विराट गोल्डकपको उपाधि झापालाई
सारांश
- झापा ११ ले विराटनगरमा सम्पन्न ३८ औँ संस्करणको नोबेल विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ।
- फाइनल खेलमा झापाले घरेलु टोली सम्राट स्पोर्टिङ क्लबलाई २-१ गोलअन्तरले पराजित गरेको हो।
विराटनगर । झापा ११ ले विराटनगरमा सम्पन्न ३८ औँ संस्करणको ‘नोबेल विराट गोल्डकप’ फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।
सहिद रंगशालामा आइतबार राति भएको फाइनलमा घरेलु टोली सम्राट स्पोर्टिङ क्लबलाई २–१ गोलअन्तरले पराजित गर्दै झापाले दोस्रो पटक उपाधि चुमेको हो ।
उपाधिसँगै झापाले ११ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ भने उपविजेता सम्राट स्पोर्टिङले ५ लाख रुपैयाँमा चित्त बुझायो । यसअघि २०७१ सालको संस्करणमा नेपाल आर्मीलाई हराउँदै झापाले पहिलो पटक यो प्रतियोगिता जितेको थियो ।
झापाको जितमा राजेश दाहाल र दिवस उराउले गोल गरे । सम्राटकातर्फबाट सौरभ तामाङले एक सान्त्वना गोल फर्काए ।
प्रतिस्पर्धात्मक फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । खेलको ८१ औँ मिनेटमा झापाका राजेश दाहालले गोल गर्दै टोलीलाई अग्रता दिलाए । गोलरक्षक विशाल सुनारले प्रहार गरेको लामो पासलाई राजेशले गोलमा परिणत गरेका थिए । झापाले अग्रता लिएको ६ मिनेट बित्न नपाउँदै दिवस उराउले गोल गर्दै टोलीको जित सुनिश्चित गरे । उनले फागुराम थारुको पासमा गोल गरेका थिए । खेलको थप गरिएको (इन्जुरी) समयमा सम्राटका सौरभ तामाङले गोल गर्दै २–१ गोलले अन्तर घटाए पनि हार टार्न सकेनन् ।
पहिलो हाफमा दुवै टोलीले गोल गर्ने सुन्दर अवसरहरू गुमाएका थिए । खेलको १६ औँ मिनेटमा सम्राटका सुरज तामाङले पेनाल्टी क्षेत्र (डिबक्स) भित्रबाट गरेको प्रहार झापाका गोलरक्षक विशाल सुनारले उत्कृष्ट बचाउ गरे । त्यस लगत्तै झापाका सुलमान किङको प्रहार पोस्ट बाहिरिएको थियो । दोस्रो हाफमा भने झापा थप आक्रामक देखियो । ४७ औँ मिनेटमा राजेश दाहाल र ५५ औँ मिनेटमा मौसम सुब्बाको कडा प्रहार बाहिरिएको थियो ।
फाइनल खेलको ‘प्लेयर अफ द म्याच’ झापाका राजेश दाहाल घोषित भए । उनले नगद ११ हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगिताको विधागत पुरस्कारमा पनि झापाकै वर्चस्व रह्यो । झापाका फागुराम थारु ‘हाइ स्कोरर’ (सर्वाधिक गोलकर्ता) बने । उनले प्रतियोगिता भरीमा ३ गोल गरेका थिए ।
सम्राट स्पोर्टिङका अशोक खवास प्रतियोगिताको ‘सर्वोत्कृष्ट खेलाडी’ घोषित भए । उनले नगद ५१ हजार रुपैयाँ पाए । यस्तै, झापाका विशाल सुनार उत्कृष्ट गोलरक्षक र सन्तोष बस्नेत उत्कृष्ट प्रशिक्षक घोषित भए । उनीहरूले जनही १५ हजार रुपैयाँ पुरस्कार पाए ।
विजेता तथा उपविजेता टोलीलाई कोशी प्रदेशका सभामुख अम्बरबहादुर विष्ट, कोशी प्रदेशको वन, पर्यटन तथा वातवरण मन्त्री भीम पराजलुली, विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला र विराट गोल्डकप फुटबल ट्रस्टका अध्यक्ष किशोरबहादुर शाहीले पुरस्कार वितरण गरेका थिए । चैत २८ गतेदेखि सुरु भएको प्रतियोगितामा भारतका टोलीसहित ८ टिमको सहभागिता थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफाको आचारसंहिता अन्तिम समयमा फेरबदल : रङ्गशालाभित्र पानीका बोतल लैजान नपाइने
-
युद्धबिच राष्ट्रिय एकताको आह्वान गर्दै इरानका सर्वाेच्च नेताको सन्देश
-
रवि लामिछानेका सामु भारतीय प्रधानमन्त्री मोदीले दोहोर्याए १२ वर्ष पुरानो कुरा
-
फिल्म अभिनयमा डेब्यु गर्दै गायक पशुपति शर्मा
-
टिकटकर तुलसा अधिकारीको थुनछेक बहस सकियो
-
भिसाको अन्योलबिच विश्वकपका लागि मेक्सिको प्रस्थान गर्दै इरानी टोली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण