बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

जन्मदिनको अवसर पारेर अल्लु अर्जुनको ‘राका’ को फर्स्टलुक सार्वजनिक

बिहीबार, २६ चैत २०८२, ०७ : ०८
बिहीबार, २६ चैत २०८२

सारांश

  • सुपरस्टार अल्लु अर्जुनले आफ्नो जन्मदिनको अवसरमा नयाँ चलचित्र 'राका' को फर्स्टलुक पोस्टर सार्वजनिक गरेका छन्।
  • एट्लीको निर्देशनमा बन्न लागेको यो चलचित्र ८०० करोडको बजेटमा निर्माण हुने भारतीय चलचित्र इतिहासकै महँगो चलचित्रमध्ये एक हो।
  • अल्लु अर्जुनले यस चलचित्रमा चारवटा फरक चरित्र निभाउनेछन् र चलचित्र नौवटा भाषामा प्रदर्शन हुनेछ।

हैदराबाद । दक्षिण भारतीय सुपरस्टार अल्लु अर्जुनले आफ्नो ४४औँ जन्मदिनको अवसर पारेर नयाँ चलचित्र ‘राका’ को डरलाग्दो फर्स्टलुक पोस्टर सार्वजनिक गरेका छन्। ‘जवान’ का निर्देशक एट्लीको निर्देशनमा बन्न लागेको यस चलचित्रलाई लिएर दर्शकमाझ ठूलो उत्साह छाएको छ।

यसअघि ‘AA22xA6’ कोड नाम दिइएको यो चलचित्रमा बलिउड अभिनेत्री दीपिका पादुकोण पनि महत्त्वपूर्ण भूमिकामा देखिने निश्चित भएको छ। सार्वजनिक पोस्टरमा अल्लु अर्जुनको लुक्सले सबैलाई स्तब्ध बनाएको छ।

प्रोस्थेटिक मेकअपको प्रयोग गरी उनलाई निकै पाको र खतरनाक रूपमा प्रस्तुत गरिएको छ। पोस्टरको क्याप्सनमा ‘सीमाभन्दा परको सोचका लागि तयार रहनुहोस्’ भनिएको छ ।

‘राका’ भारतीय चलचित्र इतिहासकै महँगो चलचित्रमध्ये एक हुने देखिएको छ। करिब ८०० करोडको कुल बजेटमा निर्माण हुन लागेको यो चलचित्रको उत्पादनमा २०० करोड र भिजुअल इफेक्ट्स (भीएफएक्स) मा मात्रै २५० करोड खर्च गरिँदैछ।

रिपोर्टका अनुसार यो एक ठूलो बजेटको साइन्स–फिक्सन एक्सन ड्रामा हो। चर्चा चले अनुसार अल्लु अर्जुनले यसमा हजुरबुबा, बुबा र दुई छोरा गरी कुल चारवटा फरक–फरक चरित्र निभाउँदैछन्। चलचित्रको कथा 'प्यारेलल युनिभर्स' (दुई अलग संसार) को वरिपरि घुम्ने अनुमान गरिएको छ।

पारिश्रमिकको मामिलामा पनि अल्लु अर्जुनले नयाँ रेकर्ड कायम गरेका छन्। उनले यो चलचित्रका लागि १७५ करोड रुपैयाँ बुझ्नुका साथै चलचित्रको नाफामा १५ प्रतिशत हिस्सेदारी पनि लिने भएका छन्। निर्देशक एट्लीले पनि यस प्रोजेक्टका लागि १०० करोड शुल्क लिएको बताइएको छ। हिन्दी र अङ्ग्रेजीसहित कुल ९ वटा विभिन्न भाषामा रिलिज हुने तयारीमा रहेको यो चलचित्र रहेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप