शनिबार, २० असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नुवाकोटमा दुई दाजुभाइ मृत्यु प्रकरण : फोनमार्फत प्रहरीले पाएको थियो 'हत्या'को सूचना

बुधबार, ३० वैशाख २०८३, २० : ४२
बुधबार, ३० वैशाख २०८३

नुवाकोट । नुवाकोटको म्यागङ गाउँपालिका–४ किम्ताङमा दुई दाजुभाइको शव फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायब उपरीक्षक बिक्रम लामाका अनुसार किम्ताङबेँसी निवासी ४३ वर्षीय सोमनाथ तामाङ र उनका भाइ ३६ वर्षीय सूर्यमान तामाङ मृत फेला परेका हुन् । उनीहरूको शव किम्ताङ खोलामा ढुङ्गाले थिचेर लुकाइएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार एक व्यक्तिले गएराति फोनमार्फत आफूले हत्या गरेको जानकारी दिँदै घटनास्थलसम्बन्धी सूचना दिएका थिए । सोही सूचनाका आधारमा खोजतलास गर्दा शव फेला परेको हो । तर फोन गर्ने व्यक्ति फरार छन् । 

“आर्थिक लेनदेनको विवादका कारण हत्या गरेर आफू फरार भएको भन्ने जानकारी आएको छ,” प्रहरी नायब उपरीक्षक लामाले भने, “घटनामा संलग्न व्यक्तिको खोजी भइरहेको छ । पक्राउपछि थप विवरण खुल्नेछ ।”

फोन गर्ने व्यक्तिले गोली प्रहार गरेर हत्या गरेको दाबी गरे पनि घटनास्थलबाट प्रहरीले एक थान खुकुरी बरामद गरेको छ ।

परिवारका सदस्यका अनुसार दुवै दाजुभाइ मङ्गलबार बिहान कुलो निर्माणको काममा जाने भन्दै घरबाट निस्किएका थिए । त्यसपछि उनीहरू सम्पर्कविहीन भएका थिए ।

घटनास्थल सडकबाट करिब पाँच घण्टा पैदल दूरीमा रहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप