बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

फेटा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष रास्वपाको महाधिवेशन प्रतिनिधि

बुधबार, ३० वैशाख २०८३, १६ : ४६
बुधबार, ३० वैशाख २०८३

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनमा बाराको फेटा गाउँपालिकाका अध्यक्ष रुस्तम अन्सारी र उपाध्यक्ष निलम साह प्रतिनिधि बन्ने भएका छन् ।
  • रास्वपाको विधान अनुसार पार्टीबाट निर्वाचित स्थानीय तहका प्रमुख र उपप्रमुख महाधिवेशन प्रतिनिधि रहने व्यवस्था छ ।
  • अन्सारी र साह विवेकशील साझा पार्टीबाट निर्वाचित भएका थिए, जसले रास्वपासँग एकता गरेको थियो ।

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को असारमा हुने प्रथम राष्ट्रिय महाधिवेशनमा प्रतिनिधिको रुपमा स्थानीय तहका दुई जना प्रतिनिधि सहभागी हुने भएका छन् ।

 असार ७–९ सम्म चितवनमा हुने महाधिवेशनमा बारा जिल्लाको फेटा गाउँपालिका अध्यक्ष रुस्तम अन्सारी र उपाध्यक्ष निलम साह महाधिवेशनको प्रतिनिधिका रुपमा सहभागी हुने भएका हुन् । 

बुधबार बिहान बसेको रास्वपाको केन्द्रीय समिति बैठकले महामन्त्री कवीन्द्र बुर्लाकोटीले पेस गरेको महाधिवेशन कार्यविधि, २०८३ अनुमोदन गरेको थियो । 

कार्यविधि अनुसार रास्वपाबाट निर्वाचित स्थानीय तहका प्रमुख र उपप्रमुख महाधिवेशन प्रतिनिधि रहने उल्लेख छ । २०७९ सालमा भएको स्थानीय तहको निर्वाचनमा अन्सारी र साह विवेकशील साझाबाट निर्वाचित भएका थिए ।

 विवेकशील साझाले रास्वपासँग पार्टी एकता गरेकाले उनीहरू महाधिवेशनमा सहभागी हुन पाएका हुन् । रास्वपाका नेता प्रकाशचन्द्र परियारले फेटा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष महाधिवेशनमा सहभागी हुने जानकारी दिए ।

‘राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित एउटा मात्रै पालिका फेटा गाउँपालिका छ । उहाँहरु पनि स्वत महाधिवेशन प्रतिनिधि हुनुहुन्छ’, परियारले भने ।

रास्वपाको विधान २०७९(संशोधन २०८१)को धारा २३(त)मा पार्टीबाट निर्वाचित स्थानीय तहका प्रमुख र उपप्रमुख महाधिवेशन प्रतिनिधि बन्ने उल्लेख छ । २०७९ सालको स्थानीय तह निर्वाचनमा रास्वपा पार्टी नै गठन भएको थिएन । रास्वपाको स्थापना असार ७ गते भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप