आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

तमिलनाडुमा विजयले गरे सरकार गठनको दाबी, कांग्रेसको समर्थनपछि आक्रोशित डीएमकेले भन्यो ‘पिठ्युँमा छुरा हानियो’

बिहीबार, २४ वैशाख २०८३, ०७ : ४२
बिहीबार, २४ वैशाख २०८३

सारांश

  • अभिनेताबाट राजनीतिमा प्रवेश गरेका विजयले तमिलनाडुमा सरकार गठनको दाबी पेस गरेका छन्।
  • तमिलनाडु कांग्रेसले विजयको पार्टी टीभीकेलाई समर्थन गरेपछि सत्तारूढ डीएमकेले कांग्रेसमाथि 'पिठ्युँमा छुरा हानेको' आरोप लगाएको छ।
  • टीभीकेले १०८ सिट जितेको छ भने डीएमकेले ५९ सिटमा चित्त बुझाउनु परेको छ।

तमिलनाडु । तमिलनाडु विधानसभा निर्वाचनमा ठुलो उलटफेर गर्दै अभिनेताबाट राजनीतिमा प्रवेश गरेका विजयले राज्यपाललाई भेटेर सरकार गठनको दाबी पेस गरेका छन्।

तमिलनाडु कांग्रेस अध्यक्षले विजयको पार्टी तमिलगा वेत्री कडगम (टीभीके) लाई समर्थन गरेपछि सत्तारूढ द्रविड मुन्नेत्र कझगम (डीएमके) आक्रोशित बनेको छ। डीएमकेले कांग्रेसको यस कदमलाई ‘पिठ्युँमा छुरा हानेको’ संज्ञा दिएको छ।

मे ४ मा सार्वजनिक भएको पाँच राज्यको विधानसभा निर्वाचन परिणाममा तमिलनाडुमा विजयको पार्टी टीभीकेले इतिहास रचेको छ। उनको पार्टीले १०८ सिट जितेको छ, जुन बहुमतका लागि आवश्यक सङ्ख्याभन्दा मात्र १० सिट कम हो।

अर्कातर्फ, सत्तारूढ डीएमकेले नराम्रो पराजय भोग्दै ५९ सिट मात्रै हासिल गरेको छ भने एआईएडीएमकेले ४७ सिटमा चित्त बुझाएको छ। हिजो बुधबार विजयले राज्यपाल राजेन्द्र विश्वनाथ अर्लेकरलाई भेटेर विधायकहरूको समर्थन पत्र बुझाएका छन्।

यसैबिच, तमिलनाडु कांग्रेसले सरकार गठनका लागि टीभीकेले आधिकारिक रूपमा आफूहरूसँग समर्थन मागेको खुलासा गरेको छ। यस निर्वाचनमा कांग्रेसले ५ सिटमा जित हासिल गरेको छ। तमिलनाडु कांग्रेसका अध्यक्ष सेल्भापेरुन्थगाई के. ले आफूहरूले विजयको पार्टीलाई समर्थन पत्र सुम्पिसकेको र यो पार्टी हाई कमान्डको निर्णय भएको स्पष्ट पारेका छन्।

कांग्रेसको यो निर्णयलाई राजनीतिक वृत्तमा निकै अचम्मको रूपमा हेरिएको छ। कांग्रेस अहिलेसम्म तमिलनाडुमा डीएमकेको सबैभन्दा बलियो र भरपर्दो साझेदारका रूपमा रहँदै आएको थियो। यी दुई दलले राज्यदेखि केन्द्र तहसम्मको निर्वाचन सँगै लड्दै आएका थिए र हालैको विधानसभा निर्वाचन पनि उनीहरूले गठबन्धन गरेरै लडेका थिए।

कांग्रेसले टीभीकेलाई समर्थन गर्ने संकेत गरेसँगै डीएमके खुलेरै कांग्रेसको विरोधमा उत्रिएको छ। वर्षौँदेखिको आफ्नो राष्ट्रिय सहयोगीले आफूहरूलाई धोका दिएको डीएमकेको आरोप छ।

समाचार एजेन्सी पीटीआईसँग कुरा गर्दै डीएमकेका प्रवक्ता सर्वनन अन्नादुरईले भनेका छन्, ‘कांग्रेस पार्टीले टीभीकेसँग गठबन्धन गर्ने र उसलाई समर्थन गर्ने निर्णय गरेको छ। मलाई लाग्छ उनीहरूले हाम्रो पिठ्युँमा छुरा हानेका छन्।’

डीएमकेले कांग्रेसमाथि तमिलनाडुका जनतासँग विश्वासघात गरेको आरोप समेत लगाएको छ। निर्वाचन अधिकृतले विजयी भएको प्रमाण पत्रमा गरेको हस्ताक्षरको मसी सुक्न नपाउँदै कांग्रेसले अर्को पार्टीसँग गठबन्धन गर्ने निर्णय गरेकोमा डीएमकेले कडा आपत्ति जनाएको छ। डीएमके प्रवक्ताले आफूहरूले हरेक कदममा कांग्रेसलाई साथ दिएको र आफ्ना नेता एमके स्टालिनले नै राहुल गान्धीलाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारेको स्मरण गराएका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप