१२ बजे १२ समाचार : निगमका कर्मचारीको ओभरटाइम भत्ता काटियो, सुस्तामा थप सुरक्षाकर्मी परिचालन गर्न निर्देशन
सारांश
- सरकारले नेपाल आयल निगमका कर्मचारीको ओभरटाइम भत्ता कटौती गरेको छ।
- गृह मन्त्रालयले नवलपरासी पश्चिमको सुस्ता क्षेत्रमा थप सुरक्षाकर्मी परिचालन गर्न निर्देशन दिएको छ।
- शिक्षा तथा खेलकुदमन्त्रीले त्रिभुवन विश्वविद्यालयसहित विभिन्न विश्वविद्यालयका नवनियुक्त उपकुलपतिहरूलाई पद तथा गोपनीयताको शपथ गराएका छन्।
काठमाडौँ । आज मिति २०८३ साल असार महिनाको २० गते शुक्रबार । आज दिनभर भएका मुख्य मुख्य घटनाक्रम समेटेर रातोपाटीको नियमित प्रस्तुती रातोपाटी ब्रिफिङमा १२ बजे १२ समाचार लिएर हाजिर भएका छौँ–
१. आयल निगमका कर्मचारीलाई झट्का
सरकारले नेपाल आयल निगमका कर्मचारीले पाउँदै आएको ओभरटाइम भत्तामा कटौती गरेको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवको निर्देशनपछि तयार गरिएको ‘नेपाल आयल निगम लिमिटेड कर्मचारी प्रशासन (अठारौँ संशोधन) विनियमावली, २०८३’ मार्फत नयाँ व्यवस्था लागू गरिएको हो।
२. सुस्तामा थप सुरक्षाकर्मी परिचालन गर्न निर्देशन
गृह मन्त्रालयले नवलपरासी पश्चिमको सुस्ता क्षेत्रमा थप सुरक्षाकर्मी खटाउन जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ।
३.विश्वविद्यालयले पाए उपकुलपति
शिक्षा तथा खेलकुदमन्त्री तथा विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालयसहित विभिन्न विश्वविद्यालयका नवनियुक्त उपकुलपतिहरूलाई पद तथा गोपनीयताको शपथ गराएका छन्।
शुक्रबार मन्त्रालयमा नवनियुक्त उपकुलपतिहरूलाई मन्त्री पोखरेलले शपथ गराएका हुन्। प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले आजै त्रिभुवन विश्वविद्यालयसहित विभिन्न सात विश्वविद्यालयका उपकुलपति नियुक्त गरेका थिए।
विश्वविद्यालयका उपकुलपति छनोट तथा सिफारिस समितिद्वारा सिफारिस उम्मेदवारहरूमध्येबाट कुलपति शाहले उपकुलपतिहरू नियुक्त गरेका हुन्।
यसरी उपकुलपतिको पद तथा गोपनीयताको शपथ लिनेहरूमा क्रमशः त्रिभुवन विश्वविद्यालयमा प्रा.डा.भोला थापा, सुदूरपश्चिम विश्वविद्यालयमा किसन दत्त भट्ट, मध्यपश्चिम विश्वविद्यालयमा राजन सुवाल छन्।
त्यसैगरी, कृषि तथा वन विश्वविद्यालयमा ऋषिराम कट्टेल, राजर्षि जनक विश्वविद्यालयमा श्यामनारायण लाभ, पोखरा विश्वविद्यालयमा देवेन्द्र अधिकारी र पूर्वाञ्चल विश्वविद्यालयमा सुजन बाबु मरहट्टाले उपकुलपति पदको शपथ लिएका छन्।
४. बालेनको हनिमुन डेज
जेनजी आन्दोलनको बलमा भएको परिवर्तन र त्यसपछिको निर्वाचनमा झन्डै दुई तिहाई जनमतसहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले वालेन्द्र (बालेन) शाहको नेतृत्वमा एकल सरकार बनाएको सय दिन पूरा हुँदैछ ।
सामान्यतया सरकार बनेको सय दिनसम्म ‘हनिमुन डेज’का रूपमा लिँदै उसका कामबारे खासै टिप्पणी गरिँदैन । सय दिनपछि भने सरकारले गरेका कामका आधारमा समर्थन वा आलोचना हुने गरेका छन् ।
२०८२ चैत १३ गते बालेनको नेतृत्वमा सरकार गठन भएको थियो । सुशासन, पारदर्शिता र जबाफदेहितालाई प्राथमिकतामा राखेर गठन भएको शाह नेतृत्वको सरकारले सय दिनमा गर्ने कामको सूची सार्वजनिक गरिसकेको थियो ।
५.नेपाली कांग्रेस
नेपाली कांग्रेसभित्र देखिएको विवाद समाधानका लागि भइरहेको पहल पार्टीको विधानमा बाधा अड्काउ फुकाउने कि नफुकाउने भन्ने विषयमा अल्झिरहेको छ । पछिल्लो समय सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्मासँगको सहमतिमा पार्टीभित्रको आन्तरिक विवाद समाधानका लागि महामन्त्री गुरुराज घिमिरेले इतर समूहका नेताहरू निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का, नेता डा. शेखर कोइराला र कृष्णप्रसाद सिटौलासँग भेट गरेका थिए ।
महामन्त्री घिमिरेले असार १२ गते विराटनगरस्थित कोइराला निवासमा डा। कोइरालासँग, असार १६ गते खड्का र सिटौलालाई काठमाडौँमा उनीहरूकै निवासमा पुगेर भेटेका थिए ।
भेटमा डा. कोइराला, खड्का र सिटौलाले २०७८ मङ्सिरमा सम्पन्न पार्टीको १४औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका सबैलाई गत पुसमा सम्पन्न विशेष महाधिवेशनबाट चयन भएको केन्द्रीय समितिमा समाहित गर्नुपर्ने प्रस्ताव राखेको महामन्त्री घिमिरेले जानकारी दिए ।
आफूले १११ जनालाई केन्द्रीय समितिमा मनोनीत गर्न विधानले मिल्दैन भन्दा विधानको बाधा अड्काउ फुकाएर मिलाउन सकिन्छ भन्ने जवाफ पाएको घिमिरेले बताए ।
६. भट्ट र अधिकारीलाई जेल सारियो
कारागार कार्यालय डिल्लीबजारमा पुर्पक्षका लागी थुनामा रहेका व्यवसायी दीपक भट्ट र नागरिक उड्ययन प्राधिकरणका तत्कालीन महानिर्देशक प्रदीप अधिकारीलाई त्यहाँबाट सारिएको छ।
कारागार व्यवस्थापन विभागले शुक्रबार दुवै जनालाई डिल्लीबजारबाट स्थानान्तरण गर्ने निर्णय गरेको हो। विभागका एक जना अधिकृतका अनुसार भट्टलाई कारागार कार्यालय नख्खुमा स्थानान्तरण गरिएको छ। त्यस्तै अधिकारीलाई केन्द्रीय कारागार सुन्धारामा पठाइएको छ।
७.परिषद्को निर्णय
संवैधानिक परिषद्ले निर्वाचन आयोगको रिक्त प्रमुख निर्वाचन आयुक्तका साथै दुई आयुक्त सिफारिस गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री कार्यालय सिंहदरबारमा शुक्रबार बसेको परिषद् बैठकले आयोगको प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्कीलाई सिफारिस गरेको छ भने आयोगका रिक्त आयुक्त पदमा गुरुप्रसाद वाग्ले र राजिव सुब्बालाई सिफारिस गर्ने निर्णय गरेको हो।
८. बालेन सरकारबारे एमालेको समीक्षा
नेकपा एमालेले रास्वपा नेता बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारको १०० दिने कार्यकालको प्रारम्भिक धारणा सार्वजनिक गरेको छ । महासचिव शंकर पोखरेलले शुक्रबार जारी गरेको विज्ञप्तिमा शाह नेतृत्वको सरकार सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्णतः असफल देखिएको उल्लेख छ ।
‘प्रधानमन्त्री र मन्त्रीका निजी सचिवालयहरू नै आर्थिक स्वार्थ र भ्रष्टाचारका घटनाहरूमा खुलेआम जोडिएका प्रमाणहरू एकपछि अर्को गर्दै सार्वजनिक भइरहेका छन्’, एमालेले भनेको छ, ‘आफ्नो १०० बुँदे वाचापत्र र आम जनताको अपेक्षा अनुरूप काम गर्नुको साटो सस्तो चर्चा र विवादास्पद निर्णयहरूमा मात्रै सरकारको रुचि देखिएको छ ।’
९. बागमती विवाद
बागमती प्रदेश सरकारमा नेपाली कांग्रेसभित्रको कलह उत्कर्षमा पुगेको छ । कांग्रेसका बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ नेतृत्वको सरकारविरुद्ध कांग्रेसकै सहमहामन्त्री बहादुर सिंह लामा समूहले घेराबन्दी सुरु गरेको हो ।
बजेटमाथिको विवादलाई केन्द्रमा राखेर पूर्वमुख्यमन्त्री समेत रहेका लामा नेतृत्वको समूहले घेराबन्दी थालेको हो । लामा पक्षीय सांसदहरूले आफ्नै नेतृत्वको सरकारविरुद्ध घेराबन्दी गर्दै बजेट पारित हुन नदिने रणनीति अख्तियार गरेको देखिन्छ ।
यो पनि....
१०. सेयर बजार
साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक सामान्य अङ्क घटेर बन्द भएको छ। बुधवार र बिहीबारका दुई कारोबार दिन नेप्से बढेर बन्द भए पनि सामान्य अङ्कले घटेको छ ।
शुक्रबार नेप्से परिसूचक ८.३० अङ्क घटेर २ हजार ६५३.४० विन्दुमा झरेको छ । आज कारोबारमा आएका ३४५ कम्पनीको ८५ लाख ८४ हजार कित्ता शेयर ४ अर्ब ४१ करोड २३ लाख ४० हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ ।
११. स्वास्थ्य खबर
काठमाडौँ उपत्यकासहित देशभर एक सय स्थानमा बर्डफ्लुको सङ्क्रमण फैलिएपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सबैलाई सचेत रहन आग्रह गरेको छ । मन्त्रालयले बर्डफ्लु सङ्क्रमणबाट बच्न आवश्यक सतर्कता अपनाउँदै सुरक्षित रहन सबैलाई आग्रह गरेको हो ।
मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले काठमाडौँ उपत्यकासहित मुलुकका एक सय स्थानमा बर्डफ्लु फैलिएको भन्दै आवश्यक सतर्कता अपनाउन सबैलाई आग्रह गरे । उनका अनुसार सङ्क्रमित, बिरामी वा मरेका पन्छीसँग प्रत्यक्ष सम्पर्क हुनेगरी कामरगतिविधि नगर्न सरोकार भएका सबैलाई आग्रह गरिएको छ ।
१२. कोशीमा विवाद
नेपाली कांग्रेस र नेकपा एमालेको संसदीय दलमा दलका नेताहरू अल्पमतमा परिसकेपछि अन्ततः कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट (विनियोजन विधेयक)बारे छलफल सुरु नहुँदै समर्पण गर्ने घोषणा गरेको छ ।
असार ९ गते आर्थिक मामिला तथा योजना मन्त्री विदुरकुमार लिङ्थेपले विनियोजन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । त्यसयता बैठक अवरुद्ध भएको थियो । विवादका कारण ११ गतेको बैठक सूचना टाँसेर स्थगित भयो । त्यसपछि १६ गते र १८ गतेका लागि तय गरिएका बैठकहरू पनि बस्न सकेनन् ।
यो पनि...
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खेलमा फर्कियो अस्ट्रेलिया, इजिप्टसँग १-१ को बराबरी
-
असरको गोलमा इजिप्टको अग्रता, अब खेलमा फर्किन सक्ला अस्ट्रेलिया ?
-
मनसुनजन्य विपद् व्यवस्थापनका लागि १० हजार प्रहरी ‘स्ट्याण्डबाइ’
-
कुखुराको मासु र अण्डा राम्ररी पकाएर खाँदा बर्डफ्लुबाट पूर्ण सुरक्षित हुन सकिने
-
दमास्कसको चिया पसलमा भएको बम विस्फोटमा मृत्यु हुनेको सङ्ख्या नौ पुग्यो
-
इजिप्टले लियो सुरुवाती अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण