाँडा माझ्ने र सरसफाइ गर्ने काम भन्दै लगेर त्यहाँ पनि प्रतिग्राहक पाँच सय रुपैयाँ दिने प्रलोभन र डरत्रास देखाएर जबर्जस्ती वेश्यावृत्तिमा लगाएको प्रहरीले जनाएको छ। 

ब्युरोको टोलीले मंसिर १ गते पीडितको उद्धार गरेको थियो भने फरार रहेकी योञ्जनलाई चैत २३ गते काठमाडौँबाट पक्राउ गरेको हो। उनलाई ललितपुर जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यसैगरी, हङकङ पठाइदिने भन्दै कम्बोडिया पुर्‍याएर बन्धक बनाउने चन्द्रागिरि नगरपालिका–१४ नैकापका २३ वर्षीय आयुष केसी पनि प्रहरी फन्दामा परेका छन्। केसीले एक जनालाई हङकङको होटलमा मासिक एक लाख रुपैयाँ तलब हुने वेटरको काम लगाइदिने प्रलोभन देखाएर लागत खर्चबापत तीन लाख रुपैयाँ असुलेका थिए। 

त्यसपछि गत पुस १३ गते काठमाडौँबाट दिल्ली, भियतनाम हुँदै कम्बोडिया पुर्‍याएर ती व्यक्तिलाई एउटा कम्पनीमा बन्धक बनाइएको थियो। पीडितको पासपोर्ट, मोबाइल र साथमा भएको डलरसमेत खोसेर डरत्रास देखाउँदै जबर्जस्ती अनलाइन स्क्यामको काममा लगाइएको अनुसन्धानबाट खुलेको छ। 

उक्त कम्पनीमा छापा मारिएपछि कम्पनी सार्ने क्रममा भागेर कम्बोडियामै रहेका एक नेपालीको सहयोगमा पीडित नेपाल फर्किन सफल भएका थिए। पीडितको जाहेरीका आधारमा चैत २४ गते काठमाडौँबाट पक्राउ परेका केसीलाई अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप