बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

उत्तर कोरियाली कभर्ट योजनामा सामेल दुई अमेरिकीलाई जेल सजाय

बिहीबार, ०३ वैशाख २०८३, १६ : १८
बिहीबार, ०३ वैशाख २०८३

प्योङयाङ । उत्तर कोरियाली शासनलाई सहयोग पुग्ने गरी ठुला अमेरिकी कम्पनीहरूलाई ठगी गरेको अभियोगमा दुई अमेरिकी नागरिकलाई जेल सजाय सुनाइएको छ ।

अमेरिकी न्याय मन्त्रालयले बताएको भन्दै सीएनएनले समाचार छापेको छ । न्युजर्सीका ३९ वर्षीय झेनसिङ 'ड्यानी' वाङ र ४२ वर्षीय केजीया 'टोनी'वाङ बोस्टनको एक संघीय अदालतले क्रमशः सात वर्षभन्दा बढी र नौ वर्ष जेल सजाय सुनाएको हो । 

अभियोजनका अनुसार यी दुवै जना जटिल षड्यन्त्रका ‘मध्यस्थ’ थिए, जसमा विदेशी प्राविधिक कामदारहरूलाई अमेरिकी नागरिकको पहिचान प्रयोग गराएर फर्च्युन (अमेरिकाका सबैभन्दा ठुला ५०० कम्पनीहरू) मा जागिर दिलाइन्थ्यो । यो योजनाको मुख्य हिस्सा 'ल्यापटप फार्म' अर्थात् अमेरिकी कम्पनीहरूले उपलब्ध गराएका कम्प्युटरहरूको समूह थियो, यसलाई उनीहरूले आफ्नै घरबाट सञ्चालन गर्थे ।

ती कम्प्युटरमार्फत विदेशी कामदारहरूले अमेरिकी कम्पनीहरूमा पहुँच पाउँदै तलब लिने मात्र होइन, एक अवस्थामा क्यालिफोनिर्यास्थित एक रक्षा ठेकेदारबाट संवेदनशील डाटासमेत चोरेका थिए । 

अभियोजनका अनुसार यस योजनाबाट करिब ५० लाख डलर उत्तर कोरियाली शासनसम्म पुगेको थियो । अन्य प्रभावित कम्पनीहरूमा म्यासाचुसेट्सको एक सेमिकन्डक्टर वितरक र क्यालिफोर्नियाको सफ्टवेयर विकास कम्पनी पनि रहेका छन् । उत्तर कोरियाले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्न र आफ्नो परमाणु कार्यक्रमका लागि रकम जुटाउन यस्ता साइबर तथा प्रविधिसम्बन्धी योजनाहरू बढाउँदै लगेको अमेरिकी अधिकारीहरूले बताएका छन् ।  

यसअघि २०२४ मा पनि एरिजोनामा एक महिलामाथि यस्तै योजनामा संलग्न रहेको आरोप लागेको थियो, ती महिलाले ६० अमेरिकीको पहिचान दुरुपयोग गरी ३०० कम्पनीहरूलाई प्रभावित पारेको आरोप लागेको थियो ।

अमेरिकी सरकारले यस्ता गतिविधिहरू रोक्न कडा कदम चाल्दै आएको छ ।

यसैबिच अमेरिकी विदेशले यस प्रकरणमा संलग्न अन्य व्यक्तिहरूको जानकारी दिनेलाई ५० लाख डलरसम्म पुरस्कार दिने घोषणा गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप