मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

जेनजी आन्दोलनको मौका छोपी कारागारबाट फरार कर्तव्य ज्यान मुद्दाका कैदी पक्राउ

मङ्गलबार, २९ वैशाख २०८३, ०१ : ३५
मङ्गलबार, २९ वैशाख २०८३

सारांश

  • कर्तव्य ज्यान मुद्दामा आजीवन कैद सजाय काटिरहेका एक कैदी नौ महिनापछि काठमाडौंबाट पक्राउ परेका छन् ।
  • गत साल भदौमा भएको जेनजी आन्दोलनको फाइदा उठाउँदै कास्की कारागारबाट फरार भएका खोटाङका ३३ वर्षीय उमेश राईलाई केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले नियन्त्रणमा लिएको हो ।
  • पक्राउ परेका राईलाई बाँकी कैद भुक्तान र थप कानुनी कारबाहीका लागि कारागार कार्यालय जगन्नाथदेवल, सुन्धारामा बुझाइएको छ ।

काठमाडौँ । कर्तव्य ज्यान मुद्दामा आजीवन कैद सजाय काटिरहेका एक कैदी करिब नौ महिनापछि काठमाडौंबाट पक्राउ परेका छन् । गत साल भदौमा भएको जेनजी आन्दोलनको फाइदा उठाउँदै कास्की कारागारबाट फरार भएका खोटाङका ३३ वर्षीय उमेश राईलाई केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले नियन्त्रणमा लिएको हो।

जिल्ला खोटाङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं. १२ घर भई हाल काठमाडौंको गोकर्णेश्वर नगरपालिका वडा नं. २, बोमथली बस्ने राईलाई ब्युरोको विशेष टोलीले सोमबार सोही स्थानबाट पक्राउ गरेको हो ।

राईलाई कर्तव्य ज्यान मुद्दामा २०८१ मङ्सिर २७ गते पक्राउ गरिएको थियो । सोही वर्षको पुस २५ गतेदेखि उनलाई कारागार कार्यालय कास्कीमा थुनामा राखिएको थियो । उनलाई कास्की जिल्ला अदालतले २०८१ फागुन २६ गतेको फैसलामार्फत आजीवन कैद सजाय सुनाएको थियो ।

तर, गत भदौमा देशव्यापी रूपमा जेनजी आन्दोलन चर्किएको बेला सोही भिडभाड र अस्थिरताको फाइदा उठाउँदै उनी कारागारबाट फरार हुन सफल भएका थिए । फरार भएपछि राई काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा लुकिछिपी बस्दै आएका थिए ।

लामो समयको खोजीपछि ब्युरोले उनलाई गोकर्णेश्वरबाट फेला पारेको हो । पक्राउ परेका राईलाई बाँकी कैद भुक्तान र थप कानुनी कारबाहीका लागि कारागार कार्यालय जगन्नाथदेवल, सुन्धारामा बुझाइएको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप