सार्वजनिक वृत्तका बौद्धिकको सङ्कट
सारांश
- नेपाली समाजमा सार्वजनिक सरोकारका विषयमा बौद्धिकहरूको चासो र चिन्ता अत्यन्तै न्यून छ ।
- आलोचनात्मक लेख प्रकाशित हुनासाथ तर्क, बहस र संवाद नभई गाली आउने र व्यक्तिगत आक्रमण हुने प्रवृत्ति बढेको छ ।
- ज्ञान निर्माणका केन्द्र मानिने विश्वविद्यालयको स्तर खस्कँदो छ र अनुसन्धानको संस्कृति कमजोर बन्दै गएको छ ।
नेपालको सार्वजनिक बहसमा बौद्धिकको चासो र चिन्ता अत्यन्तै न्यून छ । कुनै लेखक, पत्रकार, प्राध्यापक वा सार्वजनिक बौद्धिकले सार्वजनिक सरोकारका प्रश्न उठायो भने त्यस प्रश्नका बारेमा न्यून बहस हुन्छ तर व्यक्तिमाथिको आक्रमण भने तीव्र हुन्छ । हुन त विचारसँग तर्क गर्न सकेन भने समाज व्यक्तिमाथि क्रोधित हुन्छ । नेपाली समाज पनि यसै दिशातर्फ लम्की रहेको छ । समाज निरन्तर तर्कहीन र प्रश्नविहीन बनिरहेको छ । जुन समाज विचारलाई उत्तर दिन तयार छैन र विचारकलाई दण्डित गर्न उद्यत छ, त्यस समाजको भविष्य कता जाला ?
उदाहरणका रूपमा यसै हप्ता सेतोपाटीमा प्रकाशित पत्रकार नारायण वाग्लेको लेख र केही समय अगाडि कान्तिपुरमा प्रकाशित सिके लालको आलेखलाई लिन सकिन्छ । यी दुवै लेखकका लेखमा सत्ताको अहङ्कार तथा प्रधानमन्त्रीमा देखिएको शक्तिमदको आलोचना गरिएको थियो । यी र यस्तै आलोचनात्मक लेखको प्रकाशनपछि सामाजिक सञ्जाल र राजनीतिक वृत्तमा पनि प्रतिक्रिया देखिए ।
प्रतिक्रियाका विषयवस्तु र भाषा हेर्दा एउटा प्रश्न अनिवार्य रूपमा उठ्छ– नेपालमा विचारमाथि बहस गर्ने संस्कृति यति कमजोर किन छ ? किन आलोचनात्मक आलेख प्रकाशित हुनासाथ तर्क, बहस र संवाद नभएर गाली मात्र आउँछ ? किन लेखकले उठाएका प्रश्नको उत्तर खोजिन्न र उनका व्यक्तिगत विषयमाथि प्रश्न उठाइन्छ र आक्रमण गरिन्छ ? यी दुई दृष्टान्त केवल घटना होइनन् । यो त नेपाली समाजको बौद्धिक चिन्तन प्रणालीमा लागेको गहिरो रोगको सङ्केत हो ।
नेपाली समाजको बौद्धिक चिन्तन संस्कृति खस्कँदो छ र खोज गर्ने प्रवृत्ति निम्छरो हुँदै गएको छ । हामी प्रतिक्रियामै रमाइरहेका छौँ । आलोचनात्मक खोजको चेत क्रमशः कमजोर हुँदै गएको छ । गहन चिन्तन हराएको छ र सतही प्रतिक्रिया लोकप्रिय हुँदै गएको छ । सामाजिक सञ्जालले लेख्ने र बोल्ने ठाउँ दिएको छ र जे लेखे पनि हुने र जे बोले पनि पुग्ने मञ्च यही भएको छ ।
बौद्धिक र नागरिक समाजले निर्माण गर्ने संस्कृति कमजोर भएको छ । सामाजिक सञ्जालका बहस शीर्षक पढेर सुरु हुने र व्यक्तिगत आक्रमणमा समाप्त हुने क्रम बढ्दो छ । लेख पढिँदैन लेखकको लाइन खोजिन्छ । तर्क हेर्न छाडिएको छ ‘को’ वा ‘कुन’ भन्ने आधारमा प्रतिक्रिया बन्ने गरेका छन् । यसको मूल कारण नेपाली समाजमा विकास हुँदै गरेको मूल्यहीन संस्कार र संस्कृति नै हो । हाम्रा सार्वजनिक बहस स्रोतविहीन छन् । तथ्यविहीन छन् । भावनात्मक छन् र तत्कालीन उत्तेजना एवं प्रतिक्रियाका रूपमा आउने गरेका छन् ।
तिनका लागि सिके लाल ‘पुरानो सत्ताको चाकर’ बन्छन्, नारायण वाग्ले ‘तर मारेको मान्छे’ बन्छन् र बौद्धिकहरू सबै ‘झोले’ बन्छन् ।
अन्यत्र जस्तै नेपालमा पनि ज्ञान निर्माणको मूल केन्द्र भनेका विश्वविद्यालय हुन् । विश्वविद्यालयमा अध्ययन र अनुसन्धानको स्तर कमजोर छ । प्रायः प्राध्यापकका प्रकाशन ज्ञानको आधार नभएर पदोन्नतिका खुड्किला बनेका छन् । कतिपय विद्यावारिधि अनुसन्धानहरू गुणस्तरभन्दा औपचारिक उत्पादन जस्ता देखिन थालेका छन् र के नवप्रवर्तन भयो र भइरहेको छ भन्ने कुनै मापन छैन । धेरै विद्यार्थी प्रश्न, आलोचना, सञ्चार र सिर्जनाभन्दा प्रमाणपत्रको खोजीमा छन् ।
उम्ब्रेर्टो इकोले, ‘पुस्तकालय उत्तरहरूको खोजी गर्ने ठाउँ मात्र होइन, यो त सम्भावित प्रश्नहरूको प्रयोगशाला हो ।’ भनेका छन् । तर नेपालका अधिकांश पुस्तकालयमा धुलो जमेको छ । त्यसैले फेसबुकलगायतका सामाजिक सञ्जालमा चाहिँ कोलाहल मच्चिएको छ । यसरी आलोचनात्मक चेत जागृत गर्ने केन्द्रका रूपमा रहेका विश्वविद्यालय लगभग प्रश्नहिन छन् । तिनका पाठ्यक्रम पाउलो फेरेका शब्दमा पैसा थुपार्ने बैङ्क जस्ता भएका छन् र तिनले उत्पादन र रोजगारका द्वार खोल्ने कुनै सम्भावना देखाएका छैनन् ।
फेरेले भनेका छन्, ‘शिक्षाले मानिसलाई संसारमा केवल बाँच्न होइन, प्रश्न गर्न सिकाउनुपर्छ ।’ नेपालमा भने शिक्षाले प्रश्न गर्न होइन आज्ञापालन गर्न र प्रश्नलाई निस्तेज गर्न सिकाउँछ । विद्यालयदेखि विश्वविद्यालयसम्म आलोचनात्मक चेतभन्दा ठिक उत्तर खोज्ने संस्कृति बलियो छ । प्रश्न गर्नु अपराध जस्तै छ र यसै कारण सार्वजनिक बौद्धिकहरू स्वतन्त्र विचारभन्दा तयारी अवस्थामा रहेको वैचारिक शिविर रोज्छन् ।
तिनका लागि सिके लाल ‘पुरानो सत्ताको चाकर’ बन्छन्, नारायण वाग्ले ‘तर मारेको मान्छे’ बन्छन् र बौद्धिकहरू सबै ‘झोले’ बन्छन् ।
बौद्धिकहरूका पनि आफ्ना कमजोरी छन्, जसलाई ‘रोग’ भन्न सकिन्छ । कुनै विचारप्रतिको निष्ठा स्वाभाविक भए पनि गुटीय निष्ठा बुद्धिजीवीको रोग हो । सत्ताको लोभमा आलोचनात्मक चेत गुमाउने बुद्धिजीवीको सङ्ख्या पनि राम्रै छ । यस्तो अवस्थामा विचारभन्दा सम्बन्ध वा निकटता ठुलो भएको छ । कुनै लेखक वा प्राध्यापकको मूल्याङ्कन उसको लेखन, ज्ञान र सिकाइप्रतिको प्रतिबद्धताबाट नभएर राजनीतिक वृत्तका रूपमा हुनुले पनि बौद्धिक सङ्कट चुलिएको छ ।
यस मान्यताले वास्तविक बौद्धिक पछि परेका छन् भने छद्म बौद्धिक सत्ताको निकट रमाइरहेका छन् । कुनै बौद्धिकले आफ्नो भनिएको विचार समूहमाथि प्रश्न उठाए ऊ आफैँ प्रश्नको घेरामा पुग्छ र विपक्षका सही कुराको पनि आलोचना गर्यो भने सही मानिन्छ । यस्तो अवस्थामा सत्य वा आलोचनात्मक चेत नभएर गुटगत पक्षधरता बौद्धिकताको मापक बन्छ ।
एडवर्ड सइदले ठिकै भनेका छन्, ‘बुद्धिजीवी सत्ताबाट टाढै बसेर मात्र ज्ञान बनाउन सक्षम हुन्छ ।’ उनका अनुसार बुद्धिजीवीको काम सत्तासँग सहज हुनु होइन असहज प्रश्न उठाउनु हो । नभन्दै आलोचनात्मक चेत सत्ताबाहिरबाटै जन्मने रहेछ । नोम चोम्स्की, हेनरी जिराउ, कार्ल माक्र्स, एङ्गेल्सलगायत धेरै बौद्धिकले सत्ताबाहिर बसेरै ज्ञान निर्माणमा योगदान गरेका छन् ।
विश्वविद्यालयका धेरै प्राध्यापक, गहन बोध भएका पत्रकार र लेखकलगायत पार्टीभित्रै पनि उच्च आलोचनात्मक चेत भएका बौद्धिकहरु सार्वजनिक बहसबाट टाढा छन् ।
नेपालमा भने असहज प्रश्न उठाउने बौद्धिक तत्काल ‘दलाल’, ‘प्रतिक्रियावादी’, ‘अराजक’, ‘पहाड विरोधी’ वा ‘मधेस विरोधी’ केही नभए ‘नारीवादी’ अथवा ‘समाज भाँड्ने तत्व’ बन्छ । सामाजिक सञ्जालमा यस्तै आक्रमणको बाढी प्रवाहित छ ।
आज नेपालमा सार्वजनिक जन–बौद्धिकको सङ्ख्या न्यून छ । विश्वविद्यालयका धेरै प्राध्यापक, गहन बोध भएका पत्रकार र लेखकलगायत पार्टीभित्रै पनि उच्च आलोचनात्मक चेत भएका बौद्धिकहरु सार्वजनिक बहसबाट टाढा छन् । उनीहरू सामाजिक सञ्जालको गाली र ताली संस्कृतिबाट दिक्क छन् र आफ्नै किसिमले बौद्धिक कर्ममा क्रियाशील छन् । त्यस विपरीत सार्वजनिक बहसमा आउने बौद्धिक भनिएका धेरै मानिस अध्ययन र अनुसन्धानबाट बाहिर छन् ।
यसले नेपाली समाजमा ‘अध्ययन गर्नेहरू बोल्दैनन्’ र ‘बोल्नेहरू अध्ययन गर्दैनन्’ को विभाजन निर्माण भएको छ । हेनरी जिराउले बुद्धिजीवीलाई ‘लोकतान्त्रिक चेतनाका संरक्षक’ भनेका छन् । उनका दृष्टिमा बुद्धिजीवीको काम केवल ज्ञान उत्पादन गर्नु होइन समाजलाई आलोचनात्मक रूपमा सोच्न प्रेरित गर्नु हो । नेपालमा भने सार्वजनिक बौद्धिकता कि त पूर्ण मौनताको अवस्थामा छ कि पूर्ण प्रतिक्रियात्मक बनेको छ ।
मौन बौद्धिकहरू विश्वविद्यालय, पठन कोठा र सञ्चारगृह आदिमा सोचमग्न छन् । तर प्रतिक्रियात्मक बुद्धिजीवी चाहिँ सामाजिक सञ्जालको उत्तेजनामा हराएका छन् । यी दुईबिच यस्तो खाडल निर्माण भएको छ, जसले गम्भीर, अनुसन्धानमूलक र मूल्यवान् सार्वजनिक बौद्धिकतालाई कमजोर बनाएको छ ।
सामाजिक सञ्जाल अभिव्यक्तिको सहज र सरल माध्यम हो । यसैकारण यसले अभिव्यक्तिको लोकतान्त्रीकरणमा सहयोग पुर्यायो । यस सँग–सँगै यसले वैचारिक चेतना र पठन संस्कृतिलाई कमजोर तुल्यायो । अहिले अधिकांश नेता र बौद्धिकसमेत लेख पढ्दैनन्, स्क्रिनसट पढ्छन् । पुस्तक नपढेर उनीहरू स्टाटस पढ्छन् र कमेन्ट गर्दै त्यसैलाई हेरेर समय बिताउँछन् । विचारमा चिन्तन गर्दैनन् र तत्काल प्रतिक्रियामा रमाउँछन् ।
देशका शैक्षिक केन्द्र कमजोर हुँदा ज्ञान पनि कमजोर हुन्छ र समाज पनि गतिहीन बन्छ ।
निल पोस्टम्यानले भनेका छन्, ‘सामाजिक सञ्जाल र सञ्चार माध्यमले सार्वजनिक बहसलाई मनोरञ्जनमा रूपान्तरण गर्छ ।’ नभन्दै आज नेपालमा गम्भीर बहसहरू र आलोचनात्मक दृष्टिकोण सुनिन र लेखिन योग्य विषय हुन छाडेका छन् किनभने यस्ता विषय बजारमा बिक्दैनन् ।
यहाँ त उत्तेजना बिक्छ, लोकप्रियता बिक्छ, गहन बौद्धिकताको कुनै बजार मूल्य नै छैन । गाली भाइरल हुन्छ तर विचार हुँदैन । त्यसैले नेपालमा तात्कालिक प्रतिक्रियालाई बुद्धि ठानिन्छ, क्रोधलाई साहस मानिन्छ र जटिल विश्लेषणलाई उपेक्षा गरिने विषयका रूपमा दुत्कारिन्छ । यस्तो अवस्थामा समाज र शिक्षा कमजोर भएको छ र असल भनिएका संस्कृतिलाई निरन्तर पछि पारिएको छ ।
देशका शैक्षिक केन्द्र कमजोर हुँदा ज्ञान पनि कमजोर हुन्छ र समाज पनि गतिहीन बन्छ । विश्वविद्यालयको छाया विद्यालयमा पर्छ र ती पनि क्रमशः कमजोर हुँदा राष्ट्रको अस्तित्व खतरामा पर्छ । नेपालका विश्वविद्यालय ज्ञान उत्पादनका केन्द्र बन्न नसक्दा धेरैजसो अवस्थामा यी परीक्षा सञ्चालन गर्ने प्रशासनिक संरचना जस्ता बनेका छन् । अनुसन्धानको संस्कृति कमजोर हुँदा अन्तर्विषयक बहस पनि कमजोर बनेको छ ।
अहिलेको उच्चशिक्षा अन्तर्विषयक बहसबाट मात्र अघि बढ्नसक्छ भन्ने कुराको बहस लगभग शून्य जस्तै छ । समाजमा विश्वविद्यालय मौन भयो भने सार्वजनिक क्षेत्र सतही बहसले भरिन्छ किनभने अनुसन्धानले नडोर्याएको समाजमा प्रतिक्रियाबाहेक के नै पो उत्पादन गर्छ र ? त्यही भएर यहाँ नारायण वाग्लेलाई हास्य पात्र बनाइन्छ । महावीर पुनलाई ठेलावाला बनाइन्छ । सिके लाललाई ‘मधेसको मान्छे’ तथा अनगिन्ती बौद्धिकलाई गुमनाम बनाइन्छ र देवकोटाले भनेझैँ यहाँ अर्कैको हुकुम चलाइन्छ ।
हाम्रो समाजले लामो समयसम्मको सामन्तवादी संस्कृतिले प्रश्नलाई विद्रोह ठान्यो र दमन गरिरह्यो ।
पछिल्लो समय सत्तामा नयाँ भनिएकाहरू सत्तासीन भएसँगै नेपाली समाज आलोचनासँग डराउन थालेको प्रतीत हुन्छ । लोकतन्त्रको अभ्यास अझै संस्थागत हुन नसकेको समाजको विशेषता पनि सायद यही हो । त्यसैले हामी सहिष्णु हुन सकेका छैनौँ । भयको त्रासमा रुमल्लिइरहेका छौँ । हाम्रो सामाजिक संरचनामा आलोचनात्मकतालाई शत्रुताका रूपमा लिइन्छ ।
यसको निश्चित कारण पनि छ । हाम्रो समाजले लामो समयसम्मको सामन्तवादी संस्कृतिले प्रश्नलाई विद्रोह ठान्यो र दमन गरिरह्यो ।
त्यसपछिको परिवर्तित लोकतान्त्रिक समाजमा पनि पार्टी केन्द्रित राजनीतिक संस्कृतिले असहमतिको स्थान झन् साँगुरो बनायो । पार्टीको राजनीतिक कमजोरीमा प्रश्न उठाउने कुरा नेताको वैयक्तिक विषय बन्यो । नीतिगत आलोचनालाई उनीहरूले वैयक्तिक विषय बनाए । अहिले पनि समाज र नेताको यो मनस्थिति फेरिएको छैन । आलोचनालाई लोकतान्त्रिक अभ्यास नभएर व्यक्तिगत आक्रमण ठान्नु सामन्तवादी संस्कृति नै हो । यसले लोकतान्त्रिक अभ्यासलाई कमजोर बनाउँछ र बनाइरहेकै छ ।
यस्तो बेलामा सार्वजनिक बौद्धिकको दायित्व झनै बढेको छ । सत्यको खोजभन्दा पर पुगेको समाजमा सहज भाष्य नै सही लाग्छन् र मानिसले असहज प्रश्नभन्दा आफूलाई सही ठहर गर्ने नारालाई मन पराउँछन् ।
जेनजी विद्रोहपछिको नेपाली समाज त झन् प्रतिक्रियामै रमाइरहेको छ । सबैतिर प्रतिक्रियाको राजनीति र संस्कृतिकै बोलवाला छ । यस्तो अवस्थामा बौद्धिक र नागरिक समाजको दायित्व झन् बढेको छ । नोम चोम्स्कीले भनेका छन्, ‘बुद्धिजीवीको दायित्व झुटको पर्दाफास गर्नु र सत्तालाई चुनौती दिनु हो ।’ वास्तवमा बुद्धिजीवी सत्ता, भिड, गुट र लोकप्रियताका डरले मौन हुन्छन् र प्रतिरोध गर्दैनन् भने समाज क्रमशः बौद्धिक अन्धकारतर्फ लम्किन्छ ।
बौद्धिक पलायन केवल मानिसको पलायन होइन; यो त भविष्यका सम्भावनाको पलायन पनि हो ।
हामीलाई कस्ता बौद्धिक चाहिएको छ त ? खासमा भन्ने हो भने हामीलाई सेलिब्रेटी बौद्धिक होइन मूल्यवान्, नैतिक र अनुसन्धानमुखी सार्वजनिक बौद्धिक चाहिएको छ । गालीमा होइन तर्कमा विश्वास गर्ने, विचारलाई प्रमाणद्वारा स्थापित गर्ने, लोकप्रियतालाई नभएर गहन तर्कलाई पछ्याउने र आफ्ना भनिएका समूह, पार्टी र विचारमाथि पनि प्रश्न गर्ने बुद्धिजीवी चाहिएको छ ।
यसरी नै हामीलाई यस्ता विश्वविद्यालय र त्यसका नेतृत्व चाहिएका छन्, जसमा विद्यार्थीलाई के र कसरी सोच्ने भन्ने सिकाउने पाठ्यक्रम होस् । त्यस्तो समाज चाहिएको छ, जहाँ असहमतिलाई देशद्रोह र आलोचनालाई विरोध नठानियोस् । त्यस्तो समाज, जहाँ आलोचनात्मक चेतको सार्वजनिक मूल्यबोध होस् । यस दृष्टिले सार्वजनिक बौद्धिक भनेका सत्ता र शासक तथा समाजका सबैलाई खुसी बनाउने नभएर प्रश्न गर्नेहरू हुन् । बुद्धिजीवी भिड होइन, ऊ त भिडलाई प्रश्न गर्ने मान्छे हो ।
नेपालमा बौद्धिक सङ्कटको अर्को गम्भीर पक्ष भनेको बौद्धिक पलायन हो । विश्वविद्यालय, अनुसन्धान संस्था र सार्वजनिक क्षेत्रले स्वतन्त्र चिन्तनको सम्मान गर्न नसक्दा धेरै प्रतिभाशाली विद्यार्थी, अध्यापक र अनुसन्धानकर्ता विदेशतिर आकर्षित भएका छन् । देशभित्र अनुसन्धानका अवसर सीमित छन्, स्वतन्त्र विचार सुरक्षित छैन र श्रमको सम्मान कमजोर छ । यस्तो अवस्थामा सिर्जनात्मक र आलोचनात्मक चेत भएका मानिसहरू या त मौन हुन्छन् या देशबाहिर आफ्नो सम्भावना खोज्न बाध्य हुन्छन् ।
बौद्धिक पलायन केवल मानिसको पलायन होइन; यो त भविष्यका सम्भावनाको पलायन पनि हो ।
जहाँ प्रश्न गर्नेलाई शत्रु ठानिन्छ, त्यहाँ लोकतन्त्रको आत्मा कमजोर हुन्छ ।
कुनै पनि समाजको बौद्धिक स्तर त्यस समाजको पठन संस्कृतिसँग जोडिएको हुन्छ । नेपालमा पुस्तक पढ्ने संस्कृति क्रमशः कमजोर हुँदै गएको छ । गहिरो अध्ययनभन्दा छोटा पोस्ट, भिडियो क्लिप र तात्कालिक प्रतिक्रियाले ठाउँ लिइरहेका छन् । पुस्तकालयहरू सुनसान बन्दै गएका छन् भने सामाजिक सञ्जालका भित्ताहरू उत्तेजना र प्रतिक्रियाले भरिएका छन् । पढाइको कमीले मानिसलाई जटिल प्रश्न बुझ्न कठिन बनाउँछ र समाजलाई सतही निष्कर्षतर्फ धकेल्छ । अध्ययनविहीन समाज अन्ततः प्रचारको प्रभावमा छिटो बहकिन्छ ।
सार्वजनिक बौद्धिक संस्कृति निर्माणमा सञ्चार माध्यमको भूमिका अत्यन्त महत्त्वपूर्ण हुन्छ । तर अहिले धेरै सञ्चार माध्यम पनि गम्भीर बहसभन्दा क्लिक, ट्रेन्ड र भाइरल सामग्रीतर्फ आकर्षित भइरहेका छन् । अनुसन्धानमूलक लेख, गहन अन्तर्वार्ता र वैचारिक बहसभन्दा उत्तेजक शीर्षक र तत्कालीन विवादले बढी ठाउँ पाउन थालेका छन् । मिडियाले यदि सार्वजनिक बहसलाई गहिराइतर्फ लैजान सकेन भने समाज क्रमशः सूचना सम्पन्न तर विचारविहीन बन्दै जान्छ ।
आलोचनात्मक चेत विश्वविद्यालयमा पुगेर अचानक विकास हुने कुरा होइन । यसको आधार विद्यालय तहबाटै निर्माण हुनुपर्छ । तर हाम्रो शिक्षण प्रणाली अझै पनि कण्ठस्थ ज्ञान, परीक्षा र ‘ठिक उत्तर’ केन्द्रित छ । विद्यार्थीलाई प्रश्न गर्न, असहमति राख्न र स्वतन्त्र रूपमा सोच्न सिकाउने संस्कार कमजोर छ । शिक्षक बोल्ने र विद्यार्थी सुन्ने संरचनाले सिर्जनात्मकता र आलोचनात्मक क्षमतालाई सीमित बनाएको छ । यदि विद्यालयमै प्रश्न गर्ने संस्कृतिको विकास गर्न सकिएन भने भविष्यका विश्वविद्यालय पनि स्वतन्त्र चिन्तनका केन्द्र बन्न सक्दैनन् ।
लोकतन्त्रको वास्तविक शक्ति निर्वाचनमा मात्र होइन, असहमतिलाई सम्मान गर्ने संस्कृतिमा पनि निहित हुन्छ । जहाँ प्रश्न गर्नेलाई शत्रु ठानिन्छ, त्यहाँ लोकतन्त्रको आत्मा कमजोर हुन्छ । असहमति भनेको समाजविरोधी गतिविधि होइन; यो त समाजलाई अझ सचेत, जिम्मेवार र गतिशील बनाउने प्रक्रिया हो । स्वस्थ लोकतन्त्रमा सत्ता, समाज र बौद्धिक वर्गबिच निरन्तर संवाद र आलोचना भइरहन्छ । आलोचनाविहीन समाज अन्ततः प्रशंसाको कोलाहलमा हराउन पुग्छ ।
डिजिटल संस्कृतिले नयाँ पुस्तालाई अभिव्यक्तिको अभूतपूर्व स्वतन्त्रता दिएको छ । तर यही स्वतन्त्रताले चिन्तनको सङ्कट पनि सँग–सँगै निम्त्याएको छ । अहिले धेरै युवाहरू गहिरो अध्ययनभन्दा तात्कालिक सामग्रीमा बढी अभ्यस्त छन् । उनीहरूको समय स्क्रोलिङ, प्रतिक्रिया र दृश्यात्मक उत्तेजनामै बितिरहेको छ । यस्तो अवस्थामा धैर्यपूर्वक पढ्ने, जटिल विचारसँग सङ्घर्ष गर्ने र लामो समय चिन्तनमा बस्ने संस्कार कमजोर हुँदै गएको छ । यदि डिजिटल माध्यमलाई आलोचनात्मक चेतसँग जोड्न सकिएन भने यसले ज्ञानभन्दा भ्रमलाई बढी फैलाउन सहयोग गर्छ ।
नेपाल अहिले राजनीतिक मात्र नभएर बौद्धिक सङ्क्रमणको चरणमा पनि छ । वर्तमान समयमा विचारधारा, चिन्तन र प्रतिबद्धताभन्दा बाह्य नारा र लोकप्रियता बलियो हुँदै गएको छ ।
नेपालमा सार्वजनिक बौद्धिकताको पुनर्निर्माण गर्न विश्वविद्यालय, विद्यालय, सञ्चार माध्यम, नागरिक समाज र राज्य सबैले आफ्नो भूमिका पुनर्विचार गर्नुपर्ने आवश्यकता छ । विश्वविद्यालयलाई प्रमाणपत्र वितरण गर्ने संस्थाभन्दा ज्ञान निर्माणका केन्द्र बनाइनुपर्छ । विद्यालयमा प्रश्न गर्ने संस्कृतिलाई प्रोत्साहन गर्नुपर्छ । सञ्चार माध्यमले उत्तेजनाभन्दा गहिरो बहसलाई स्थान दिनुपर्छ ।
समाजले आलोचनालाई शत्रुता होइन लोकतान्त्रिक अभ्यासका रूपमा स्वीकार गर्न सिक्नुपर्छ । बुद्धिजीवीहरूले पनि सत्ता वा भीडको स्वीकृतिभन्दा सत्य र विवेकको पक्षमा उभिने साहस गर्नुपर्छ । सार्वजनिक बौद्धिकताको पुनर्जागरण बिना कुनै पनि समाज दीर्घकालीन रूपमा लोकतान्त्रिक, सिर्जनात्मक र प्रगतिशील बन्न सक्दैन ।
अन्त्यमा, नेपाल अहिले राजनीतिक मात्र नभएर बौद्धिक सङ्क्रमणको चरणमा पनि छ । वर्तमान समयमा विचारधारा, चिन्तन र प्रतिबद्धताभन्दा बाह्य नारा र लोकप्रियता बलियो हुँदै गएको छ । चिन्तन र अध्ययनभन्दा उत्तेजना प्रभावी हुँदै गएको छ । यस्तो समयमा पत्रिकाका स्तम्भकार हुन् वा विश्वविद्यालयका आलोचनात्मक स्वर, इतिहास निर्माणमा लागेका लेखक हुन् वा पत्रकार सबैले गालीमाथि प्रश्न गर्ने मात्र होइन नयाँ विचारका लागि आव्हान गर्न सक्नुपर्छ ।
विचारसँग बहस गर्न नसके समाज अन्ततः भिडमा परिवर्तन हुन्छ र भिडले इतिहास बनाउँदैन । इतिहास त ती मानिसले मात्र बनाउन सक्छन्, जसले प्रश्न गर्ने साहस गर्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमा आधिकारिक रूपमा सुरु भयो उबरको सेवा, बाइक र कार दुवै सेवा उपलब्ध
-
स्थानीय निर्वाचन ‘गैर दलीय’ बनाउन सुझाव
-
सीमा विवादमा राजेश हमाल– ‘नागरिकले गर्ने अतिक्रमण र राज्यले गर्ने अतिक्रमण फरक हुन्’
-
चलचित्र पत्रकार संघ नेपालद्वारा राष्ट्रिय फिचर लेखन प्रतियोगिता घोषणा
-
अमेरिकी प्रतिनिधिसभाद्वारा लेबनान युद्ध अधिकारसम्बन्धी प्रस्ताव अस्वीकृत
-
वातावरण दिवसका अवसरमा पोखराका विभिन्न स्थानमा ६ हजार वृक्षारोपण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण