‘नेपालको ईभी बजारमा नम्बर वान बनिराख्ने हाम्रो लक्ष्य छ’
सारांश
- नेपाली बजारमा विद्युतीय सवारीसाधनको माग बढिरहेको छ र बीवाईडीले छोटो समयमै बजारमा आफ्नो दबदबा कायम गरेको छ।
- बीवाईडीका एसिया प्यासिफिक क्षेत्रका महाप्रबन्धक लिउ सुएलियाङले नेपालमा हरित विकासको सम्भावना देखेर सन् २०१३/२०१४ मा सार्वजनिक यातायातको विद्युतीकरणको अवधारणा ल्याएको बताए।
- कम्पनीले निरन्तर प्राविधिक नवप्रवर्तनमा जोड दिँदै बौद्धिक विकासको दोस्रो चरणमा प्रवेश गरेको छ र नेपालको ईभी बजारमा नम्बर वान स्थान कायम राख्ने लक्ष्य लिएको छ।
काठमाडौँ । नेपाली बजारमा पछिल्लो समय विद्युतीय सवारीसाधनको माग बढ्न थालेको छ, त्यसमा पनि बीवाईडीको दबदबा देखिन थालेको छ ।
विश्वव्यापी बजारमा तहल्का मच्चाइरहेको चिनियाँ कम्पनी बीवाईडीले नेपालमा छोटो समयमै अविश्वसनीय तरिकाले बजार ‘कब्जा’ गरेको छ ।
बीवाईडीले नेपाली बजारमा पारेको प्रभाव, कम्पनीको आगामी रणनीति, प्रविधि, मूल्य र बिक्रीपछिको सेवाको विषयमा चीन ग्वाङडोङमा रहेको बीवाईडी कम्पनीमै पुगेर रातोपाटीका लागि अनिष मिजारले बीवाईडीका एसिया प्यासिफिक क्षेत्रका महाप्रबन्धक लिउ सुएलियाङसँग विशेष कुराकानी गरेका छन् ।
- आजभन्दा १० वर्षअघि नेपाल विद्युतीय गाडीका लागि एकदमै सानो बजार थियो, पूर्वाधार नभएको बजारमा लगानी गर्ने निर्णय कसरी गरियो ?
–मलाई लाग्छ । कुनै पनि बजारको मूल्याङ्कन त्यसको आकार (सानो वा ठुलो) को आधारमा मात्र गरिनु हुँदैन । हामीले हेर्ने भनेको उक्त देशको भविष्यको विकासको दिशा कता जाँदैछ भन्ने हो । सन् २०१० तिर चीनले सार्वजनिक यातायातलाई विद्युतीकरण गर्न सुरु गरेको थियो, त्यसको मुख्य उद्देश्य भनेको जीवाश्म इन्धनमाथिको परनिर्भरता कम गर्नु र कार्बन उत्सर्जन घटाउनु थियो । यी समस्याहरू चीनका मात्र नभएर विश्वभरिका साझा हुन् । ईभीको प्रयोगले कुनै पनि देशको आर्थिक र वातावरणीय विकासमा ठुलो प्रभाव पार्छ ।
यो हरित क्रान्तिमा सामेल हुन आउने सबै कम्पनीलाई हामी स्वागत गर्छौं । धेरै कम्पनी आउँदा यसले समग्र ईभी उद्योगलाई नै फाइदा पुग्छ ।
बीवाईडी एउटा बहुराष्ट्रिय कम्पनी हो । सन् २०१३/२०१४ तिर नेपालमा पूर्वाधारको अभाव हुँदाहुँदै पनि हामीले त्यहाँ हरित विकासको ठुलो सम्भावना देख्यौँ । त्यसैले हामीले नेपालमा सार्वजनिक यातायातको विद्युतीकरणको अवधारणा लिएर जाने निर्णय गरेका थियौँ ।
- अहिले परम्परागत इन्धनबाट चल्ने गाडी बनाउने पुराना र स्थापित कम्पनीहरू पनि विद्युतीय गाडी उत्पादनतर्फ आकर्षित भइरहेका छन् । बीवाईडीले कुनै चुनौती महसुुस गरेको वा यसले दिने थप चुनौती के छ ?
– विद्युतीय सवारीसाधन बिल्कुलै नयाँ उद्योग हो । कुनै पनि ठुलो उद्योग एउटा मात्र कम्पनी वा एउटा मात्र बजारको भरमा विकास हुन सक्दैन ।
जब हामीले विद्युतीय गाडीको वकालत गर्न थाल्यौँ, यो पूर्ण रूपमा नयाँ हरित आर्थिक शृङ्खला थियो । अहिले परम्परागत गाडी निर्माताहरू पनि यसमा प्रवेश गर्न थालेका छन् । यसले पनि के प्रमाणित गर्छ भने बीवाईडील रोजेको बाटो र निर्णय पूर्ण रूपमा सही थियो ।
हामी यसलाई चुनौतीभन्दा पनि अवसरका रूपमा हेर्छौँ । यो हरित क्रान्तिमा सामेल हुन आउने सबै कम्पनीलाई हामी स्वागत गर्छौं । धेरै कम्पनी आउँदा यसले समग्र ईभी उद्योगलाई नै फाइदा पुग्छ ।

- हामीले बीवाईडीको प्राविधिक मुख्यालय पनि भ्रमण गर्यौँ । बीवाईडीको अबको कदम के हो ? के सधैँ शीर्ष स्थानमा टिकिरहन सम्भव देख्नुहुन्छ वा नयाँ–नयाँ प्रविधिको कारण गाह्रो हुने देख्नुहुन्छ ?
– यो निकै महत्त्वपूर्ण प्रश्न हो । निरन्तरको प्राविधिक नवप्रवर्तनबिना दिगो विकास सम्भव छैन । हामीले निरन्तर रूपमा नयाँ प्रविधिको विकास गरेर मात्र आफूलाई उत्कृष्ट सावित गर्न सक्छौँ ।
चीनमा हामी विद्युतीय गाडीको विकासलाई दुई चरणमा विभाजन गर्छौँ । पहिलो चरण भनेको विद्युतीकरण हो, यसमा ब्याट्री, मोटर र विद्युतीय नियन्त्रणजस्ता आधारभूत कुराहरू पर्छन् । यसले उपभोक्ताको रेन्ज र चार्जिङको चिन्तालाई समाधान गर्यो ।
अब हामी दोस्रो चरणमा प्रवेश गरेका छौँ, जुन बौद्धिक विकास हो । यसमा इन्टेलिजेन्ट ड्राइभिङ र उपभोक्ताको समग्र अनुभवलाई कसरी स्मार्ट बनाउने भन्ने कुरा आउँछ ।
नेपाली उपभोक्ताहरूको यो गुनासोलाई हामीले गम्भीरतापूर्वक लिएका छौँ । यो विषयमा हामी नेपाल डिलरहरूसँग बसेर छलफल गर्नेछौँ, हामी मूल्य मात्र हेर्दैनौँ ।
बीवाईडीसँग अहिले १ लाख २० हजारभन्दा बढी इन्जिनियरहरू छन्, जुन विश्वमै कुनै पनि अटोमोबाइल ब्रान्डको तुलनामा सबैभन्दा ठुलो टोली हामीसँग छ । हाम्रा इन्जिनियरहरू दिनरात प्रविधिलाई सुधार्न खटिइरहेका छन् । साथै हाम्रो स्केल (ठुलो मात्रामा उत्पादन) र भर्टिकल इन्टिग्रेसन (आफ्नै सप्लाई चेन नियन्त्रण) को क्षमताले तीव्र प्रतिस्पर्धात्मक बजारमा पनि हामीले बाजी मार्ने कुरामा पूर्ण विश्वस्त छौँ ।
- पछिल्लो समय बीवाईडीका गाडीप्रति आकर्षण बढ्दो छ, नेपालमा पनि रुचाइएका छन् । तर प्रतिस्पर्धी ब्रान्डहरूको तुलनामा मूल्य बढी भन्ने गुनासो छ नि ?
– मूल्य निर्धारण भन्ने कुरा सम्बन्धित देशको बजारको अवस्था र हाम्रा त्यहाँका डिलर पार्टनरहरूमा भर पर्ने कुरा हो । तर म के स्पष्ट पार्न चाहन्छु भने बीवाईडीले तय गर्ने मूल्य सधैं जिम्मेवार हुन्छ ।
हामी प्राइस वार (मूल्य युद्ध) मा मात्र विश्वास गर्दैनौँ । हामी उपभोक्तालाई प्रदान गरिने मूल्यवान् उत्पादन र सेवामा विश्वास गर्छौँ । थाइल्यान्डमा भर्खरै केही कम्पनीहरूले गाडीको मूल्य निकै घटाएर बेचे, तर हामीले त्यस्तो गरेनौँ । हामी हाम्रो प्रविधि, गुणस्तर र बिक्रीपछिको सेवामा सम्झौता गर्दैनौँ ।
नेपाली उपभोक्ताहरूको यो गुनासोलाई हामीले गम्भीरतापूर्वक लिएका छौँ । यो विषयमा हामी नेपाल डिलरहरूसँग बसेर छलफल गर्नेछौँ, हामी मूल्य मात्र हेर्दैनौँ । गाडीको समग्र लाइफसाइकल भ्यालु हेर्छौं ।
- वारेन्टी सकिएपछि ब्याट्री फेर्नु पर्दा गाडीकै जति महँगो पर्छ भन्ने डर नेपाली उपभोक्तामा छ । ब्याट्री प्रतिस्थापनको विषयमा बीवाईडीको योजना के छ ?
– मलाई थाहा छ, नेपालमा नयाँ गाडी बिक्रीको झन्डै ८० प्रतिशत हिस्सा ईभीले ओगटिसकेको छ । यस्तो अवस्थामा ब्याट्री फेर्ने र गाडीको मर्मत सम्भारको विषय उपभोक्ताको लागि ठुलो चिन्ताको विषय बन्न थालेको छ । हामीले यो कुरा आजभन्दा १० वर्षअघि नै सोचेका थियौँ ।
बीवाईडीले उपभोक्तालाई ढुक्क बनाउन ब्याट्रीमा सामान्यतया ८ वर्षसम्मको वारेन्टी दिँदै आएको छ । बीवाईडीले उत्पादन गर्ने ब्लेड ब्याट्रीमा कुनै पनि हानिकारक भारी धातु हुँदैनन् । यो ब्याट्रीको आयु निकै लामो हुन्छ, अहिले ब्याट्रीको मूल्य केही महँगो लागे पनि ।
तर विस्तारै प्रविधिको विकास र उत्पादनको भोल्युम बढ्दै जाँदा भविष्यमा ब्याट्री मर्मत गर्ने वा मोड्युलहरू परिवर्तन गर्ने लागत निकै सस्तो हुँदै जानेछ, यो कुरामा उपभोक्ताहरू आत्तिनु पर्दैन।
- चीनका विभिन्न प्रान्त र अन्य देशहरूमा बीवाईडीको एसेम्बल प्लान्ट निरन्तर विस्तार गर्दै आउनुभएको छ । भविष्यमा नेपालमै बीवाईडीको एसेम्बल प्लान्ट खोल्ने कुनै योजना छ ?
– तत्काल नेपालमा एसेम्बल प्लान्ट नै खडा गर्ने विषयमा सोचिसकेका छैनौँ ।
नेपालमा ईभीको पेनिट्रेसन रेट ८० प्रतिशत पुगिसकेको छ । तर समग्र अटोमोबाइल बजारको आकार हेर्ने हो भने त्यो अझै पनि एउटा प्लान्ट नै स्थापना गर्नुपर्ने स्तरमा पुगिसकेको छैन ।
त्यसैले अहिलेको लागि हामी चीनबाटै सीधै गाडीहरू निर्यात गर्ने रणनीतिलाई निरन्तरता दिनेछौँ । कम्पनीले नेपालको बजारलाई नजिकबाट नियालिरहेको छ । भविष्यमा अवस्था अनुकूल हुँदै गए यसबारे सच्छौँ । आवश्यकताका आधारमा सार्वजनिक यातायात वा कमर्सियल गाडीहरूको सन्दर्भमा भने फरक तरिकाले पनि सोच्न सक्छौँ ।

- नेपालको भौगोलिक अवस्था निकै चुनौतीपूर्ण छ । उकालो–ओरालो, कच्ची र कठिन बाटाहरू धेरै छन् । यस्तो कठिन भौगोलिक अवस्थामा बीवाईडीका गाडीहरूको पर्फमेन्सलाई कम्पनीले ध्यान दिएको छ ?
–पक्कै पनि दिएको छ । बीवाईडीले सन् २००३ देखि नै गाडी उत्पादन गर्न थालेको हो । विद्युतीय गाडीको सपना साकार पार्न झन्डै २० वर्षको लामो अनुसन्धान र मिहिनेत गरेका छौँ ।
बीवाईडीका गाडीहरू नेपालमा मात्र होइन, विश्वका अत्यन्तै कठिन र चुनौतीपूर्ण भौगोलिक तथा मौसमी अवस्थाहरूमा परीक्षण गरिएका हुन्छन् ।
ब्याट्रीको स्थायित्व, गाडीको ग्राउन्ड क्लियरेन्स र समग्र इन्जिनियरिङलाई हामीले यसरी डिजाइन गरेका छौँ, जसले नेपालजस्तो पहाडी र कठिन बाटो भएको देशमा पनि उत्कृष्ट प्रदर्शन गर्न सकोस् । त्यसैले हाम्रो गाडीको प्राविधिक क्षमता र पर्फमेन्समा हामी पूर्ण रूपमा विश्वस्त छौँ ।
- विद्युतीय गाडीमा प्रयोग हुने ब्याट्रीको आयु सकिएपछि त्यसको उचित व्यवस्थापन कसरी हुन्छ ? यसले भविष्यमा वातावरणीय जोखिम निम्त्याउँदैन ?
– यो एकदमै महत्त्वपूर्ण वातावरणीय प्रश्न गर्नुभयो । हामीले ब्याट्रीको लाइफसाइकल सकिएपछि त्यसलाई व्यवस्थापन गर्ने स्पष्ट रणनीति बनाएका छौँ ।
हामी टायर्ड रिसाइकल (चरणबद्ध पुनःप्रयोग) को नीति अपनाउँछौँ । गाडीमा प्रयोग हुन नसक्ने अवस्थामा पुगेपछि पनि ब्याट्रीमा धेरै ऊर्जा बाँकी हुन्छ । त्यसलाई हामी सुरुमा एनर्जी स्टोरेज सिस्टमको रूपमा प्रयोग गर्छौँ ।
मैले अघि नै भनिसकेँ, हाम्रो एलएफपी ब्याट्रीमा हानिकारक धातुहरू हुँदैनन् । त्यसैले यो सुरक्षित छ । जब त्यो ब्याट्री भण्डारणको लागि पनि अयोग्य हुन्छ । तब त्यसलाई वैज्ञानिक तरिकाले टुक्र्याएर यसमा भएका धातुहरूलाई रिसाइकल गरिन्छ ।
आगामी १० वर्षमा नेपालमा पनि ब्याट्री रिसाइकलिङ एउटा छुट्टै र ठुलो उद्योगको रूपमा विकास हुनेछ । ओरिजिनल उत्पादकका रूपमा बीवाईडी यसको उचित व्यवस्थापनप्रति पूर्ण जिम्मेवार छ ।
- विश्वबजारमा बीवाईडीको फास्ट चार्जिङ प्रविधिलाई कसरी विस्तार गर्ने योजना छ ?
– फास्ट चार्जिङ प्रविधिलाई विदेशी बजारहरूमा क्रमिक रूपमा विस्तार गर्दै लैजाने योजनामा छौँ । तर, यो वर्षको हाम्रो मुख्य ध्यान र प्राथमिकता भने चीनको आन्तरिक बजारमै केन्द्रित रहनेछ । विस्तारै यसलाई अन्य बजारहरूमा पनि लिएर जानेछौँ ।
- बीवाईडीले प्रविधिमा यति छिटो फड्को मारिरहेको छ । मानिसहरू अब बीवाईडीले उड्ने गाडी नै ल्याउँछ कि भनेर ठट्टा गर्न थालेका छन् । नेपालको सन्दर्भमा बीवाईडीको अबको मुख्य र अन्तिम लक्ष्य के हो ?
– उड्ने गाडी वा पानीजहाजको कुरा त अलि टाढैको विषय होला । तर नेपालको सन्दर्भमा कुरा गर्दा हाम्रो मुख्य लक्ष्य भनेको स्पष्ट छ – नेपालको विद्युतीय सवारीसाधनको बजारमा नम्बर वान् स्थानलाई कायमै राख्छौँ ।
बीवाईडी चाहन्छ, धेरैभन्दा धेरै नेपाली उपभोक्ताले विद्युतीय गाडीको अनुभव गर्न पाऊन् । पेट्रोल/डिजेलको परनिर्भरताबाट मुक्त होऊन् । यसका लागि हामी आगामी दिनमा नेपाली बजार सुहाउँदो विभिन्न नयाँ मोडलका गाडीहरू भित्र्याउनेछौँ ।
साथै, नेपाली उपभोक्ताहरूबाट आउने हरेक सुझाव र सल्लाहलाई बीवाईडीले खुला रूपमा स्वागत गर्छ । ती सुझावकै आधारमा बीवाईडीले बिक्रीपछिको सेवा र प्रविधिलाई अझै उत्कृष्ट बनाउँदै लैजानेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्जेन्टिना भर्सेस केप भर्डे : मेस्सीको जादुले तोड्ला भोजिन्हाको रक्षात्मक पर्खाल ?
-
पेनाल्टी सुटआउटमा अस्ट्रेलियालाई हराउँदै इजिप्ट विश्वकपको अन्तिम १६ मा
-
निर्धारित समयमा अस्ट्रेलिया र इजिप्टबिच १-१ को बराबरी, खेल अतिरिक्त समयमा
-
खेलमा फर्कियो अस्ट्रेलिया, इजिप्टसँग १-१ को बराबरी
-
असरको गोलमा इजिप्टको अग्रता, अब खेलमा फर्किन सक्ला अस्ट्रेलिया ?
-
मनसुनजन्य विपद् व्यवस्थापनका लागि १० हजार प्रहरी ‘स्ट्याण्डबाइ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण