जेनजी आन्दोलनको आडमा कारागार तोडफोड : ५३० जना अझै सम्पर्कविहीन, सुरक्षा संयन्त्रमाथि प्रश्न
सारांश
- जेनजी आन्दोलनको अव्यवस्थाको फाइदा उठाउँदै लुम्बिनी प्रदेशका विभिन्न कारागारबाट १ हजार ५६९ जना कैदी फरार भएका थिए, जसमध्ये ५३० जना अझै सम्पर्कविहीन छन्।
- फरारमध्ये अधिकांश गम्भीर फौजदारी मुद्दामा दोषी ठहर भएका कैदीहरू छन्, जसमा कर्तव्य ज्यान, मानव बेचबिखन र जन्मकैद सजाय भोगिरहेका बन्दीहरू समावेश छन्।
- लुम्बिनी प्रदेशका कारागारबाट फरार भएका भारतीय नागरिकहरू पुनः भारत पुगेको आशंका गरिएको छ, जसले गर्दा नेपाल र भारतका सुरक्षा निकायबीच समन्वय बढाइएको छ।
बुटवल । प्रतापपुर गाउँपालिका–८, नवलपरासीका रामप्रवेश मल्लाह कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भई २०८० सालदेखि कारागारमा थिए। अदालतले उनलाई २१०५ साल असार २३ गतेसम्म कैद सजाय तोकेको थियो।
तर लामो सजाय भुक्तान गर्नुपर्ने अवस्थामै उनी २०८२ साल भदौ महिनामा भएको जेनजी आन्दोलनको अव्यवस्थाबिच कारागारबाट फरार भए।
नवलपरासीकै बर्दघाट नगरपालिका–८ का शेरबहादुर बोहोरा पनि कर्तव्य ज्यान मुद्दामै कैद सजाय काटिरहेका थिए। २०७९ साल फागुन २४ गतेदेखि कारागारमा रहेका बोहोरालाई अदालतले २१०४ साल फागुन २४ गतेसम्म कैद बस्नुपर्ने फैसला गरेको थियो। तर आन्दोलनको क्रममा उनी पनि फरार बने।
रामग्राम नगरपालिका निवासी रामप्रसाद चौधरी र सुस्ता गाउँपालिका–२ का रामबहादुर पावे थारू पनि कर्तव्य ज्यान मुद्दाका कैदी थिए। वर्षौँदेखि कारागारमा सजाय भुक्तान गरिरहेका उनीहरू समेत जेनजी आन्दोलनका क्रममा भाग्न सफल भएका थिए।
घटना केवल नवलपरासीमा सीमित रहेन। कपिलवस्तु कारागारबाट समेत कर्तव्य ज्यान र मानव बेचबिखन मुद्दाका कैदी फरार भए। त्रिवेणीप्रसाद चौधरीले कपिलवस्तु कारागारमा २० वर्ष कैद सजायमध्ये ६ वर्ष बिताइसकेका थिए। बाँकी १४ वर्ष सजाय अवधि रहँदै उनी फरार भएका हुन्।
यही कारागारमा नसिम खान उर्फ ‘बादशाह’, साकिर अली परियार र ओमप्रकाश यादवजस्ता जन्मकैद सजाय भोगिरहेका कैदी अझै पक्राउ पर्न सकेका छैनन्।

प्रदेश प्रहरी कार्यालय दाङको तथ्याङ्कअनुसार लुम्बिनी प्रदेशका ६ वटा कारागार तथा बालसुधार गृहबाट जेनजी आन्दोलनको क्रममा कुल १ हजार ५६९ जना फरार भएका थिए। तीमध्ये ३९५ जना पक्राउ परिसकेका छन् भने ६०२ जना आफैँ सम्पर्कमा आएका थिए। ४२ जना अन्य कारागारमा हाजिर भएका छन्। तर पछिल्लो विवरण (वैशाख २१ गतेसम्म) अनुसार ५३० जना अझै फरारकै सूचीमा रहेका छन्।
प्रदेश प्रहरी कार्यालय दाङका अनुसार फरारमध्ये अधिकांश गम्भीर आपराधिक मुद्दामा दोषी ठहर भएका कैदी रहेका छन्। कर्तव्य ज्यान, मानव बेचबिखन तथा जन्मकैद सजाय भोगिरहेका बन्दी कारागारबाट भाग्न सफल हुनु सुरक्षा संयन्त्रकै कमजोरीको सङ्केत भएको जानकारहरूको भनाइ छ।
- कुन कारागारमा कस्तो छ अवस्था ?

सबैभन्दा धेरै फरारको घटना नवलपरासीस्थित प्रदेश कारागारमा भएको छ। उक्त कारागारबाट ५४६ जना बन्दी फरार भएका थिए। प्रहरीको पछिल्लो तथ्याङ्कअनुसार २७२ जनालाई पुनः पक्राउ गरिएको छ भने ७ जना अन्यत्र हाजिर भएका छन्। तर अझै १७५ जना सम्पर्कविहीन अवस्थामा रहेका छन्।
कपिलवस्तु कारागारबाट ४३० जना फरार भएकामध्ये १८९ जना पक्राउ परिसकेका छन्। त्यहाँ अझै ११४ जना फरार रहेको प्रहरीले जनाएको छ।
दाङको तुलसीपुर कारागारबाट २५३ जना बन्दी भागेका थिए। तीमध्ये ६८ जनालाई मात्रै पुनः नियन्त्रणमा लिन सकिएको छ। २१ जना अन्यत्र हाजिर भए पनि अझै ६७ जना फरार अवस्थामै छन्।

बाँकेको नौबस्ता कारागारबाट फरार भएका १४७ जनामध्ये ९२ जना अझै पक्राउ पर्न सकेका छैनन्। त्यस्तै नौबस्ता बालसुधार गृहबाट फरार भएका ७८ जनामध्ये ३३ जना बाहिरै रहेका छन्।
यस्तै बाँकेको हिरमिनिया बालसुधार गृहबाट फरार भएका ११५ जनामध्ये ४९ जना अझै सम्पर्कमा नआएको तथ्याङ्कमा उल्लेख छ।
- भारतीय अपराधी पुनः भारत पुगेको आशङ्का
जेनजी आन्दोलनका क्रममा विभिन्न कारागारबाट फरार भएका कैदीबन्दीमध्ये भारतीय नागरिकहरू पुनः भारत पुगेको आशङ्का गरिएको छ। विशेषगरी लुम्बिनी प्रदेशमा नवलपरासी र कपिलवस्तु कारागारबाट भागेका भारतीय बन्दीहरू भारततर्फ लुकेर बसेको प्रहरीको प्रारम्भिक निष्कर्ष छ।
भारतको महाराजगन्ज निवासी कमलेन रौनियार मानव बेचबिखन मुद्दामा दोषी ठहर भई कपिलवस्तु कारागारमा कैद भुक्तान गरिरहेका थिए। कारागार तोडफोड र आन्दोलनको अव्यवस्थित अवस्थाको फाइदा उठाउँदै उनी फरार भएका थिए।
प्रहरी स्रोतका अनुसार रौनियार हाल भारतमै लुकेर बसेको आशङ्का गरिएको छ। त्यस्तै, नवलपरासी कारागारबाट फरार भएकामध्ये ठुलो सङ्ख्यामा भारतीय नागरिक रहेको र उनीहरू भारत पुगेको हुनसक्ने अनुमान गरिएको छ। कारागार प्रशासन नवलपरासीका नायब सुब्बा किरण अर्यालका अनुसार अझै ३८ जना भारतीय नागरिक फरार अवस्थामै रहेका छन्।
कपिलवस्तु कारागारबाट पनि जेनजी आन्दोलनका क्रममा २३ जना भारतीय कैदी फरार भएका थिए। तीमध्ये १३ जना अझै प्रहरी नियन्त्रणमा आउन बाँकी रहेको जनाइएको छ।
प्रहरीका अनुसार लागूऔषध, बलात्कार, हत्यालगायत गम्भीर अपराधमा सजाय भोगिरहेका भारतीय नागरिकहरू अझै सम्पर्कविहीन छन्। खुला सीमाको फाइदा उठाउँदै उनीहरू भारततर्फ गएको हुनसक्ने आकलन गरिएको छ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रवक्ता एवं एसएसपी शारदाप्रसाद चौधरीले भारतसँगको खुला सीमा र त्यहाँका ठूला सहरहरूमा लुकेर बस्न सहज हुने भएकाले फरार बन्दीहरू भारत पुगेको हुनसक्ने बताए। उनका अनुसार सीमावर्ती क्षेत्रमा नेपाल र भारतीय सुरक्षा निकायबीच समन्वय बढाइएको छ।
उनले भारतीय प्रहरीको सहयोगमा केही फरार व्यक्तिलाई पुनः पक्राउ गर्न सफल भएको जानकारी दिँदै खोजी अभियान अझै जारी रहेको बताए। ‘भारतीय प्रहरीसँग निरन्तर समन्वय भइरहेको छ। नेपाल प्रहरीले आफ्नो तर्फबाट पनि खोजतलास र पक्राउ अभियानलाई तीव्र बनाएको छ,’ उनले भने।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३ वर्ष कैद भुक्तान गरेका इन्द्रजित राई अब २ महिना १३ दिन मात्र जेल बस्नुपर्ने
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा यी प्रतिवादीलाई सर्वाधिक ४ वर्ष जेल
-
ठगी आरोपमा सौर्य सहकारीका सञ्चालक पक्राउ
-
बेचन झालाई नक्कली भुटानी शरणार्थी प्रकरणमा १ वर्ष जेल सजाय
-
नेपाल टेलिकमका पूर्वप्रबन्धक सुनिल पौडेल दोषी ठहर, साढे २ वर्ष कैद सजाय
-
टेकनाथ रिजाललाई नक्कली भुटानी शरणार्थी प्रकरणमा दुई वर्ष जेल सजाय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण