मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

पानी मात्र होइन, अब ध्वनि तरङ्गले पनि निभाउँछ आगो

बुधबार, १६ वैशाख २०८३, १६ : २५
बुधबार, १६ वैशाख २०८३

सारांश

  • पानी वा रसायनबिना आगो निभाउने सोनिक फयर टेक प्रविधिले कम आवृत्तिको ध्वनि तरंग प्रयोग गर्छ ।
  • यो प्रविधिले इन्फ्रासाउन्ड प्रयोग गरी अक्सिजन अणुहरूलाई इन्धनबाट टाढा धकेल्दै दहन प्रक्रिया रोक्छ ।
  • भान्साको तेलजन्य आगोमा प्रभावकारी भए पनि यो प्रविधि हाल सानो स्तरका आगोमा मात्र सीमित छ ।

काठमाडौँ । पानी वा रसायनबिना आगो निभाउने एक रोचक प्रविधिको विकास गरिएको छ ।

सोनिक फयर टेक नाम गरेको कम्पनीको पेटेन्टमा रहेको यो प्रविधिले कम आवृत्तिको ध्वनि तरंग प्रयोग गरेर आगो निभाउने काम गर्छ । 

आगो बलिरहन तीन तत्त्व आवश्यक हुन्छ–ताप, इन्धन र अक्सिजन ।

यो प्रविधिले विशेषगरी अक्सिजनलाई लक्षित गर्छ । इन्फ्रासाउन्ड (मानिसले नसुन्ने ध्वनि) प्रयोग गरेर अक्सिजन अणुहरूलाई इन्धनबाट टाढा धकेलिन्छ, जसले दहन प्रक्रिया नै रोकिन्छ । कम्पनीका सह संस्थापक तथा नासाका अनुसन्धाता ज्योफ ब्रुडरका अनुसार अक्सिजनलाई इन्धनले प्रयोग गर्न नपाउने गरी कम्पन गराउँदा रासायनिक प्रतिक्रिया रोकिन्छ । 

ध्वनिले आगोमा प्रभाव पार्ने कुरा नयाँ होइन । डिफेन्स एड्भान्स्ड रिसर्च प्रोजेक्ट्स एजेन्सी (डीएआरपीए)ले सन् २००० को दशकमा यस विषयमा अध्ययन गरेको थियो भने विभिन्न शैक्षिक अनुसन्धानहरूमा पनि यसको परीक्षण हुँदै आएको छ । म्यासाचुसेट्सको वुस्टर पोलिटेक्निक इन्स्टिच्युटमा अग्नि सुरक्षा इन्जिनियरिङ विभागका प्रमुख अल्बर्ट सिमियोनीले ध्वनिको आगोमा प्रभावबारे पहिले नै जानकारी रहेको तर यसलाई ठुलो स्तरमा प्रयोग गर्न चुनौतीपूर्ण रहेको बताएका छन् । 

यो नयाँ प्रविधिको विशेषता भनेको २० हर्ज वा त्योभन्दा कम आवृत्तिको इन्फ्रासाउन्ड प्रयोग गरेरै आगो निभाउन सक्नु हो । यस आवृत्तिको ध्वनि मानिसले सुन्न सक्दैन तर टाढासम्म प्रभावकारी रूपमा फैलिन्छ । सान बर्नार्डिनो काउन्टी अग्नि विभागले हालै यो प्रविधिमा आधारित वेयरेबल उपकरण परीक्षण गरेको छ । साथै घरायसी प्रयोगका लागि पनि यस्ता प्रणाली विकास गरिएको छ, जसले सेन्सरमार्फत स्वतः आगो पत्ता लगाएर निभाउन सक्छ । 

सोनिक फायर टेकका रेमिङ्टन हटचकिसका अनुसार भान्सामा हुने तेलजन्य आगोमा पानीले झन आगो फैलाउने जोखिम हुन्छ, तर यो ध्वनि प्रविधिले त्यस्ता आगोलाई प्रभावकारी रूपमा नियन्त्रण गर्न सक्छ । यद्यपि यो प्रविधि हाल सानो स्तरका आगोमा मात्र प्रभावकारी देखिएको छ । त्यसैले वनडढेलो जस्ता ठुलो आगोमा यसको प्रयोग निकट भविष्यमा सम्भव देखिँदैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप