सहकारीका शाखा बन्द गर्ने निर्देशन ‘न निल्नु न ओकल्नु’
सारांश
- सहकारी विभागले एकभन्दा बढी शाखा सञ्चालनमा रहेका सहकारीका शाखा बन्द गर्न जारी गरेको ६ बुँदे निर्देशन कार्यान्वयन हुन सकेको छैन।
- सहकारी अभियन्ताहरूले सहकारीको मर्म नबुझी ल्याइएको उक्त निर्देशन कार्यान्वयन गर्न नसकिने दाबी गरेका छन्।
- विभागका अधिकारीहरूले सरकारी निर्णय भए पनि विभिन्न प्रतिवेदन र फरक धारणाका कारण कार्यान्वयनमा अन्योल देखिएको स्वीकार गरेका छन्।
विराटनगर । सहकारी क्षेत्रको सङ्कट समाधानका लागि भन्दै सहकारी विभागले गत पुस २४ गते जारी गरेको ‘६ बुँदे निर्देशन’ अहिले आएर विभागकै लागि निल्नु न ओकल्नु भएको छ । पूर्वसचिव रामेश्वर खनाल नेतृत्वको उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले दिएको प्रतिवेदनलाई आधार मान्दै विभागले ‘एकभन्दा बढी शाखा सञ्चालनमा रहेका सहकारीका शाखा बन्द गर्न’ निर्देशन दिएको थियो, तर यो निर्देशन अझै कार्यान्वयन भएको छैन ।
‘एकभन्दा बढी शाखा रहेका सहकारीलाई हिसाब राफसाफ गरी शाखा बन्द गर्न लगाउने,’ पत्रको पहिलो बुँदामै उल्लेख थियो । त्यही पत्रको आधारमा कोशी प्रदेश सरकारको उद्योग, कृषि तथा सहकारी मन्त्रालयले पनि मातहतका कार्यालयलाई तत्कालै पत्राचार गर्यो । पालिका तहसम्म उक्त पत्राचार पुग्यो पनि, तर कार्यान्वयन अहिलेसम्म नभएको मन्त्रालयकै कर्मचारी बताउँछन् । ‘हामीले तत्कालै सबै सम्बन्धित निकायहरूमा पत्राचार गरिसकेका छौँ,’ मन्त्रालयका सचिव पशुपति ढुंगानाले भने ।
मन्त्रालयका सहकारी प्रबर्द्धन शाखाका अधिकृत तोयानाथ तिम्सिनाले आफूहरूको ताकेतालाई सहकारीहरूले अटेर गरेको बताए । ‘सहकारी बिग्रनुको एउटा कारण शाखा कार्यालयहरू खोल्न दिनु पनि हो,’ उनले भने, ‘सरकारले परिपत्र पनि गरेको छ, तर संघ अन्तर्गतका ठुला सहकारीहरूले नै अटेरी गरेपछि अरुले पनि त्यही सिको गरिरहेका छन् ।’
सहकारी क्षेत्रका विज्ञ तथा अभियानकर्मी रामचन्द्र उप्रेतीले विभागको यो निर्देशनलाई अस्वीकार गरेका छन् । उनले यो निर्देशन सहकारीको मर्म नबुझी ल्याइएको र यसले थप अन्योलमात्र सिर्जना गरेको दाबी गरे ।
सहकारी विभागका उपरजिस्ट्रार तथा सूचना अधिकारी शशी कुमार लम्सालले भने विभागले पठाएको पत्र कार्यान्वयन नभएको कुरा घुमाउरो पाराले स्वीकार गरे । उनले सरकारी निर्णय भएकाले कार्यान्वयन गर्नुपर्ने बाध्यता भए पनि विभिन्न समितिका प्रतिवेदन र फरक–फरक धारणाका कारण निकास निस्कन बाँकी रहेको बताए ।
‘रामेश्वर खनाल सरको प्रतिवेदन आयो, क्याबिनेटले कार्यान्वयन गर्ने भनेर निर्णय गर्यो, मन्त्रालयले पनि प्रगति माग्यो र हामीले पनि चिठ्ठी काट्यौँ, तर अहिले बेथिति छानबिन समितिको प्रतिवेदन पनि आउने चरणमा छ । अहिले आंशिक कुरा गर्नुभन्दा पनि यसको एकमुष्ट एउटा निकास आउला । सरकार कसरी जान्छ, त्यसरी नै अगाडि बढ्ला,’ लम्सालले भने ।
उनले सहकारी अभियानभित्र दुईवटा धार रहेको कारण केही कुरा कार्यान्वयनमा समस्या भएको स्वीकार गरे । ‘एउटा धारले मर्जर गरेर संस्था बलियो बनाउने र सेवा केन्द्र दिनुपर्छ भन्छन् भने अर्कोले प्रारम्भिक संस्थालाई वडा वा पालिकास्तरमा सीमित गर्नुपर्छ, शाखा दिनु हुँदैन भन्छन् । दुवैखाले बहस छन् । नेपाल सरकारले अन्यथा निर्णय नगरेसम्म पुरानै निर्देशन (शाखा बन्द गर्ने) कायम रहन्छ, तर कत्तिको ताकेता के हो भन्ने कुरा झन्डै एक महिनाभित्र थाहा हुन्छ,’ उनले भने ।
उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई २०८१ सालको चैत २९ गते बुझाएको प्रतिवेदनमा तत्कालका लागि तीनै तहका सरकारले नयाँ सहकारी संस्था र सञ्चालनमा रहेका सहकारीहरूको शाखा खोल्न बन्द गर्न सुझाव दिएको थियो ।
यता, सहकारी क्षेत्रका विज्ञ तथा अभियानकर्मी रामचन्द्र उप्रेतीले विभागको यो निर्देशनलाई अस्वीकार गरेका छन् । उनले यो निर्देशन सहकारीको मर्म नबुझी ल्याइएको र यसले थप अन्योलमात्र सिर्जना गरेको दाबी गरे । ‘यो सहकारीलाई ठिक ढंगले नबुझेका, सहकारीप्रति एउटा (पूर्वाग्रही) धारणा भएकाहरूले ल्याएको निर्देशन हो । यो कार्यान्वयन हुन सक्ने विषय नै होइन । कार्यान्वयन हुन नसक्ने भएरै विभागले एकचोटि सूचना जारी गरेर पछि वेबसाइटबाट पनि हटाएको थियो,’ उनले भने ।
उप्रेतीले कानुनी प्रक्रिया पुर्याएर खोलिएका सेवा केन्द्रहरूलाई एकै पटक बन्द गर्न भन्नु गलत भएको बताए । ‘कानुनले दिएको अधिकार प्रयोग गरेर सेवा केन्द्रहरू आएका छन्, यिनलाई मर्ज गर्ने वा खुम्च्याउने एउटा विधि र प्रक्रिया हुन्छ । सरोकारवालासँग छलफल नगरी यस्तो निर्णय कार्यान्वयन हुन सक्दैन । यो त सहकारी ऐन २०७४ मा बहुउद्देश्यीय सहकारीले ७०/३० को अनुपात (७० प्रतिशत मुख्य कारोबार र ३० प्रतिशत बचत ऋण) पालना गर्नुपर्ने भनेजस्तै हो, जुन अहिलेसम्म लागु हुन सकेको छैन,’ उनले भने ।
यो निर्देशनको एउटैमात्र असर नयाँ शाखा नखुल्नेमात्र हुने भएको उप्रेतीले बताए । ‘अब नयाँ सेवा केन्द्रहरू खुल्दैनन्, विभागले अनुमति दिँदैन, तर पुराना बन्द गराउने कुरा राज्यले यसको इम्प्याक्ट नबुझी गरेको निर्णय हो, जुन कार्यान्वयन हुँदैन,’ उनले भने ।
सहकारी विभागका शाखा अधिकृत सरोज भुसालद्वारा हस्ताक्षरित उक्त पत्रमा मुख्य गरी ६ वटा बुँदा कार्यान्वयन गर्न भनिएको थियो । जसको पहिलो नम्बरमै एकभन्दा बढी शाखा खोलेर सञ्चालनमा रहेका सहकारीलाई हिसाब राफसाफ गरी शाखा बन्द गर्ने–गराउने, सहकारी संस्थाले कुनै कम्पनी वा संगठित संस्थालाई सदस्य बनाउन नपाउने, एकै व्यक्तिलाई एउटा वा एकभन्दा बढी तमसुकबाट दिइने कुल ऋण लगानी संस्थाको कुल सेयर पुँजीको १० प्रतिशतभन्दा बढी हुन नदिने, बचत तथा ऋण सहकारी संस्थाले आफ्नो प्रयोगका लागि बाहेक बिक्री गर्ने प्रयोजनका लागि जग्गा खरिद गर्न नपाउने, घर–आवास नभएका सदस्यलाई आवास निर्माण गर्ने प्रयोजनका लागि निश्चित क्षेत्रफल (१००० वर्ग मिटर) सम्ममात्र जग्गा खरिद गर्न ऋण दिने, बचत तथा ऋण सहकारी संस्थाहरूले एकै उद्देश्य वा क्षेत्रमा कुल ऋण लगानीको २५ प्रतिशतभन्दा बढी गर्न नपाउने र कर्जा निक्षेप अनुपात अधिकतम ९० प्रतिशतसम्म मात्र हुने गरी लगानी गर्नुपर्ने उल्लेख थियो ।
उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई २०८१ सालको चैत २९ गते बुझाएको प्रतिवेदनमा तत्कालका लागि तीनै तहका सरकारले नयाँ सहकारी संस्था र सञ्चालनमा रहेका सहकारीहरूको शाखा खोल्न बन्द गर्न सुझाव दिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण