मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

पुरातत्त्वका इन्जिनियर श्रेष्ठ र सहायक अधिकारीविरूद्ध मुद्दा दायर

मङ्गलबार, ०८ वैशाख २०८३, १७ : २६
मङ्गलबार, ०८ वैशाख २०८३

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पुरातत्त्व विभागका तत्कालीन सिनियर डिभिजनल इन्जिनियर (सि.डि.इ.) पूर्ण बहादुर श्रेष्ठ र सहायक पथ प्रदर्शक देउकला अधिकारी विरुद्ध ४ करोड २२ लाख ७५ हजार ९८५ रुपैयाँ बिगो कायम गरी विशेष अदालतमा मुद्दा दायर गरेको छ।

मंगलबार अख्तियारले दुवै प्रतिवादी विरुद्ध दुई छुट्टाछुट्टै ऐन अन्तर्गत कारबाहीको माग गरेको छ । सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ बमोजिम अवैध रूपमा आर्जित सम्पत्तिबाट खरिद गरिएका घरजग्गा र सुन जफत गर्न तथा थप कैद र जरिवाना गर्न मागदाबी गरिएको छ ।

इन्जिनियर पूर्ण बहादुर श्रेष्ठले पुरातत्त्व विभागबाट सञ्चालित विभिन्न ठेक्कापट्टाको काममा निर्माण व्यवसायी तथा संयुक्त उपक्रम (जेबी) हरूसँग घुस/रिसवत माग गरी सहजीकरण गरिदिएका थिए । सोबापत प्राप्त अवैध रकम उनले आफ्नै विभागमा कार्यरत सहायक देउकला अधिकारीको बैंक खातामा जम्मा गर्न लगाएको अनुसन्धानबाट पुष्टि भएको छ।

त्यस्तै अवैध रूपमा आर्जित रकमलाई वैध देखाउन उनीहरूले विभिन्न उपायहरू अपनाएको भेटिएको छ । देउकला अधिकारीको खातामा पटक–पटक गरी जम्मा गरिएको ४ करोड २२ लाख ७५ हजारभन्दा बढी रकमबाट उनीहरूले संयुक्त रूपमा नुवाकोट र काठमाडौँका विभिन्न स्थानमा घरजग्गा खरिद गरेको, सुनका गहना खरिद गरेको र विभिन्न व्यक्तिलाई भुक्तानी दिएको देखिएको छ।

अख्तियारले अनुसन्धानका क्रममा यो रकमको स्रोत लुकाउन बेनामी स्वामित्व सिर्जना गरेको, नक्कली ऋण लिएको देखाएको र बैंकिङ प्रणाली बाहेक नगदमै कारोबार गरी सम्पत्ति शुद्धीकरण गरेको जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप