शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
अपडेट

दुई दिन सार्वजनिक बिदा दिने निर्णयले शैक्षिक क्यालेन्डर प्रभावित हुने चेतावनी

बिहीबार, २६ चैत २०८२, १६ : २२
बिहीबार, २६ चैत २०८२

सारांश

  • सरकारको दुई दिने सार्वजनिक बिदाको निर्णयले शैक्षिक क्यालेन्डरमा दीर्घकालीन असर पर्ने भन्दै नेसनल प्याब्सनले चिन्ता व्यक्त गरेको छ।
  • हप्ताको दुई दिन बिदा र शैक्षिक सत्र सर्दा पाठ्यक्रम पूरा गर्न चुनौती हुने तथा शिक्षण प्रक्रिया प्रभावित हुने बताइएको छ।
  • नेसनल प्याब्सनले सरकारी निर्णय कार्यान्वयन गर्दै पठनपाठन र अतिरिक्त क्रियाकलापलाई व्यवस्थित गर्न सदस्य विद्यालयहरूलाई निर्देशन दिएको छ।

काठमाडौँ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) ले सरकारको दुई दिने सार्वजनिक बिदा सम्बन्धी निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। नेसनल प्याब्सनका अध्यक्ष गीता राणा क्षेत्री र महासचिव प्रतापबहादुर थापाले एक विज्ञप्ति जारी गर्दै सो विषयमा ध्यानाकर्षण जनाएको हो ।

मन्त्रिपरिषद् बैठकले चैत २२ गते पेट्रोलियम पदार्थको खपत घटाउने र वैदेशिक मुद्रा सञ्चिति जोगाउने उद्देश्यले हप्तामा शनिवार र आइतबार सार्वजनिक बिदा दिने तथा शैक्षिक सत्र वैशाख १५ गतेबाट सुरु गर्ने निर्णय गरेको थियो। उक्त निर्णयले विद्यालय तहको शैक्षिक क्यालेन्डरमा दीर्घकालीन असर पार्ने नेसनल प्याब्सनले जनाएको छ।

नेसनल प्याब्सनका अनुसार हप्तामा दुई दिन बिदा कायम हुँदा वार्षिक रूपमा करिब ४० दिन थप बिदा हुने अवस्था सिर्जना हुने र सरकारले निर्धारण गरेको पाठ्यक्रम तोकिएको समयमा सम्पन्न गर्न गम्भीर चुनौती उत्पन्न गर्नेछ। यसका कारण पठन–पाठन प्रभावित भई समग्र शिक्षण–सिकाइ प्रक्रियामा प्रत्यक्ष असर पर्ने चिन्ता पनि व्यक्त गरिएको छ।

त्यसैगरी, शैक्षिक सत्र सुरु हुने मिति वैशाख १ बाट १५ गतेमा सार्ने निर्णयले पनि शैक्षिक क्यालेन्डरमा थप दबाब सिर्जना गर्ने नेसनल प्याब्सनको भनाइ छ। दैनिक ज्यालादारीमा आश्रित अभिभावकहरूका लागि दुई दिने बिदा व्यवस्थापन गर्न कठिन हुने भन्दै यसले सामाजिक तथा आर्थिक असर पनि पार्ने उल्लेख गरिएको छ।

यद्यपि, सरकारी निर्णय कार्यान्वयन गर्ने क्रममा नेसनल प्याब्सनले आफ्ना सदस्य विद्यालयहरूलाई आवश्यक व्यवस्थापन गर्न निर्देशन समेत दिएको छ। नयाँ भर्ना वैशाख २ गतेदेखि सुरु गर्ने र पठनपाठन वैशाख १५ गतेदेखि सञ्चालन गर्ने व्यवस्था गरिएको छ।

साथै, शैक्षिक सत्र २०८३ का लागि विभिन्न बिदाहरू मिलान गर्दै कम्तीमा २२० दिन पठनपाठन कायम गर्न, विद्यार्थीहरूमा अतिरिक्त बोझ नपर्ने गरी विद्यालय समय व्यवस्थापन गर्न र सूचना प्रविधिको प्रयोग बढाउन पनि आग्रह गरिएको छ।

यसका अतिरिक्त तालिम, गोष्ठी, प्रतियोगिता, अभिभावक दिवस तथा अभिभावक–शिक्षक बैठकजस्ता कार्यक्रमहरू शनिवार वा आइतबार सञ्चालन गर्न सुझाव दिइएको छ।

शुल्क व्यवस्थापन पनि शिक्षा ऐन २०७२ अनुसार मासिक, वार्षिक तथा सेवा अनुसार निर्धारण गर्नुपर्ने स्पष्ट पारिएको छ। नेसनल प्याब्सनले आफ्ना मातहतका सम्पूर्ण विद्यालयहरूलाई सरकारी तथा अदालतका निर्णयअनुसार शैक्षिक गतिविधि व्यवस्थित ढङ्गले सञ्चालन गर्न अनुरोध गरेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप