देशभर लागूऔषधविरुद्ध प्रहरीको अपरेसन : २२ जना पक्राउ
सारांश
- नेपाल प्रहरीले देशभर लागूऔषध ओसारपसार तथा कारोबारविरुद्धको कारबाहीलाई तीव्र बनाएको छ।
- शुक्रबार र शनिबार मात्रै देशका विभिन्न सात जिल्लाबाट अवैध लागूऔषधसहित २२ जनालाई प्रहरीले पक्राउ गरेको हो।
- झापा, कैलाली, उदयपुर, बर्दिया, कञ्चनपुर, धनुषा र सिन्धुलीका विभिन्न नाका तथा बजार क्षेत्रबाट ब्राउनसुगर, चरेस र नियन्त्रित मेडिकल लागूऔषधसहित उनीहरूलाई नियन्त्रणमा लिइएको छ।
काठमाडौँ । नेपाल प्रहरीले देशभर लागूऔषध ओसारपसार तथा कारोबारविरुद्धको कारबाहीलाई तीव्र बनाएको छ। शुक्रबार र शनिबार मात्रै देशका विभिन्न सात जिल्लाबाट अवैध लागूऔषधसहित २२ जनालाई प्रहरीले पक्राउ गरेको हो।
झापा, कैलाली, उदयपुर, बर्दिया, कञ्चनपुर, धनुषा र सिन्धुलीका विभिन्न नाका तथा बजार क्षेत्रबाट ब्राउनसुगर, चरेस र नियन्त्रित मेडिकल लागूऔषधसहित उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीको भनाई छ।
लागूऔषध कारोबारको मुख्य ट्रान्जिट मानिने झापाबाट मात्रै प्रहरीले नौ जनालाई पक्राउ गरेको छ। झापाको बुद्धशान्ति गाउँपालिका-३ बुधबारे बजारबाट २ ग्राम ७२० मिलिग्राम ब्राउनसुगरसहित ३८ वर्षीय हरिप्रसाद ढकाल पक्राउ परेका छन्।
त्यसैगरी अर्जुनधारा नगरपालिका-५ कैलाशघाटबाट मोरङका २४ वर्षीय सागर दर्जीलाई २ ग्राम ब्राउनसुगरसहित र बिर्तामोड नगरपालिका-४ बाट २८ वर्षीय सागर रसाइलीसहित चार जनालाई १५० मिलिग्राम ब्राउनसुगरसहित नियन्त्रणमा लिइएको छ। मेचीनगर नगरपालिका-६ को पुरानो मेचीपुल र गैरीगाउँबाट २७ वर्षीय रोहित भण्डारी र सर्लाही घर भएका अर्का एक १८ वर्षीय किशोरलाई खैरो हेरोइनसहित पक्राउ गरिएको छ।
यसैगरी सुदूरपश्चिमका नाकाहरूमा पनि प्रहरीले कडा निगरानी बढाएको छ। कैलालीको टीकापुर नगरपालिका-९ खक्रौलामा भारतबाट नेपालतर्फ आउँदै गरेका लम्कीचुहाका २० वर्षीय लक्ष्मण शाही र २६ वर्षीय प्रकाश रिमाललाई १ ग्राम ६९० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ गरिएको छ।
कैलालीकै धनगढी उपमहानगरपालिका-१ शिवनगरबाट ३ ग्राम ६०० मिलिग्राम चरेससहित ३० वर्षीय रामस्वरूप रानासहित पाँच जना पक्राउ परेका छन्। यता बर्दियाको बाँसगढीबाट ३२ वर्षीय सुनिल थारु र कञ्चनपुरको बेलौरीबाट १९ वर्षीय जनक राम रानालाई पनि खैरो हेरोइनसहित प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरीको चेकिङका क्रममा ठुलो परिमाणको लागूऔषधसहित सिन्धुलीबाट समेत एक जना पक्राउ परेका छन्। कमलामाई नगरपालिका-९ भिमानमा झापाबाट काठमाडौँतर्फ जाँदै गरेको हाईस गाडीमा चेकजाँच गर्दा मोरङका ३४ वर्षीय करन चौधरी ३३ ग्राम ४१० मिलिग्राम खैरो हेरोइनसहित समातिएका हुन्।
उता उदयपुरको त्रियुगा नगरपालिका-६ बाट डाइजेपाम, फेनारगन र बुप्रेनोर्फिनजस्ता नियन्त्रित लागूऔषधसहित २१ वर्षीय आशिष सुर्खेती र २५ वर्षीय सन्देश राउत पक्राउ परेका छन्। धनुषाको धनुषाधाम नगरपालिका-९ मा पनि १०० ट्याब्लेट नाइट्रोजेपामसहित २० वर्षीय रोहित कुमार मण्डल र २२ वर्षीय मुकेश साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
देशका विभिन्न स्थानबाट पक्राउ परेका यी सबै आरोपितहरूमाथि लागूऔषध ओसारपसार तथा बिक्रीवितरण ऐनअन्तर्गत मुद्दा दर्ता गरी सम्बन्धित प्रहरी कार्यालयहरूले थप अनुसन्धान अगाडि बढाइरहेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाको महाधिवेशन स्थल जलमग्न (तस्बिरहरू)
-
हास्य कलाकार खेम शर्मा `चतुरे´को निधन
-
कालीगण्डकी किनारलाई धार्मिक–पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न पदमार्ग निर्माण
-
इक्वेडर र कुरासाओ गोलरहित बराबरीमा रोकिए, दुवै टोलीको नकआउट चरण पुग्ने सम्भावना कठिन
-
पोखरा रङ्गशालामा सामूहिक योग कार्यक्रम (तस्बिरहरू)
-
‘ट्रिलिनेयर’हरुको युगमा लोकतन्त्र खतरामा छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण