आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय
अपडेट

नेपाल एयरलाइन्समा कानुनको दोहोरो मापदण्ड : विगतमा कडा कारबाही, अहिले निर्देशकको संरक्षण !

बुधबार, ०९ वैशाख २०८३, १२ : १२
बुधबार, ०९ वैशाख २०८३

सारांश

  • नेपाल वायुसेवा निगममा कर्मचारीको गैरकानुनी गतिविधिमाथि कारबाही गर्ने सवालमा दोहोरो मापदण्ड देखिएको छ।
  • विगतमा साना कसुरमा समेत बर्खास्त गरिएका कर्मचारीको तुलनामा हालका पाइलट राजेश कुशवाहाको सुन तस्करी प्रकरणमा उन्मुक्ति दिइएको छ।
  • निगमका अपरेशन डाइरेक्टर सुवास रिजालमाथि आफ्ना निकट व्यक्तिहरूलाई संरक्षण र अधिकार दुरुपयोग गरेको गम्भीर आरोप लागेको छ।

काठमाडौँ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) भित्र कर्मचारीहरूको गैरकानुनी गतिविधिमाथि कारबाही गर्ने सवालमा ‘दोहोरो मापदण्ड’ देखिएको छ।  विगतमा सामान्य कसुरमा समेत कठोर अनुशासनको डन्डा चलाउँदै आएको निगमले पछिल्लो समय पहुँचवाला पाइलट र उच्च अधिकारीको निकटताका आधारमा गम्भीर तस्करीका घटनालाई पनि गुपचुप राख्ने र उन्मुक्ति दिने प्रयास गरेको पाइएको छ।

ऐतिहासिक रूपमा नेपाल एयरलाइन्सले आफ्ना कर्मचारी संलग्न भएका तस्करी तथा विदेशी मुद्रा अपचलनका मुद्दाहरूमा कडा कारबाही गर्दै आएको नजिर छ । करिब चार दशकअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दा केही थान घडीहरू बोकेको फेला परेपछि क्याप्टेन रमेश उपाध्यायलाई तस्करीको आरोपमा बर्खास्त गरिएको थियो। 

त्यस्तै, १९९० को दशकमा दुबईबाट फर्कँदा केही ग्राम सुनसहित पक्राउ परेका क्याप्टेन कमलकृष्ण श्रेष्ठ र २० हजार अमेरिकी डलर बोकेको आरोपमा क्याप्टेन लक्ष्मण दास प्रधानले आफ्नो पद गुमाउनुपरेको थियो।

विगतमा एयर होस्टेसहरू पुष्पलता त्रिखत्री र तुलसा बस्नेतलाई समेत घडी तस्करीमा संलग्न भएको भन्दै सेवाबाट हटाइएको थियो। सन् २०१७ अप्रिलमा दुबई उडानको तयारीमा रहेका वरिष्ठ क्याप्टेन सुवर्ण अवाले ९३,६०० अमेरिकी डलरसहित पक्राउ पर्दा होस् वा सन् २०२५ नोभेम्बरमा सुन तस्करीमा संलग्न क्याबिन क्रू सदस्य सन्देश तिवारीलाई बर्खास्त गर्दा, निगमले आफ्नो कठोर छवि कायम राखेको थियो।

तर, पछिल्लो समय क्याप्टेन राजेश कुशवाहा जोडिएको गम्भीर घटनामा भने निगमको नेतृत्वले रहस्यमय मौनता र पक्षपात देखाएको छ। १५ फेब्रुअरी २०२६ मा दुबईबाट काठमाडौँ आएको उडानपछि विमानस्थल भन्सार जाँचका क्रममा क्याप्टेन कुशवाहाको झोलामा करिब १८ तोला सुन (अनुमानित मूल्य ५५ लाख रुपैयाँ) फेला परेको थियो। यति गम्भीर अपराधमा संलग्न उनलाई कानुनी कठघरामा उभ्याउनुको साटो केवल तीन घण्टा नियन्त्रणमा राखेर ‘मौखिक माफी’ र ‘पुनः यस्तो नगर्ने’ आश्वासनका भरमा छोडिएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसम्म पुगेको जानकारी अनुसार यो घटनामा कुनै औपचारिक अनुसन्धान वा विभागीय कारबाही प्रक्रिया अघि बढाइएन । 

विशेषगरी, निगमका अपरेशन डाइरेक्टर क्याप्टेन सुवास रिजालले आरोपित पाइलट कुशवाहा आफ्ना निकट सहयोगी भएकै कारण घटनालाई ढाकछोप गरेको आरोप लागेको छ। मन्त्रालयको कडा हस्तक्षेपपछि फेब्रुअरी २५ मा उनलाई रोस्टरबाट हटाइए पनि केवल २० दिनपछि अर्थात् २० मार्च २०२६ मा कुनै ठोस छानबिन बिना नै उनलाई पुनः नियमित उडानमा फर्काइयो।

यो घटनाले अपरेशन डाइरेक्टर रिजालमाथि लाग्दै आएका नातावाद र अधिकार दुरुपयोगका अन्य आरोपहरूलाई थप बल पुर्‍याएको छ। आफ्ना सम्धी रोशन कोइरालालाई एयरबसको तालिममा पठाउन गरेको विवादास्पद प्रयास र आफ्ना दाजु क्याप्टेन श्रवण रिजाललाई मासिक २० लाख रुपैयाँको उच्च तलबमा नियुक्त गर्ने जस्ता कार्यले निगमभित्र विधिभन्दा व्यक्तिको शासन हाबी भएको देखिन्छ।

विगतमा थोरै परिमाणको अवैध सामान वा मुद्रा बोक्दा पनि जागिर खोसिने तर अहिले करोडौँको सुन बरामद हुँदा पनि पहुँच र शक्तिका भरमा उन्मुक्ति पाउने प्रवृत्तिले नेपाल एयरलाइन्सको संस्थागत पारदर्शिता र सुरक्षा संयन्त्रमाथि गम्भीर प्रश्न खडा गरेको एयरलाइन्सका एक अधिकारीले बताए । 

कानुन पद र हैसियत अनुसार फरक नहुने सर्वमान्य सिद्धान्त विपरीत निगमभित्र देखिएको यो उदासीनताले मुलुकको उड्डयन क्षेत्रको निगरानी प्रणालीमै चिन्ता उत्पन्न गराएको उनको भनाइ छ ।

124567891011

111

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप