बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अमेरिकी ‘साइबर खतरा’को आरोप कपोकल्पित: उत्तर कोरिया

आइतबार, २० वैशाख २०८३, १३ : ०३
आइतबार, २० वैशाख २०८३

सारांश

  • उत्तर कोरियाले आफूविरुद्ध लगाइएका अमेरिकी ‘साइबर खतरा’ सम्बन्धी आरोपहरूलाई अस्वीकार गर्दै ती बनावटी र कपोकल्पित भएको दाबी गरेको छ ।
  • उत्तर कोरियाको विदेश मन्त्रालयका प्रवक्ताले अमेरिकाले अस्तित्वमै नभएको साइबर खतराको गलत प्रचार गरेर आफ्ना राजनीतिक उद्देश्य पूरा गर्न खोजेको र यसलाई देशको छवि बिगार्ने बदनाम अभियान भनेका छन् ।
  • अमेरिकाले लामो समयदेखि उत्तर कोरियामाथि राज्य-समर्थित साइबर गतिविधिमा संलग्न रहेको आरोप लगाउँदै आएको छ, जसमा ह्याकिङ, क्रिप्टोकरेन्सी चोरी र विदेशमा रहेका आईटी कामदारहरूको नेटवर्कमार्फत आम्दानी जुटाएर हतियार कार्यक्रमलाई सहयोग गर्ने कार्य समावेश छ ।

प्योङयाङ । उत्तर कोरियाले आफूविरुद्ध लगाइएका अमेरिकी ‘साइबर खतरा’ सम्बन्धी आरोपहरूलाई अस्वीकार गरेको छ । ती आरोप बनावटी र कपोकल्पित  भएको दाबी गरेको छ । 

केसीएनएका अनुसार आइतबार उत्तर कोरियाको विदेश मन्त्रालयले यस्तो प्रतिक्रिया दिएको हो । अमेरिकाले अस्तित्वमै नभएको साइबर खतराको गलत प्रचार गरेर आफ्ना राजनीतिक उद्देश्य पूरा गर्न खोजेको आरोप मन्त्रालयका प्रवक्ताले लगाए । उनले यसलाई देशको छवि बिगार्ने हास्यास्पद बदनाम अभियान भने ।

आफ्ना राष्ट्रिय हितको रक्षा गर्न तथा साइबर क्षेत्रमा नागरिकहरूको अधिकार जोगाउन उत्तर कोरियाले आवश्यक सबै कदम चाल्ने चेतावनी प्रवक्ताले दिएका छन । अमेरिकी अधिकारीहरूले भने लामो समयदेखि उत्तर कोरियामाथि राज्य(समर्थित साइबर गतिविधिमा संलग्न रहेको आरोप लगाउँदै आएका छन । 

ती गतिविधिमा ह्याकिङ, क्रिप्टोकरेन्सी चोरी तथा विदेशमा रहेका आईटी कामदारहरूको नेटवर्कमार्फत आम्दानी जुटाएर हतियार कार्यक्रमलाई सहयोग गर्ने कार्य समावेश रहेको बताइएको छ ।

मार्च महिनामा अमेरिकी अर्थमन्त्रालयले उत्तर कोरियाली आईटी नेटवर्कसँग सम्बन्धित ६ जना व्यक्ति र २ संस्थामाथि प्रतिबन्ध लगाएको थियो । अमेरिकाका अनुसार ती व्यक्तिहरूले डिजिटल सम्पत्तिमार्फत अवैध आम्दानी प्रवाह गर्न सहयोग गरेका थिए र यस्तो गतिविधि अझै जारी छ ।

यसअघि जुलाईमा पनि अमेरिकी विदेश मन्त्रालय र अर्थ मन्त्रालयले उत्तर कोरियाली साइबर अपरेटर र उनीहरूलाई सहयोग गर्ने विदेशी व्यक्तिहरूमाथि प्रतिबन्ध लगाएका थिए ।

अमेरिकाको दाबीअनुसार उत्तर कोरियाले हजारौँ आईटी कामदारहरू विदेशमा परिचालन गरी साइबर चोरीमार्फत मिसाइल र आणविक कार्यक्रमका लागि स्रोत जुटाउँदै आएको छ । यसैबीच एफबीआई र अमेरिकी न्याय मन्त्रालयले पनि उत्तर कोरियाली साइबर समूहहरू विश्वभरका सरकार, व्यवसाय र महत्वपूर्ण पूर्वाधारका लागि निरन्तर खतरा रहेको चेतावनी दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप