काठमाडौँ । बागमती नदी किनारमा रहेका सुकुमबासी बस्ती हटाउने सरकारको तयारीसँगै त्यहाँका बासिन्दाहरूमा त्रास छाएको छ। दशकौँदेखि सोही क्षेत्रमा बसोबास गर्दै आएका सुकुमबासीहरूले उचित विकल्पबिना आफूहरूलाई हटाउन लागिएको भन्दै सरकारको आक्रोश पोखेका हुन् ।
सो बस्तीकी सुकुमबासी मध्येकी एक हुन्, सुन्तली राई । उनले आफूहरूको घरबास खोस्न खोजिएको भन्दै आक्रोश पोखिन्, ‘हाम्रो मान्छे बिरामी भएर अस्पताल लैजाँदा उपचार पाउँदैन, यहाँ हाम्रो घरबास खोस्न खोजिँदैछ। हामी गरिबलाई कतै बस्ने ठाउँ छैन।’ उनी नुवाकोटबाट २० वर्षअघि काठमाडौँ आएकी हुन् भने अहिले ५ छोराछोरीसहित यहीँ बस्दै आएकी छिन्।
यस्तै, ५८ वर्षीय सम्बरसिंह प्रजाले सरकारको दोहोरो चरित्र देखिएको आरोप लगाए । धादिङबाट आएर २० वर्षदेखि यहाँ बसोबास गरिरहेका उनी भन्छन्, ‘हामीले नयाँ र युवा नेतृत्व आउला र हाम्रो दुःख बुझ्ला भनेर बालेन्द्र शाहलाई भोट दियौँ। तर आज उनैले हामीलाई यहाँबाट खेद्न खोज्दैछन्।’
अर्का सुकुमबासी स्थानीय शरणार्थीले समेत बास पाउने भन्दै आफूहरू नेपाली नागरिक भएर पनि आफ्नै देशमा घरबारविहीन हुनुपर्ने ? भन्दै प्रश्न गरे । उनले आफ्नो पुर्ख्यौली सम्पत्ति बाढीले बगाएपछि सुकुमबासी बन्नुपरेको पीडा सुनाए।
बस्तीका अन्य बासिन्दाहरूले पनि महँगीका कारण काठमाडौँमा कोठा भाडामा लिएर बस्न असम्भव रहेको बताए। ‘एउटा कोठाको ८-१० हजार भाडा भन्छन्, हामी ज्यामी काम गर्नेले कहाँबाट ल्याएर तिर्ने ?’ अर्की सुकुमबासी महिलाले प्रश्न गरिन्। यो बस्ती पहिला फोहोर फाल्ने ठाउँ भएको र पछि आफूहरूले सफा गरेर बस्न योग्य बनाएको उनीहरूको भनाइ थियो ।
सुकुमबासीहरूले आफूहरू विकासको विरोधी नभएको तर हटाउनुअघि सरकारले गाँस र बासको ग्यारेन्टी गर्नुपर्ने माग गरेका छन्।
‘हामीलाई यहाँबाट निकाल्ने हो भने कहाँ जाने भनेर ठाउँ देखाइदिनुपर्छ, उनीहरूको भनाइ थियो। उचित व्यवस्थापनबिना बस्ती हटाउन खोजिए कडा आन्दोलन गर्ने चेतावनी समेत उनीहरूले दिएका छन्।
यसैबिच जिल्ला प्रशासन कार्यालय काठमाडौँले वैशाख १२ गते बिहानदेखि काठमाडौँका ३ स्थानको सुकुमबासी बस्तीको टहरा भत्काउने निर्णय गरेको छ ।
बिहीबार काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले जिल्ला सुरक्षा समितिको बैठकमा त्यसबारे छलफल गरेका थिए । आजै सुरक्षा निकायले सुकुमबासी बस्ती खाली गर्न माइकिङ समेत गरेको थियो ।
प्रतिक्रिया