बिहीबार, १८ असार २०८३
ताजा लोकप्रिय
मुख्यमन्त्रीलाई दबाब

सुदूरपश्चिममा सासंदहरू भन्छन्– मन्त्री फेरबदल हुनुपर्छ

मुख्यमन्त्री भन्छन्–बजेट बनाउने बेलामा सम्भव छैन
सोमबार, २८ वैशाख २०८३, १७ : ४०
सोमबार, २८ वैशाख २०८३

सारांश

  • सुदूरपश्चिम सरकारमा मन्त्री फेरबदल गर्नुपर्ने माग सत्तारुढ नेपाली कांग्रेसका सांसदहरूले उठाएका छन् ।
  • कांग्रेस र एमालेको गठबन्धन सरकार भएकाले मन्त्री फेरबदलका लागि केन्द्रमा पनि सल्लाह गर्नुपर्ने अवस्था छ ।
  • केन्द्रले आगामी बजेटपछि कार्यसम्पादनका आधारमा मन्त्री फेर्ने रणनीति लिएको छ, तर मुख्यमन्त्रीले भने हल्ला मात्रै बताएका छन् ।

धनगढी । सुदूरपश्चिम सरकारमा मन्त्री फेरबदल गर्नुपर्ने कुरा उठेको छ । सत्तारुढ नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशका सासंदहरूले नै मन्त्री परिवर्तनको माग गरिरहेका छन् । 

हाल सुदूरपश्चिममा नेपाली कांग्रेसका कमल बहादुर शाहले सरकारको नेतृत्व गरिरहेका छन् । एमाले र कांग्रेसको सहमतिअनुसार मन्त्रालयहरू बाँडिएका छन् । जसमा आर्थिक मामिला मन्त्री कांग्रेसबाट बहादुर सिंह थापा छन् । यस्तै सामाजिक विकास मन्त्री कांग्रेसकै मेघराज खडका छन् ।

उद्योग पर्यटन वन तथा वातावरण मन्त्री कांग्रेसकै शिवराज भट्ट छन् । एमालेबाट भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र बहादुर पाल, आन्तरिक मामलिा तथा कानुन मन्त्री हिरा सार्की रहेका छन् । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विरबहादुर थापा रहेका छन् । त्यस्तै, तीनजना राज्यमन्त्रीहरू पनि सरकारमा सामेल छन् । जसमा सामाजिक विकास राज्यमन्त्री कांग्रेसकी सरस्वती खड्का, आर्थिक मामिला राज्यमन्त्री कांग्रेसकै प्रकाश बम र भौतिक पूर्वाधार विकास राज्यमन्त्ती एमालेकी निर्मलादेवी साउँद रहेकी छन् । 

सुदूरपश्चिम सरकारमा रहेको टिमलाई लिएर सत्तारुढ दलभित्रै ठूलो असन्तुष्टि चुलिएको छ । नेपाली कांग्रेसका प्रमुख सचेतक विक्रम सिंह धामीका अनुसार संसदीय दलको बैठकमा मन्त्री फेरबदलको विषयले प्राथमिकता पाएको छ । ‘मन्त्रीहरू फेर्नुपर्छ भन्ने कुरा उठेको छ । यो विषयमा केन्द्रका नेताहरूसँग पनि छलफल भएको छ । तर, यो दुई दलको कांग्रेस–एमाले गठबन्धन सरकार भएकाले हामीले मात्रै चाहेर हुँदैन । काठमाडौँमा एमालेसँग पनि सल्लाह गर्नुपर्ने हुन्छ,’ उनले भने । 

उनका अनुसार मन्त्री फेर्ने तयारी त छ । त्यसको निर्णय केन्द्रबाट हुने छ । 

पार्टीका सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मालगायत नेताहरूको सहभागितामा दुई दिनअघि धनगढीमा भएको भेलामा प्रदेश सांसदहरूले मुख्यमन्त्री परिवर्तनभन्दा पनि मन्त्रीहरूको आलोपालोमा बढी जोड दिएका थिए । 

कतिपय सासंदले मन्त्री फेरबदल गर्नुपर्ने माग राखेका थिए भने केही सासंदले मुख्यमन्त्री नै परिवर्तन गर्नुपर्ने बताएका थिए । सो भेलामा सांसद गीता चौधरीले थारू समुदायको प्रतिनिधित्व हुनुपर्ने अडान राखेकी थिइन् । 

यस्तै सो भेलाको छलफलमा सासंद दिवान सिंह विष्टले मुख्यमन्त्रीको कार्यशैलीप्रति नै प्रश्न उठाएका थिए । मन्त्री बन्ने दौडमा मानबहादुर रावल, डम्मरी महरा, पदमबहादुर शाही र तुल्सी देवकोटा रहेको चर्चा छ ।
‘सबैले पालैपालो सरकारको अनुभव र जनताको सेवा गर्न पाउनुपर्छ,’ उनीहरूको भनाइ थियो । उक्त भेलामा सबैका कुरा सुनेपछि सभापति गगन थापाले भने तत्कालै सरकार नढल्ने संकेत गरेका थिए । 

कम्तीमा आगामी बजेट नआउन्जेल मन्त्रिपरिषद्मा ठुलो हेरफेर नगर्ने र बजेटपछि कार्यसम्पादनका आधारमा मन्त्री फेर्ने रणनीतिमा केन्द्र रहेको देखिन्छ । सरकार र मन्त्री परिवर्तनको विषयमा केन्द्रको निर्णयको पर्खाइमा आफूहरू रहेको सासंदहरूको भनाइ छ । 

आगामी आर्थिक वर्षको बजेट ल्याउने काममा अहिले सुदूरपश्चिम सरकार व्यस्त छ । यो बेला सरकार र सरकारमा रहेका मन्त्री परिवर्तन हुने सम्भवाना निकै कम रहेको मुख्यमन्त्री कमलबहादुर शाहले बताएका छन् ।
‘यो बेला मन्त्री परिवर्तन हुने, सरकार परिवर्तन हुने भन्ने हल्ला मात्रै हो,’ शाहले भने ।

यो पनि 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप