वीरगञ्जमा सडक विस्तारले स्थानीयको दैनिकी नै अस्तव्यस्त
सारांश
- वीरगञ्जको त्रिभुवन राजपथ सडक विस्तार कार्यले स्थानीयको दैनिकी कष्टकर बनेको छ।
- सडक विस्तारको क्रममा संरचनाहरू भत्काउँदा विद्युत् र खानेपानी आपूर्ति अवरुद्ध भएको छ।
- पूर्व तयारीबिना गरिएको सडक विस्तारले गर्दा स्थानीय व्यापारी र सर्वसाधारण मर्कामा परेका छन्।
जनकपुरधाम । वीरगञ्जको मुटु मानिने त्रिभुवन राजपथअन्तर्गत सडकमा यतिबेला धमाधम डोजर चलेका छन् । वर्षौंदेखिका साँघुरा बाटालाई राष्ट्रिय मापदण्डअनुसार फराकिलो बनाउने काम भइरहेका छन्, यसले सहरको स्वरूप त बदलिएला, तर यो परिवर्तनले स्थानीयलाई भने सास्ती बढेको छ । उनीहरूको दैनिकी कष्टकर बन्न थालेको छ ।
आइतबार बिहान सबेरैदेखि गण्डक चोकदेखि भारत–नेपाल सीमास्थित मितेरी पुलसम्म डोजर चल्यो । सडक डिभिजन कार्यालय हेटौँडाको नेतृत्वमा सुरक्षाकर्मीको निगरानीमा अतिक्रमण गरी बनाइएका घरटहरा धमाधम भत्काइए ।
_PQ9JsQtNzF.jpg)
सडकलाई दायाँबायाँ २५/२५ मिटर फराकिलो बनाउने लक्ष्यअनुसार करिब १ हजार २०० निजी संरचना र २९ वटा सरकारी भवन हटाउने योजना बढाइएको छ, जसअनुसार काम पनि तीव्र गतिमा भइरहेको छ ।
यो अभियान कानुनी आधारमा अघि बढाइएको हो । सर्वोच्च अदालतको निर्णय र संघीय सरकारको निर्देशनपछि कार्यान्वयनमा ल्याइएको यस योजनालाई स्थानीय सरकारको पनि साथ छ, तर कागजमा स्पष्ट देखिएको योजना व्यवहारमा लागू हुँदा धेरैले दुःख पाइरहेका छन् ।
सूचना जारी भएको छोटो समयमै घर र पसल खाली गर्नुपर्दा स्थानीयहरू रातारात सामान सार्न बाध्य छन् । दशकौँदेखि सञ्चालनमा रहेका व्यापार एकाएक बन्द गर्नुपर्दा व्यापारीहरू अन्योलमा मात्र होइन, तनावमा छन् । ‘हामीलाई व्यवस्थित रूपमा सर्ने समय दिइएन’ भन्ने गुनासा सबैले गर्न थालेका छन् ।
संरचना भत्काउने कार्यसँगै सबैभन्दा ठुलो समस्या आधारभूत सेवामा देखिएको छ । विद्युत् लाइन, खानेपानी पाइप र सञ्चारका तार काटिँदा मुख्य बजार क्षेत्र अन्धकार बनेको छ । नेपाल विद्युत् प्राधिकरणको आपूर्ति अवरुद्ध हुँदा केही दिनदेखि निरन्तर बिजुली आएको छैन, गर्मी बढ्न थालेसँगै यो समस्या पनि थपिएको छ ।
पंखा र कुलर नचल्दा बालबालिका, वृद्धवृद्धा र बिरामीहरू सबैभन्दा बढी प्रभावित भएका छन् । साँझ पर्नासाथ बजार अन्धकार हुँदा सुरक्षा चिन्ता पनि थपिएको छ ।
स्थानीयहरू उज्यालो अभावले चोरीजस्ता घटना बढ्न सक्ने डरमा छन् ।
_6FJmpovI4m.jpg)
खानेपानीको समस्या पनि त्यत्तिकै गम्भीर बनेको छ । पाइपलाइन अवरुद्ध भएपछि नियमित पानी आपूर्ति बन्द भएको छ भने बिजुली अभावका कारण सहरबासीले बोरिङमा मोटरसमेत चलाउन सकेका छैनन्, यसले गर्दा सामान्य सरसफाइदेखि दैनिक आवश्यकतासम्म पूरा गर्न कठिन भइरहेको उनीहरूले गुनासो गरिरहेका छन् ।
स्थानीय बासिन्दा दीपक सर्राफ भन्छन्, ‘विकास आवश्यक छ, तर तयारीबिना गरिएको यस्तो कदमले हामीलाई बाँच्नै गाह्रो बनायो । न पानी छ, न बिजुली, यो गर्मीमा कसरी दिन बिताउने ?’
स्थानीयले पाएको सास्तीबारे महानगरले भने केही दिन लाग्ने बताएको छ । 'सबै ठाउँमा टुटफुट भएर करेन्ट लाग्ने जोखिम देखिएकाले लाइन काटिएको हो,' महानगरका प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णले भने, 'दुई दिनभित्र सबै व्यवस्था मिलाएर सबै सुचारु हुन्छ ।'
दीर्घकालीन दृष्टिले हेर्दा सडक विस्तारले वीरगञ्जको यातायात व्यवस्थापन सुधार्ने, व्यापारिक गतिविधि बढाउने र सीमावर्ती सहरको रूपमा यसको महत्त्व अझ बलियो बनाउने अपेक्षा गरिएको छ । फराकिलो सडकले जाम घटाउने र आवागमन सहज बनाउने विश्वास लिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
-
न्यायाधीशको सम्पत्ति छानबिनले न्यायपालिकाको स्वतन्त्रता भत्किने पूर्वप्रधानन्यायाधीश पराजुलीको चेतावनी
-
आर्थिक विधेयकमा संसदीय नियम र अभ्यासविपरीत अर्थमन्त्री वाग्लेको बलमिच्याइ
-
चिनियाँ राष्ट्रपति सी उत्तर कोरिया भ्रमणमा जाँदै
-
‘राजनीतिक हस्तक्षेप नरोके एक दशकमै मरुभूमि बन्छ तराई’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण