बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

बिटुमिन अभावले निर्माणाधीन नागढुङ्गा–मुग्लिङ सडकको काम रोकियो

शुक्रबार, २७ चैत २०८२, १० : २७
शुक्रबार, २७ चैत २०८२

सारांश

  • अन्तर्राष्ट्रिय बजारमा बिटुमिनको अभाव हुँदा निर्माणाधीन नागढुङ्गा–मुग्लिङ सडकको काम रोकिएको छ।
  • मध्यपूर्वको तनावका कारण आपूर्ति प्रभावित भएपछि १२.२ किलोमिटरमध्ये बाँकी ६ किलोमिटर सडकको कालोपत्रेको काम प्रभावित भएको हो।
  • डिजेलको अभाव र बिटुमिनको कमीले गर्दा आयोजनाको प्रगति ८८ प्रतिशतमा पुगेर अवरुद्ध भएको छ।

काठमाडौँ । सडक कालोपत्रे गर्न प्रयोग हुने बिटुमिनको अभावले निर्माणाधीन नागढुङ्गा–मुग्लिङ सडकको काम रोकिएको छ । 

निर्माणको मुख्य सिजनमा मध्य पूर्वमा देखिएको तनावले अन्तर्राष्ट्रिय बजारमा बिटुमिन अभाव भएर काम रोक्नु परेको निर्माण कम्पनी ज्याङ्सु सगुन जे।भीका प्रतिनिधि ज्ञानेन्द्र घिमिरेले जानकारी दिए । 

बिटुमिन सप्लाई गर्ने सप्लायरहरुले वर्तमान अवस्थामा अन्तर्राष्ट्रिय बजारमा बिटुमिनको चरम अभाव भएको भन्दै अर्डर क्यान्सिल गरिहरको घिमिरे बताउँछन् । निर्माणको अन्तिम चरणमा रहेको  नागढुंगा नौबिसे खण्डको ६ किलोमिटर फाइनल कालोपत्रे सम्पन्न भइसकेको छ । बाँकी ६ किलोमिटर सडक तेस्रो तहको फाइनल पिच गर्दा गर्दै रोकिएको घिमिरे बताउँछन् । 

कुल १२ दशमलव २ किलोमिटर रहेको नागढुङ्गा–नौबिसे सडकमा ६ किलोमिटर सडक फाइनल कालोपत्र गर्न करिब ५ सय ३० टन बिटुमिन आवश्यक रहेको घिमिरेले बताए । तत्काल आवश्यक बिटुमिन उपलब्ध भए १० दिन भित्र नागढुङ्गा–नौबिसे सडक खण्डको फाइनल कालोपत्र सम्पन्न हुने घिमिरेले जानकारी दिए । 

निर्माण व्यवसायीहरूले बिटुमिन अभावले आयोजनाको कालोपत्रको काम अघि बढाउन नसक्ने जानकारी सरकारी पक्षलाई गराइसकेको नागढुङ्गा–मुग्लिङ सडक योजना पूर्वी खण्डका योजना प्रमुख केशव ओझा बताउँछन् । नेपाल आयाल निगमले पेट्रोलियम पदार्थमा लगाएको कोटा प्रणालीका कारण आयोजनामा प्रयोग हुने यन्त्र उपकरण सञ्चालन गर्न पर्याप्त डिजेल पेट्रोल पम्पहरुबाट उपलब्ध हुन नसकेको ओझाले बताए । 

नागढुङ्गा–नौबिसे सडकखण्डको हालसम्मको भौतिक प्रगती ८८, र वित्तिया प्रगती ८२ प्रतिशत रहेको छ । बजारमा देखिएको पेट्रोलियम पदार्थको अभाव प्रत्यक्ष रुपमा आयोजना देखिएको छ । त्रिभुवन राजपथ क्षेत्रमा पर्ने यो सडक विश्व बैंकको ऋण सहयोगमा निर्माण भइरहेको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप