बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
सुदूरपश्चिम प्रदेश

तिंकर सडकमा अडिएको व्यासको भविष्य

कहिलेसम्म ‘पास’ बोकेर आफ्नै आँगन टेक्ने ?
शुक्रबार, ०४ वैशाख २०८३, ०७ : ३०
शुक्रबार, ०४ वैशाख २०८३

सारांश

  • सडक सञ्जालको अभावमा व्यास गाउँपालिकाका दुर्गम बस्तीहरू भारतको नियन्त्रणमा पर्ने जोखिम बढेको छ।
  • महाकाली कोरिडोरअन्तर्गतको तिंकर सडक निर्माणमा बजेटको अभाव हुँदा कामले गति लिन सकेको छैन।
  • आफ्नै देशको भूगोलमा पुग्न भारतीय मार्ग प्रयोग गर्नुपर्ने बाध्यताले स्थानीयवासीहरू लज्जित र त्रसित छन्।

धनगढी । बाटो नहुँदा भूगोल कसरी बिस्तारै पराइ बन्दै जान्छ भन्ने उदाहरण खोज्न कतै टाढा जानु पर्दैन । २०१८ सालसम्म व्यास गाउँपालिका-१ का कुटी, नापी र गुञ्जी गाउँका बासिन्दाहरूले नेपाल सरकारलाई तिरो तिर्थे । उनीहरूका हातमा नेपालकै लालपुर्जा थियो । तर राज्यको उपस्थिति र सडक सञ्जाल नपुग्दा ती गाउँ बिस्तारै भारतको नियन्त्रणमा पुगे ।

आज ती गाउँका मानिसहरू भारतीय नागरिक भइसकेका छन् । उनीहरूसँग भारतीय नागरिकता छ । भारत सरकारको सरकारी जागिर खान्छन् र हिन्दी बोल्छन् । नेपालले चुच्चे नक्सामा ती गाउँ समेटे पनि त्यहाँका मानिसहरूका लागि देशको राजधानी धेरै टाढा भइसक्यो । व्यास–१ कै अन्य दुई बस्ती छाङरु र तिंकरका स्थानीयहरू अहिले डराइरहेका छन् ।

‘कुटी, नापी र गुञ्जीका मानिसहरूसँग हाम्रो भाषा, संस्कृति र रगतको नाता एउटै हो । तर बाटो नहुँदा उनीहरू छिमेकीका भए । यदि तिंकर सडक बनेन भने बाँकी रहेका छाङरु र तिंकरको भविष्य पनि उनीहरूकै बाटोमा नजाला भन्न सकिन्न,’ स्थानीय वीर बुढाथोकीले भने ।

व्यास गाउँपालिकाका ६ वटा वडाहरूमध्ये वडा नम्बर १ (छाङरु र तिंकर) सबैभन्दा विकट छ । २०७८ सालको जनगणना अनुसार यहाँ करिब १० हजार जनसंख्या छ । हिउँदमा हिउँले ढाक्ने भएपछि उनीहरू ६ महिनाका लागि सदरमुकाम खलङ्गा झर्छन् र वैशाख लागेपछि फेरि उकालो लाग्छन् । यसलाई स्थानीय भाषामा कुन्चा सर्ने भनिन्छ । हिउँदमा गाउँमा सशस्त्र प्रहरीको बीओपी बोर्डर आउट पोस्ट मात्रै तैनाथ हुन्छ । बाँकी गाउँ सुनसान बन्छ ।

वडा नम्बर २ मा दुम्लिङ, कल्जु, माल र रात्ला जस्ता गाउँ छन् । वडा नम्बर ३ मा सिनाह, पुसरपानी र सल्यानी पर्छन् भने ४ नम्बर वडा अलि ठुलो छ । जहाँ सुन्सेरा, दोकटो र मडगाउँ छन् । ५ नम्बर वडामा धौलाकोट, स्याकु, माजी र तिग्रम छन् भने ६ नम्बरमा हुती, पछ्यारौ, खती गाउँ, तमतोली र पनीखाल पर्छन् । ६, ५, ४ र ३ नम्बर वडामा विद्युतीकरण भइसकेको छ, तर १ नम्बर वडाको हालत भने दयनीय छ । तिंकरमा लघुजलविद्युत भए पनि छाङरुको आयोजना बाढीले बगाएपछि त्यहाँका स्थानीय सोलारको भरमा रात काट्न बाध्य छन् ।

आफ्नै देशको वडा नम्बर १ पुग्न नेपाली नागरिकले भारतीय भूमि प्रयोग गर्नुपर्छ । भारतको पास बिना यहाँ नेपालीहरूले जान पाउँदैनन् । नेपाल सरकारले त्यहाँ जान भन्दै ५ करोड ५० लाख बजेट खर्चेर घोरेटो बाटो त बनायो, तर त्यो यति जोखिमपूर्ण छ कि मानिसहरू त्यहाँबाट हिँड्न डराउँछन् । व्यवसायी र भेडाबाख्रा चराउनेहरू मात्रै त्यो जोखिम मोल्छन् । सर्वसाधारणले भने भारतको बाटो प्रयोग गर्न पुर्जा अनुमति पत्र लिनुपर्छ । आफ्नै देशको गाउँ जान अर्को देशको अनुमति लिनुपर्ने यो भन्दा ठुलो राष्ट्रिय लज्जा अरू के हुन सक्छ ?

स्थानीय बासु कुँवर, बसन्ती धामी, जनक धामी र कृष्ण बुढाथोकीका अनुसार भारतले आफ्नोतिर नाकासम्मै सुविधासम्पन्न सडक र पूर्वाधार पुर्‍याएको छ । तर नेपालतिरको जंगल र जमिन अझै पनि स्थानीयले उपयोग गरे पनि सडक नहुँदा सबै कुरा ठप्प छ ।

व्यासको कायापलट गर्ने सपना बोकेको महाकाली कोरिडोर (ब्रह्मदेव–झुलाघाट–दार्चुला–तिंकर सडक योजना २०६५-६६ सालदेखि सुरु भएको हो । योजना कार्यालयका सूचना अधिकारी इन्जिनियर दिनेश रैखोलाका अनुसार कुल ४१३ किलोमिटर लामो यो सडकले सुदूरपश्चिमका चार जिल्ला कञ्चनपुर, डडेल्धुरा, बैतडी र दार्चुला जोड्दै चीनको तिंकर नाकासम्म पुग्ने लक्ष्य राखेको छ ।

हालसम्मको प्रगति हेर्दा ३३४ किलोमिटर खण्ड सडक विभागको जिम्मामा छ भने बाँकी ७९ किलोमिटर तुसारपानीदेखि तिंकरसम्मको अति कठिन चट्टानी खण्ड नेपाली सेनालाई हस्तान्तरण गरिएको छ । कुल १८ अर्ब १६ करोडको अनुमानित लागत रहेको यस आयोजनामा हालसम्म ८ अर्ब ५९ करोड खर्च भइसकेको छ । सडक विभाग अन्तर्गतको ३३४ किलोमिटरमध्ये २८७ किलोमिटरमा ट्रयाक खुलिसकेको छ । तर दार्चुला खण्डमा अझै १७.८ किलोमिटर ट्रयाक खोल्न बाँकी छ ।

मुख्य समस्या बजेटको छ । सेनाले कडा चट्टान फोड्न मेसिनहरू हेलिकप्टरबाट छाङरु झारेर काम सुरु गरेको थियो । सेनाले वार्षिक २५ देखि ३० करोड बजेट माग गरिरहेको छ, तर सरकारले मुस्किलले ८–९ करोड मात्रै छुट्याउँछ । यही गतिमा काम हुने हो भने यो सडक कहिले सम्पन्न हुन्छ, कसैलाई थाहा छैन । ३५ वटा पक्की पुल बनाउनुपर्नेमा हालसम्म एउटा मात्र पुल निर्माणाधीन अवस्थामा छ ।

binodsing kunwar

व्यास गाउँपालिकाका उपाध्यक्ष विनोद सिंह कुँवर आफैँ तुइन चढ्दै हुर्किएका हुन् । ‘जबसम्म तिंकर सडक बन्दैन, तबसम्म तुइन विस्थापित गर्न निकै कठिन छ,’ उनी भन्छन् ।

कुँवरका अनुसार बनाइएका झोलुङ्गे पुलहरू पनि भौगोलिक विकटताका कारण सबैका लागि सहज छैनन् । अहिले पनि व्यास–२ को दुम्लिङमा ७० मिटर लामो तुइन सञ्चालनमा छ । जसको एक छेउ नेपाल र अर्को छेउ भारतको उत्तराखण्डमा पर्छ । दार्चुलाभरिकै यो एक मात्र तुइन हटाउने भन्दै प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले चन्दा उठाएर यो समस्या हटाउने भने दुई देशको कुरा हुँदा त्यहाँ पुल बनाउन सकेनन् । उनको अगुवाइमा अहिले दुम्लिङका दुईवटा गाउँ जोड्न घट्टे खोलामा पुल बन्दैछ ।   

व्यास पर्यटकीय हिसाबले आकर्षक छ । यहाँबाट एकै दिनमा अपि हिमालको फेदमा पुग्न सकिन्छ । कैलाश मानसरोवर दर्शनका लागि यो सबैभन्दा छोटो र सुरक्षित मार्ग हुनसक्छ । जडिबुटी र प्राकृतिक स्रोतको यहाँ खानी नै छ । तर आफ्नै भूमिमा अस्पताल छैन । स्वास्थ्य चौकी भएपनि जटिल बिरामी पर्दा कि त हेलिकप्टर कुर्नुपर्छ, कि त भारतीय सडकको भर पर्नुपर्छ ।

गाउँपालिकाका उपाध्यक्ष कुँवरका अनुसार व्यासका जनप्रतिनिधिहरूले पटक–पटक सिंहदरबारको ढोका ढकढक्याए, बिन्ती बिसाए । आफ्नै पालिकाको बजेटले भित्री सडकहरू खनिएका छन् । पालिकाका ६ वडामध्ये २ र १ बाहेक अन्य वडामा बाटो खनिएको छ । तर ती सडकले सबै गाउँ बस्तीबाट सदरमुकाम जोड्दैनन् ।

‘हामी निर्वाचित भएदेखि पटक-पटक सिंहदरबार धायौँ, सडक बनाउनका लागि बजेट अभाव छ । बाहिर एउटा कुरा हुन्छ, भित्री वास्तविकता हाम्रो यस्तो छ, व्यासको भविष्य भनेको तिंकर सडक हो, यहाँका मान्छेले कति दुःख पाउने ?’ उपाध्यक्ष कुँवर भन्छन् ।

व्यासको उज्यालो भविष्य र बाँकी रहेका नेपाली बस्तीहरू जोगाउन तिंकर सडक आयोजनाले काम गर्ने हुँदा अब सरकारले उक्त सडक बनाउन प्राथमिकता दिनुपर्ने उनी बताउँछन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सविता बुढा
सविता बुढा
लेखकबाट थप