सोमबार, ०४ साउन २०८३
ताजा लोकप्रिय

यातायात महासंघको नयाँ नेतृत्वका लागि सिटौला र केसीबिच प्रतिस्पर्धा, मतदान जारी

बुधबार, ३० वैशाख २०८३, ११ : ३८
बुधबार, ३० वैशाख २०८३

सारांश

  • नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको नयाँ नेतृत्व चयनका लागि पोखरामा मतदान प्रक्रिया सुरु भएको छ।
  • आगामी तीन वर्षको कार्यकालका लागि नयाँ कार्यसमिति चयन गर्न देशभरका १ हजार ५ सयभन्दा बढी प्रतिनिधिहरूले विद्युतीय मतदान मेसिन (ईभीएम) प्रयोग गरी मतदान गर्दैछन्।
  • केन्द्रीय अध्यक्ष पदका लागि पुण्यप्रसाद सिटौला र हरिशरण केसी मुख्य प्रतिस्पर्धी हुन्, जसमध्ये सिटौलाले यातायात क्षेत्रलाई आधुनिक र प्रविधिमैत्री बनाउने एजेण्डा अघि सारेका छन्।

काठमाडौँ । नेपाल देशभरका यातायात व्यवसायीहरूको छाता संगठन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको नयाँ नेतृत्व चयनका लागि पोखरामा मतदान प्रक्रिया सुरु भएको छ। 

महासंघको सातौँ राष्ट्रिय महाधिवेशन अन्तर्गत बुधबार बिहान ७ बजेदेखि मतदान कार्य प्रारम्भ भएको हो। 

आगामी तीन वर्षको कार्यकालका लागि नयाँ कार्यसमिति चयन गर्न देशभरका १ हजार ५ सयभन्दा बढी प्रतिनिधिहरूले मतदान प्रक्रियामा सहभागिता जनाउँदैछन्। मतदान प्रक्रियालाई सहज, छिटो र पारदर्शी बनाउन यसपटक विद्युतीय मतदान मेसिन (ईभीएम) को प्रयोग गरिएको छ।

महासंघको केन्द्रिय अध्यक्ष पदका लागि पुण्यप्रसाद सिटौला र हरिशरण केसी मुख्य प्रतिस्पर्धीका रूपमा चुनावी मैदानमा उत्रिएका छन्। अध्यक्षका उम्मेदवार सिटौला महासंघको वर्तमान कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष हुन् भने उनी यसअघि वि.सं. २०७९ को गोदावरी महाधिवेशनबाट अत्यधिक मतका साथ निर्वाचित भएका थिए। 

सिटौलाको उम्मेदवारीलाई महासंघका बहालवाला अध्यक्ष विजयबहादुर स्वाँरले प्रस्ताव गरेका छन् भने निवर्तमान अध्यक्ष एवं प्रमुख सल्लाहकार योगेन्द्रनाथ कर्माचार्यले समर्थन गरेका छन्। मतदानका क्रममा सञ्चारकर्मीहरूसँग बोल्दै अध्यक्षका उम्मेदवार सिटौलाले सार्वजनिक यातायात क्षेत्रलाई आधुनिक र प्रविधिमैत्री बनाउनु आफ्नो मुख्य एजेण्डा रहेको बताए। 

उनले आफ्नो नेतृत्वमा सार्वजनिक यातायातको गुरुयोजना कार्यान्वयन गरिने र भौगोलिक अवस्थाअनुसार सवारी साधनको व्यवस्थापन गरिने दाबी गरे। सिटौलाले वर्तमान बीमा नीतिले घाइतेको उपचार खर्च धान्न नसक्ने उल्लेख गर्दै यसमा आमूल परिवर्तनका लागि सरकारसँग पहल गर्ने प्रतिबद्धता समेत व्यक्त गरे।

सिटौलाले भने, ‘अबको सार्वजनिक यातायात परम्परागत ढर्राबाट चल्न सक्दैन। हामीले जीपीएस सिस्टम, अनलाइन टिकेटिङ र क्यासलेस भुक्तानी प्रणालीलाई अनिवार्य कार्यान्वयनमा लैजानुपर्छ। उपत्यका, पोखरा जस्ता सहरहरू र लामो तथा मध्यम दूरीका सडकका लागि फरक–फरक यातायात मोडालिटी आवश्यक छ। ठूला सडकमा १०० देखि १५० यात्रु बोक्ने ठूला सवारी चलाउने र साना सडकमा सोही अनुसारको व्यवस्थापन गर्ने खाका हामीसँग छ।’

यसका साथै उनले यातायात व्यवसायी र मजदुरहरूको सामाजिक सुरक्षा सुनिश्चित गर्नु आफ्नो प्राथमिकता रहेको बताए। सरकारद्वारा गठित विभिन्न आयोगका प्रतिवेदनहरू अध्ययन गरी तिनको कार्यान्वयनका लागि वर्तमान सरकारसँग समन्वय गर्ने र काठमाडौँ उपत्यकाको ट्राफिक जामलाई वैज्ञानिक सडक व्यवस्थापनमार्फत न्यूनीकरण गर्ने योजना पनि उनले अघि सारेका छन्। 

गत आइतबारदेखि सुरु भएको यस महाधिवेशनले आगामी तीन वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्दै समापन हुनेछ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप