शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

वरिष्ठ साहित्यकार विनोदीलाई ‘गोरखा सर्जक सम्मान’

शुक्रबार, ०४ वैशाख २०८३, १९ : ०३
शुक्रबार, ०४ वैशाख २०८३

काठमाडौँ । वरिष्ठ साहित्यकार गोविन्दराज विनोदीलाई ‘गोरखा सर्जक सम्मान’ प्रदान गरिएको छ । गोरखा सर्जक समाजको आठौँ स्थापना दिवसको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा वरिष्ठ साहित्यकार विनोदीलाई रु १५ हजार ११५ नगद पुरस्कारसहित दोसल्ला र प्रमाणपत्रद्वारा सम्मान गरिएको हो।

सम्मानित विनोदीले प्राध्यापनसँगै कविता लेखन, खण्डकाव्य, महाकाव्य, बालसाहित्यको क्षेत्रमा कलम चलाउँदै आएका छन् । उनलाई त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति तथा जापानका लागि पूर्वराजदूत केदारभक्त माथेमाले सम्मान गरे।

पूर्वउपकुलपति माथेमाले गोरखाको भाषा, साहित्य, धर्म, संस्कृतिको प्रवर्द्धनमा गोरखा सर्जक समाजले खेलेको भूमिका सराहनीय रहेको बताउनुभयो । नेपाली साहित्यलाई अगाडि बढाउन गोरखाका सर्जकले खेलेको भूमिका अतुलनीय रहेको उनको भनाइ छ।

कार्यक्रममा समाजका संस्थापक अध्यक्ष स्व तुलसीप्रसाद न्यौपानेलाई मरणोपरान्त सम्मान गरिएको छ । उनलाई ताम्रपत्रद्वारा सम्मान गरिएको हो । वि.सं. २०७५ मा स्थापना भएको गोरखा सर्जक समाजले वार्षिक रूपमा ‘गोरखा’ गौरव वार्षिक मुखपत्र प्रकाशन गर्दै आएको समाजका अध्यक्ष सीताराम अधिकारीले जानकारी दिए। गोरखा गौरवभित्र साहित्य, अनुसन्धान र विचारहरू समेटिएका छन्।

कार्यक्रममा समाजका अध्यक्ष अधिकारीद्वारा लिखित हाइकु सङ्ग्रह ‘झिल्का’ र समाजका महासचिव बुद्धिराज पाण्डेद्वारा लिखित ‘नियात्रा सङ्ग्रह’ विमोचन गरिएको थियो । वि.सं. २०८१ को स्रष्टा सम्मान साहित्यकार मुना अर्याल धिताल र दयाराम अर्याललाई प्रदान गरिएको थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप