शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
राजनीति

जसपा र लोसपा बिचको एकताप्रति त्रिपाठीको गम्भीर असहमति

आइतबार, ०३ जेठ २०८३, १२ : १२
आइतबार, ०३ जेठ २०८३

सारांश

  • जनता प्रगतिशील पार्टीका अध्यक्ष ह्रदयश त्रिपाठीले उपेन्द्र यादव नेतृत्वको जसपा र महन्थ ठाकुर नेतृत्वको लोसपाबीचको एकताप्रति गम्भीर असहमति जनाएका छन् ।
  • त्रिपाठीले एकता प्रक्रियामा आफ्नो पार्टीलाई जानकारी नदिएको र जसपाको घोषणापत्रमा प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको व्यवस्था तथा पूर्ण समानुपातिक निर्वाचन प्रणाली जस्ता विषयमा असहमति रहेको बताएका छन् ।
  • निर्वाचन आयोगले एक व्यक्ति दुई पार्टीमा रहन नपाउने नियम लागू गरेपछि त्रिपाठीको जसपा नेपालमा सदस्यता विवादित बनेको छ ।

काठमाडौँ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपालबिच भएको एकताप्रति जनता प्रगतिशील पार्टीका अध्यक्ष ह्रदयश त्रिपाठीले गम्भीर असहमति जनाएका छन् । 

त्रिपाठी लोसपा नेपालसँग एकता गरी जसपा नेपालको पार्टी एकता प्रक्रियामा सहभागी थिए । तर पछिल्लो समय निर्वाचन आयोगले दिएको मान्यतामा उनको पार्टी समावेश छैन । लोसपा हुँदै जसपा नेपालसँग एकता गरे पनि जनता प्रगतिशील पार्टी बन्द नगरेका कारण एकीकरण प्रक्रियामा सहभागी नगराएको प्रतिक्रिया नेताहरूले दिएका थिए । 

यद्यपि, उनले जसपा नेपाल र लोसपा एकीकरणलाई स्वागतयोग्य कदम भनेका छन् । उनले जनता प्रगतिशील पार्टी नेपालको अथक प्रयासपछि सङ्घीय लोकतान्त्रिक मोर्चा गठन भएको बताउँदै आफ्नो पार्टी र तमलोपाको प्रयासका कारण लोसपासँग एकता प्रक्रिया अगाडि बढेका समेत दाबी गरेका छन् ।

तर लोसपा र जसपा नेपालबिच एकता प्रक्रिया अगाडि बढ्दा आफ्नो पार्टी र तमलोपालाई कुनै जानकारी नदिएको अध्यक्ष त्रिपाठीले बताए । निर्वाचनको मुखमा भएको अपारदर्शी प्रयासप्रति अपमान सहेर पनि आफूहरूले कुनै टिप्पणी गरेको तर निर्वाचन घोषणापत्र आएपछि त्यसमा आफूहरूले असहमति जनाएको उनले बताए । 

जसपा नेपालले ल्याएको घोषणापत्रमा शासकीय स्वरूपको विषयमा प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको व्यवस्था छ । जुन कम्युनिष्टहरुको विचार रहेको टिप्पणी उनले गरेका छन् । प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको व्यवस्था अल्पसङ्ख्यकको लागि घातक हुने दाबी समेत त्रिपाठीको छ ।

अध्यक्ष त्रिपाठीले जसपा नेपालले अघि सारेको पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा पनि असहमति जनाएका छन् । उनले भनेका छन्– ‘यस्ता अन्य सैद्धान्तिक विषयहरू छन्, जुन स्पष्ट नभइकन एकता गर्न आत्मघाती हुनेछ ।’

त्रिपाठी जसपा नेपालको घोषणापत्र लिएरै चुनावमा पनि सहभागी भएका थिए । जसपा नेपाल र लोसपा नेपालबिच एकता हुँदा त्यसमा उनले सहमति जनाएका थिए । सोही सहमतिअनुसार यसअघि गत पुस २७ गते गठन भएको एकीकृत जसपा नेपालको ४३ सदस्यीय केन्द्रीय समन्वय समितिमा त्रिपाठी र उनको पार्टीका अन्य नेताहरूको पनि नाम समावेश थियो । 

समन्वय समितिको बैठकमा ती नेताहरू सहभागी पनि भएका थिए । त्रिपाठीसहित अन्य नेताहरूले सोही पार्टीबाट चुनावमा पनि भाग लिएका थिए । तर अहिले आएर निर्वाचन आयोगले एउटै व्यक्ति दुईवटा पार्टीमा रहन नसक्ने गरि जसपा नेपाललाई पत्र पठाएपछि यो विवाद बाहिर आएको हो । जसपा नेपालका एक नेताले भने– ‘त्रिपाठीजी जसपा नेपालमा पनि बस्ने र आफ्नो पार्टी पनि बन्द नगराउने भएपछि एउटा व्यक्ति दुईतिर बस्न नपाइने भएर यो विवाद उत्पन्न भएको हो ।’

निर्वाचन आयोगले पत्र पठाएपछि अध्यक्ष त्रिपाठीलाई पार्टी बन्द गराउन भनिए पनि नमानेका कारण जसपा नेपालमा उनलाई नराखिएको ती नेताले बताए । पार्टी एकीकरणको सुरुवाती प्रक्रियामा उनी सहभागी थिए । ‘जसपा नेपालले तयार पारेको हरेक दस्ताबेजको बारेमा उनी जानकार छन् तर अहिले आएर यी कुराहरू जानकारी नरहेको भन्नु गलत हो’ ती नेताले भने ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप