होर्मुज खुला भएसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा ९ प्रतिशतले गिरावट
सारांश
- इरान र अमेरिकाबिचको तनाव कम भई होर्मुज जलमार्ग खुला रहने भएपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा करिब ९ प्रतिशतको गिरावट आएको छ।
- राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले उक्त जलमार्ग बन्द नगर्ने सहमति जनाएको दाबी गरेपछि लगानीकर्ताहरूमा रहेको अनिश्चितता कम भएको छ।
- ब्रेन्ट क्रुड र डब्लुटीआई तेलको मूल्यमा अप्रिल ८ पछिकै सबैभन्दा ठूलो गिरावट दर्ता भएको छ।
काठमाडौँ । इरान र अमेरिकाबिचको तनाव कम भई स्ट्रेट अफ होर्मुज व्यापारिक जहाजका लागि खुला रहने समाचार बाहिरिएसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा करिब ९ प्रतिशतले गिरावट आएको छ । युद्धको जोखिमका कारण आकासिएको तेलको मूल्य इरानको पछिल्लो नरम नीतिका कारण नाटकीय रूपमा ओरालो लागेको हो ।
इरानले युद्धविरामको बाँकी अवधिसम्म सबै व्यापारिक जहाजका लागि स्ट्रेट अफ होर्मुज खुला रहने घोषणा गरेपछि बजारमा राहतको सङ्केत देखिएको हो । साथै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान अब उक्त जलमार्ग कहिल्यै बन्द नगर्न सहमत भएको दाबी गरेपछि लगानीकर्ताहरूमा रहेको अनिश्चितता कम भएको छ । जसको प्रत्यक्ष असर तेलको मूल्यमा देखियो र शुक्रबार ब्रेन्ट क्रुड र डब्लुटीआई दुवैको मूल्यमा अप्रिल ८ पछिकै सबैभन्दा ठूलो गिरावट दर्ता भयो ।
बजार बन्द हुँदा ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल ९.०१ डलर अर्थात ९.०७ प्रतिशतले घटेर ९०.३८ डलरमा कायम भयो । कारोबारको एक समयमा यो घटेर ८६.०९ डलरसम्म पुगेको थियो । त्यसैगरी, अमेरिकी वेस्ट टेक्सास इन्टरमिडिएटको मूल्य १०.४८ डलर अर्थात ११.४५ प्रतिशतले घटेर प्रतिब्यारेल ८३.८५ डलरमा सीमित भयो ।
रोयटर्सका अनुसार इरानका एक वरिष्ठ अधिकारीले सबै जहाजहरू स्ट्रेट अफ होर्मुजबाट आवतजावत गर्न सक्ने तर त्यसका लागि इरानी इस्लामिक रिभोलुसनरी गार्ड कप्र्ससँग समन्वय गर्नुपर्ने बताएका छन् । यो सम्झौताको बदलामा इरानको रोक्का गरिएको कोषलाई फुकुवा गर्ने सर्तसमेत समावेश गरिएको ती अधिकारीको दाबी छ ।
पछिल्लो दुई हप्तादेखि युद्धको जोखिमका कारण तेलको मूल्यमा जुन रिस्क प्रिमियम थपिएको थियो, त्यो अहिले तीव्र गतिमा हट्न थालेको विश्लेषकहरूले बताएका छन् । बजार अहिले सम्भावित अवरोधको डरबाट मुक्त भई वास्तविक आपूर्ति र प्रवाहको दिशामा फर्किएको छ ।
जहाज ट्रयाकिङ तथ्याङ्कका अनुसार करिब २० वटा ठूला जहाजहरू अहिले खाडी मुलुकबाट स्ट्रेट अफ होर्मुज हुँदै बाहिर निस्कने क्रममा देखिएका छन्, जसले तेल आपूर्ति सहज बन्दै गएको पुष्टि गर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
-
बालश्रम रोकथामका लागि ठमेलका स्पा र मसाज सेन्टरमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण