बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय
विज्ञका कुरा

कस्ता समस्या र कस्ता दम्पतीलाई आवश्यक पर्छ आईभीएफ ?

आइतबार, २० वैशाख २०८३, १३ : ५८
आइतबार, २० वैशाख २०८३

सारांश

  • आईभीएफ (इन भिट्रो फर्टिलाइजेसन) एक प्रविधि हो जसमा प्रयोगशालामा पुरुषको शुक्रकीट र महिलाको डिम्बको मिलन गराई भ्रूण तयार गरी महिलाको गर्भाशयमा राखिन्छ।
  • पुरुषमा शुक्रकीटको संख्या वा गतिशीलता कम भएमा, महिलामा अण्डा कम भएमा, वा पहिलाको आईभीएफ असफल भएमा यो प्रविधि आवश्यक पर्दछ।
  • नर्भिक आईभीएफ सेन्टरले अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उपचार सेवा प्रदान गर्दै अन्यत्र असफल भएका दम्पतीलाई पनि सफलता दिलाएको दाबी गरेको छ।

आईभीएफ भनेको ‘इन भिट्रो फर्टिलाइजेसन’ हो। महिलाको डिम्ब (अण्डा) र पुरुषको शुक्रकीटलाई प्रयोगशालामा मिलन गराई भ्रूण तयार गरी महिलाको गर्भाशयमा राख्ने प्रक्रिया नै आईभीएफ हो।

यसलाई चलनचल्तीमा कृत्रिम गर्भाधान प्रविधि पनि भनिन्छ। नेपालमा आईभीएफ भन्नेबित्तिकै ‘टेस्टट्युब बेबी’ बुझ्ने गरेको पाइन्छ, तर आईभीएफ पनि विभिन्न प्रकारको हुन्छ।

प्रयोगशालामा पुरुषको शुक्रकीटलाई महिलाको अण्डाको वरपर छाडेपछि आफैँ निषेचन (फर्टिलाइज) हुनुलाई ‘कन्भेन्सनल आईभीएफ’ भनिन्छ। यो आईभीएफ विधि महिलाको ट्युब (डिम्बवाहिनी नली) बन्द भएको अवस्थामा प्रयोग हुन्छ।

उच्च गुणस्तरको शुक्रकीट अण्डाभित्र सुईमार्फत राखेर भ्रूण तयार गर्ने विधिलाई ‘इन्ट्रासाइटोप्लाज्मिक स्पर्म इन्जेक्सन (आईसीएसआई)’ भनिन्छ। विशेषगरी पुरुषमा शुक्रकीटको सङ्ख्या र गतिशीलता कम भएको, पहिलाको आईभीएफ असफल भएको वा पुरुषमा निःसन्तानपनको समस्या भएको अवस्थामा यो विधिबाट आईभीएफ गरिन्छ।

आईभीएफको अर्को विधि हो, ‘फिजियोलोजिकल इन्ट्रासाइटोप्लाज्मिक स्पर्म इन्जेक्सन’ अर्थात् ‘पिक्सी’। यसमा पनि आईसीएसआईमा जस्तै गुणस्तरीय शुक्रकीट छानेर भ्रूण बनाइन्छ। शुक्रकीटमा कम गुणस्तर तथा क्रोमोसोमल डिफेक्ट (वंशाणुगत खराबी) हुने सम्भावना धेरै भएको अवस्थामा पिक्सी विधिबाट आईभीएफ गरिन्छ।

नेपालमा आईभीएफ भनेको एउटै अर्थमा मात्र बुझ्ने गरेको पाइन्छ। तर निःसन्तानपन भएका सबै दम्पतीको एउटै समस्या र एउटै प्रकृतिको उपचार हुँदैन, फरक–फरक हुन्छ।

  • कस्ता समस्यामा आईभीएफ आवश्यक पर्छ ?

नर्भिकमा हालै एक दम्पती आईभीएफ प्रक्रियाका लागि आउनुभएको थियो। श्रीमान्‌को शुक्रकीटको सङ्ख्या कम हुनुका साथै आकार र बनावट पनि असामान्य देखिएको थियो। यस्तै श्रीमतीको अण्डामा ‘एएमएच’ (AMH) लेभल कम भइसकेको अर्थात् अण्डा ५-६ वटा मात्र देखिएको अवस्था थियो। यस्तो अवस्थामा दम्पतीले समयमै आईभीएफ नगर्दा सन्तान नहुने सम्भावना उच्च रहन्छ। उहाँहरूलाई हामीले आईभीएफ प्रक्रियामार्फत उपचार सेवा दिएका छौँ।

दम्पतीले कुनै पनि परिवार नियोजनको साधन प्रयोग नगरी गर्भधारणको प्रयास गर्दा पनि गर्भधारण हुन नसक्नुलाई निःसन्तानपनको समस्या भएको मानिन्छ। ३५ वर्षभन्दा कम उमेरका महिलाको हकमा एक वर्षसम्ममा पनि गर्भ रहन सफल नभएको र ३५ वर्षभन्दा बढी उमेरका महिलामा ६ महिनाको योजनामा पनि गर्भधारण नभएमा आईभीएफ विशेषज्ञसँग परामर्श लिनुपर्ने हुन्छ।

महिलाको डिम्बाशयमा अण्डा कम छ, गर्भनली क्षतिग्रस्त भएको अवस्था छ वा दुवै नली कुनै कारणले काटिसकेको अवस्था छ भने तथा पुरुषको शुक्राणुको सङ्ख्या वा गतिशीलता कम छ, शुक्रकीटमा खराबी छ भने आईभीएफ प्रक्रियाबाट गर्भधारण गर्नुपर्ने हुन्छ।

महिलाले अण्डा उत्पादनको औषधि ६ पटकसम्म खानुका साथै आईयुआई (इन्ट्रायुटेरिन इन्सेमिनेसन) पनि ६ साइकलसम्म गरिसकेको अवस्थामा पनि गर्भधारण नभएकाहरूलाई आईभीएफ नै गरिन्छ। यस्तो अवस्थामा निःसन्तानपन विशेषज्ञसँग परामर्श र शारीरिक परीक्षण गरी समयमै आईभीएफ गराउनु उपयुक्त हुन्छ।

आईभीएफमा प्रयोग हुने इन्जेक्सनहरू पनि दम्पतीको समस्याअनुसार फरक हुन्छन्। आईभीएफ प्रक्रियामा भ्रूण बनाउनुअघि र भ्रूण बनाइसकेपछि प्रयोग हुने औषधि फरक हुन्छन्। भ्रूण बनाइसकेपछि महिलाको पाठेघरमा ३ वा ५, कति दिनमा प्रत्यारोपण गर्ने भन्ने कुरा पनि फरक हुन सक्छ। यस्तै पहिलाको बच्चामा कुनै वंशाणुगत समस्या (जेनेटिक डिफेक्ट) देखिएको थियो, अपाङ्गता भएको थियो र तीन–चार पटक गर्भ खेर गएको थियो भने ‘प्रि–जेनेटिक टेस्ट’ पनि गर्न मिल्छ।

  • अन्यत्र असफल भएका केस पनि नर्भिकमा सफल

नर्भिक आईभीएफ सेन्टर अन्य सेन्टरभन्दा विशेष छ। अन्यत्र आईभीएफ असफल भएका दम्पतीले नर्भिकमा आएपछि सफलता पाएका छन्। धेरै पटक असफलता भोगेकाहरूको सफल आईभीएफ गराउन सक्नु नै नर्भिक आइभीएफ सेन्टरको विशेषता हो।

हालै मात्र पनि दुई पटक आईभीएफ असफल भएका दम्पतीको आईभीएफ प्रक्रिया हामीले सफल बनाएका छौँ। नर्भिकको आईभीएफ प्रोटोकल अन्यत्रको भन्दा विशेष छ। हामीले अन्तर्राष्ट्रिय मापदण्डअनुसार उपचार सेवा दिँदै आएका छौँ। यसका लागि नर्भिकले हामीलाई अन्तर्राष्ट्रिय स्तरको सम्मेलन र तालिममा सहभागिताका लागि प्रेरित गरिरहेको हुन्छ। नर्भिकमा हामीले निःसन्तानपनको समस्या भोगेका सयौँ दम्पतीलाई आईभीएफ विधिबाट गर्भधारण गराउन सफल भएका छौँ।

(लेखक आईभीएफ स्पेसलिस्ट तथा स्त्री एवं प्रसूति रोग विशेषज्ञ हुन्। उनी नर्भिक आईभीएफ सेन्टरमा कार्यरत छिन्।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा. रंगिना लाइकंगबम
डा. रंगिना लाइकंगबम
लेखकबाट थप