फर्ममा रहेको हैदरावाद र संघर्षरत कोलकाता भिड्दै
सारांश
- सनराइजर्स हैदरावाद र कोलकाता नाइट राइडर्सबीच आईपीएलमा आज दोस्रो खेल हुँदैछ।
- हैदरावाद उत्कृष्ट फर्ममा छ भने कोलकाता संघर्षरत छ।
- कोलकाताले हेड-टु-हेडमा हैदरावादमाथि ऐतिहासिक जित हासिल गरेको छ।
हैदराबाद । आईपीएलमा आज डबल हेडर अर्थात् एकै दिन दुई खेल खेलिँदै छ। दिनको पहिलो खेलमा सनराइजर्स हैदरावादले कोलकाता नाइट राइडर्सको सामना गर्नेछ।
यो खेल हैदरावादको राजीव गान्धी इन्टरनेशनल स्टेडियममा दिउँसो ३:४५ बजेदेखि सुरु हुनेछ।
यस सिजन यी दुई टोली दोस्रो पटक भिड्न लागेका हुन्। अघिल्लो भिडन्तमा हैदरावाद ६५ रनले विजयी भएको थियो।
सनराइजर्स हैदरावाद ९ मध्ये ६ खेलमा जित हात पार्दै हाल अंक तालिकाको तेस्रो स्थानमा छ। टोली उत्कृष्ट फर्ममा छ र पछिल्ला पाँचवटै खेल लगातार जितेको छ। अर्कोतर्फ, कोलकाता ८ खेलमा २ जितसहित आठौँ स्थानमा छ।

- हेड-टु-हेडमा कोलकाता हावी
यी दुई टोलीबिच हालसम्म कूल ३१ खेल भएका छन्। जसमा कोलकाता नाइट राइडर्सले १९ खेल जितेको छ भने सनराइजर्स हैदरावादले ११ खेल मात्र जित्न सकेको छ।
एउटा खेल टाई भएको थियो, जसलाई सुपर ओभरमा कोलकाताले जितेको थियो। राजीव गान्धी स्टेडियममा दुई टोलीबिच ७ खेल भएका छन्। जसमा घरेलु टोली हैदरावादले ३ र कोलकाताले ४ खेल जितेका छन्।
लयमा छन् अभिषेक र इशान मलिङ्गा
यस सिजन हैदरावादका लागि अभिषेक शर्मा सबैभन्दा सफल ब्याटर रहेका छन्। उनले ९ खेलमा २०९.३५ को स्ट्राइक रेटमा ४२५ रन बनाएका छन्, जसमा एक शतक र तीन अर्धशतक समावेश छ।

बलिङतर्फ इशान मलिङ्गाले उत्कृष्ट प्रदर्शन गर्दै ९ खेलमा १५ विकेट लिएका छन्।
कोलकातालाई रिंकु र कार्तिकको भरोसा
कोलकाताका लागि रिंकु सिंहले हालसम्म ८ खेलमा २१५ रन जोडेका छन्। उनको स्ट्राइक रेट १४१.४४ रहेको छ र उनले दुई अर्धशतक प्रहार गरिसकेका छन्।

बलिङतर्फ कार्तिक त्यागीले ८ खेलमा ९ विकेट लिएर टोलीलाई बलियो बनाएका छन्।
जसमाथि रहनेछ नजर
- ट्राभिस हेड
सिजनको धेरैजसो समय ओपनिङ जोडीका एक ब्याटरले राम्रो खेल्न नसके पनि हैदरावादको ब्याटिङ अर्डर राम्रोसँग चलिरहेको छ। विशेषगरी ट्राभिस हेडले आफ्ना सुरुवाती आठ खेलमा एक पटक मात्र ४० रनको आँकडा पार गरेका थिए र लय समात्न संघर्ष गरिरहेका थिए।

तर मुम्बई इन्डियन्सविरुद्धको खेलमा त्यो अवस्था बदल्यो। उनले तेस्रो ओभरमै ट्रेन्ट बोल्टलाई तीन छक्का प्रहार गर्दै आफ्नो मनसाय स्पष्ट पारे। जस्प्रित बुमराहलाई हानेको आकर्षक छक्का र चौकाले उनको फर्ममा पुनरागमनलाई प्रस्ट पार्यो।
उनले ३० बलमा ७६ रन बनाएर इनिङ्स सके। अहिले हैदरावादका दुवै ओपनर उत्कृष्ट फर्ममा देखिएकाले कोलकाताको चिन्ता बढ्न सक्छ।
- कोलकाताको ओपनिङ जोडी
अर्कोतर्फ, आठ खेल खेलिसक्दा पनि कोलकाताले यस सिजन आफ्नो उत्कृष्ट ओपनिङ जोडी फेला पार्न सकेको छैन। टिम सेफर्टले तीन खेल खेले पनि लगातार दुई डकसहित खराब प्रदर्शन गरेका छन्।

कोलकाताले फिन एलेनलाई प्लेइङ-११ मा ल्याउन सक्छ। यदि मथिशा पथिराना फर्किए भने, ब्याटिङ क्रम परिवर्तन गरेर सुनिल नारायणलाई पुनः माथिल्लो क्रममा पठाउन पनि विचार गर्न सक्छ।
टिम न्युज: के पथिराना खेल्लान् ?
हैदरावादले आफ्नो टोलीमा परिवर्तन गर्ने सम्भावना कम छ।
- सनराइजर्स हैदरावाद (सम्भावित): १. ट्राभिस हेड, २. अभिषेक शर्मा, ३. इशान किशन (विकेटकिपर), ४. हेनरिक क्लासेन, ५. नितिश कुमार रेड्डी, ६. सलिल अरोरा, ७. अनिकेत वर्मा, ८. प्याट कमिन्स (कप्तान), ९. हर्ष दुबे, १०. इशान मलिङ्गा, ११. प्रफुल हिंगे, १२. सकिब हुसेन।

मथिशा पथिराना फिट छन् र खेल्न तयार छन्, तर कोलकाताले उनलाई लखनउविरुद्ध खेलाएको थिएन। आइतबारको खेलअघि कोलकाताका बलिङ प्रशिक्षक टिम साउथीले भनेका थिए, ‘हामी अवस्था हेरेर टोलीका लागि जे उपयुक्त हुन्छ, त्यही निर्णय लिनेछौँ।’
- कोलकाता नाइट राइडर्स (सम्भावित): १. अजिंक्य रहाणे (कप्तान), २. टिम सेफर्ट (विकेटकिपर), ३. अंगकृष रघुवंशी, ४. क्यामरुन ग्रीन, ५. रोभमन पावेल, ६. रिंकु सिंह, ७. सुनिल नारायण, ८. अनुकूल रोय, ९. रमनदीप सिंह, १०. वरुण चक्रवर्ती, ११. कार्तिक त्यागी, १२. वैभव अरोरा।
पिच रिपोर्ट
राजीव गान्धी इन्टरनेशनल स्टेडियमको पिच ब्याटिङमैत्री छ। यस स्टेडियममा हालसम्म ८७ आईपीएल खेल खेलिएका छन्, जसमध्ये ३८ खेल पहिले ब्याटिङ गर्ने टोलीले र ४८ खेल लक्ष्य पछ्याउने टोलीले जितेका छन्।
यहाँको उच्च टिम स्कोर २८६/६ हो, जुन हैदरावादले गत वर्ष राजस्थान रोयल्सविरुद्ध बनाएको थियो।
मौसमको अवस्था
हैदरावादमा आज पानी पर्ने कुनै सम्भावना छैन। दिउँसो निकै चर्को घाम लाग्नेछ। तापक्रम २७ देखि ४२ डिग्री सेल्सियसको बिचमा रहनेछ।
तथ्याङ्क र रोचक जानकारी
- खराब सुरुवातका बाबजुद वैभव अरोरा कार्तिक त्यागीसँगै कोलकाताका लागि सर्वाधिक विकेट लिने खेलाडी हुन्। हैदरावादको टप अर्डरविरुद्ध अरोराको रेकर्ड पनि राम्रो छ: उनले ४ भेटमा २ पटक हेडलाई आउट गरेका छन्। अभिषेकलाई ६ इनिङ्समा १ पटक आउट गर्दै उनको स्ट्राइक रेट मात्र ७८ मा सीमित राखेका छन् भने इशान किशनलाई ५ भेटमा ३ पटक आउट गरेका छन्।
- आज हैदरावादका लागि कस्ता इशान किशन मैदानमा उत्रेलान् ? उनले बेंगलुरुविरुद्ध ८० रन बनाएर सिजनको सुरुवात गरेका थिए। त्यसपछि केही कम स्कोर बनाए पनि राजस्थानविरुद्ध ४४ बलमा ९१ रन बनाए। उनले हालसम्म तीन अर्धशतक बनाएका छन् तर दुई 'गोल्डेन डक' सहित तीन पटक एकल अंकमा पनि आउट भएका छन्।
- योर्कर र स्लोअर बलको मद्दतले मलिङ्गाका लागि यो सिजन उत्कृष्ट रहिआएको छ। ९ इनिङ्समा उनले ९.२ को इकोनोमी रेटमा १४ विकेट लिएका छन्। उनका स्लोअर बलमा रन बनाउन ब्याटरलाई निकै गाह्रो भएको छ, जसमा उनले ७.७ को इकोनोमी रेटमा ४ विकेट लिएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरी थाइल्याण्डमा रेलवे सुरुङ निर्माणका क्रममा दुर्घटना, दुईको मृत्यु
-
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न आग्रह
-
सुनिता डंगोल इजरायलमा
-
जेलेन्स्कीले फिर्ता गरे पोल्यान्डको सर्वोच्च राष्ट्रिय सम्मान
-
रास्वपा महाधिवेशनको निर्वाचन कार्यतालिका पुनः प्रकाशित (सूचीसहित)
-
तस्बिरमा हेर्नुहोस् रास्वपा महाधिवेशनमा देखिएको मोही मोह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण