बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

इजरायल–लेबनान ‘सरप्राइज सिजफायर’ले कच्चा तेलको मूल्यमा भारी गिरावट

शुक्रबार, ०४ वैशाख २०८३, २१ : १८
शुक्रबार, ०४ वैशाख २०८३

काठमाडौँ । पश्चिम एशिया तनाव कम हुने सकारात्मक संकेतसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भारी गिरावट आएको छ । 

इजरायल र लेबनानबीच अकस्मात भएको युद्धविराम सम्झौता र लगत्तै इरानले महत्त्वपूर्ण व्यापारिक मार्ग हर्मुज जलमार्ग खोल्ने घोषणा गरेपछि तेल बजारमा त्यसको  प्रभाव परेको हो ।

यो समाचार तयार पार्दासम्म विश्वबजारमा तेलको मूल्यमा दोहोरो अङ्कको प्रतिशतले गिरावट आएको छ।

बजारको पछिल्लो आँकडा अनुसार ब्रेन्ट क्रुडको मूल्यमा ११.७२ प्रतिशत अर्थात् ११.६५ डलरको उच्च गिरावट आएको छ। यससँगै ब्रेन्ट तेलको मूल्य प्रतिब्यारेल ८७.७५ अमेरिकी डलरमा झरेको छ। दिनको सुरुवातमा ९८ डलरभन्दा माथि रहेको यसको मूल्यमा अचानक पहिरो गएको हो ।

2

त्यसैगरी, अमेरिकी बजारको बेन्चमार्क मानिने वेस्ट टेक्सास इन्टरमिडिएट (डब्ल्युटीआई) कच्चा तेलको मूल्यमा पनि १२.८२ प्रतिशत अर्थात् १२.१४ डलरको भारी गिरावट देखिएको छ। डब्लुटीआईको मूल्य घटेर प्रतिब्यारेल ८२.५५ डलर कायम भएको छ।

1

लामो समयदेखि इजरायल र लेबनानको हिजबुल्लाहबीच चलिरहेको द्वन्द्वले मध्यपूर्वको तेल आपूर्ति शृङ्खलामा अवरोध ल्याउने डरले तेलको मूल्य अकासिएको थियो। तर, दुई पक्षबीच भएको अप्रत्याशित युद्धविराम सम्झौताले बजारलाई ठूलो राहत दिएको छ।

यो सम्झौतासँगै इरानले विश्वको करिब २० प्रतिशत कच्चा तेलको व्यापार हुने प्रमुख मार्ग हर्मुज जलमार्गलाई सुरक्षित रूपमा खुला राख्ने घोषणा गरेको छ । योसँगै लगानीकर्ताहरूमा आपूर्ति सहज हुने विश्वास बढेको हो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप