बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

मधेश सरकारको ‘गौरवको योजना’ अलपत्र: धनुषाका ७ सडक चार वर्षदेखि अधुरै

शुक्रबार, ०४ वैशाख २०८३, ०८ : १४
शुक्रबार, ०४ वैशाख २०८३

सारांश

  • मधेश प्रदेश सरकारको गौरवको आयोजनाका रूपमा सुरु गरिएका धनुषाका सातवटा सडक चार वर्षदेखि अलपत्र अवस्थामा छन्।
  • बजेट अभाव र समयमै भुक्तानी नहुँदा ठेक्का प्रक्रिया र निर्माण कार्य प्रभावित भएर अलपत्र परेको हो।
  • पुराना योजना अधुरै रहे पनि नयाँ योजना अघि सारिएको भन्दै स्थानीयले सरकारको आलोचना गरेका छन्।

धनुषा । मधेश प्रदेश सरकारको महत्त्वाकांक्षी ‘एक निर्वाचन क्षेत्र ५ किलोमिटर सडक’ योजना अन्तर्गत धनुषामा सुरु गरिएका अधिकांश सडक चार वर्ष बितिसक्दा पनि अधुरै रहेका छन्। 

योजना कार्यान्वयनमा ढिलाइ र बजेट अभावका कारण निर्माण कार्य ठप्प हुँदा स्थानीय बासिन्दाले निकै सास्ती भोग्नुपरेको छ।

तत्कालीन मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको सरकारले आर्थिक वर्ष २०७८/०७९ मा यसलाई ‘गौरवको आयोजना’ भन्दै तामझामका साथ सुरु गरेको थियो। तर, चार वर्ष बित्न लाग्दा पनि धनुषाका ८ निर्वाचन क्षेत्रमध्ये ७ वटा सडक अझै अलपत्र अवस्थामा छन्। अहिलेसम्म जमुनियाँ–बनिनियाँ–हारसर सडक मात्र सम्पन्न भएको पूर्वाधार विकास कार्यालय धनुषाले जनाएको छ।

पूर्वाधार विकास कार्यालयका अनुसार समयमै बजेट निकासा नहुँदा ठेक्का प्रक्रिया र निर्माण कार्य प्रभावित भएको हो। यस योजनाका लागि हालसम्म कुल ५ करोड ५५ लाख २६ हजार ३४१ रुपैयाँ विनियोजन गरिएकोमा ८९ लाख ७१ हजार ८२९ रुपैयाँ मात्र भुक्तानी भएको छ। निर्माण व्यवसायीलाई अझै ४ करोड ६५ लाख ५४ हजार ५१२ रुपैयाँ भुक्तानी गर्न बाँकी रहेकाले काम अघि बढ्न नसकेको कार्यालयको भनाइ छ।

एकातिर पुराना योजनाहरू अलपत्र छन् भने अर्कोतिर वर्तमान भौतिक पूर्वाधार विकास मन्त्री सरोज यादवले पुनः सोही प्रकृतिको नयाँ योजना अघि सारेका छन्। नयाँ योजनामा काम भइरहेको दाबी गरिए पनि पुराना अधुरा सडक सम्पन्न गर्न सरकारले ठोस पहल नगरेको भन्दै आलोचना भइरहेको छ।

सडक निर्माणमा भएको ढिलाइले सर्वसाधारणको दैनिकी कष्टकर बनेको छ। देउरीका स्थानीय सुखी मण्डलले आक्रोश पोख्दै भने, 'वर्षौंदेखि सडक नबन्दा आवतजावतमा गम्भीर समस्या छ। वर्षामा हिलोले हिँड्न सकिँदैन, अरू बेला धुलोले सास फेर्न गाह्रो हुन्छ। हामीले दिनहुँ सास्ती भोग्नुपरेको छ।'
त्यस्तै, बननियाका राघव यादवले सरकारको कार्यशैलीप्रति प्रश्न उठाए । उनले भने, 'चार वर्ष भइसक्यो, सडक कहिले बन्ने हो टुंगो छैन। अबको सरकारले नयाँ योजना मात्र बाँड्ने कि पुराना अलपत्र सडक पनि पूरा गर्ने ? हाम्रो जीवन निकै कष्टकर भयो, छिटो निर्माण सम्पन्न गरियोस्।'

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप