मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
३३औँ मदन–आश्रित स्मृति

‘दासढुङ्गा’ गीत बनाएपछि मलाई राष्ट्र विप्लवको आरोप लाग्यो : गायक कार्की

आइतबार, ०३ जेठ २०८३, १७ : ०५
आइतबार, ०३ जेठ २०८३

सारांश

  • २०५० सालमा लोकगायक बमबहादुर कार्कीले मदन भण्डारीको रहस्यमय दुर्घटनापछि 'दासढुङ्गा' गीत सार्वजनिक गरेका थिए ।
  • उक्त गीतका कारण कार्कीलाई राष्ट्र विप्लवको आरोप लागेको थियो र ज्यान मार्ने धम्कीसमेत दिइएको थियो ।
  • कार्कीले ५ लाख रुपैयाँको प्रस्ताव अस्वीकार गर्दै गीतलाई इतिहासको दस्तावेजको रूपमा सुरक्षित राखेका थिए ।

काठमाडौँ । आज मदन–आश्रितको ३३औँ स्मृति दिवस । नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको दासढुङ्गामा भएको रहस्यमय मृत्युको दिन अर्थात् जेठ ३ गतेलाई प्रत्येक वर्ष एमालेले स्मृति दिवसका रूपमा मनाउँदै आएको छ । नेताद्वयको सम्झनामा आज पनि एमालेले देशभर विभिन्न कार्यक्रम आयोजना गरेको छ ।

स्मृति दिवसका अवसरमा कतिपय स्थानमा जननेता मदन भण्डारीको विषयमा बनेको गीत पनि बज्ने गर्छ । जननेता मदन भण्डारीको विषयमा बनेका केही गीतमध्ये एक हो ‘दासढुङ्गा’, जसलाई २०५० सालमै लोकगायक बमबहादुर कार्कीले सार्वजनिक गरेका थिए । उक्त गीतका कारण उनलाई राष्ट्र विप्लवको आरोपसमेत लागेको थियो ।

सोही गीतका सम्बन्धमा गायक कार्कीसँग रातोपाटीले कुराकानी गरेको छ । प्रस्तुत छ, गायक कार्कीसँग गरिएको कुराकानीको सम्पादित अंश–

  • जननेता मदन भण्डारीको बारेमा तपाईंले ‘दासढुङ्गा’ गीत बनाउनु भएको थियो । त्यतिबेला गीत बनाउने सोच कसरी आयो ?

म हरेक वर्ष तीजको अवसरमा ‘घटना गीत’ निकाल्ने गर्थें । गाउँघरमा हुर्कंदा तीजको बेलामा हाम्रा दिदीबहिनीहरूले गाउने मौलिक र सांस्कृतिक गीतहरूबाट निकै प्रभावित थिएँ । पछि काठमाडौँ आएपछि पशुपति क्षेत्रतिर जाँदा मैले तीजका गीतहरूमा वास्तविक घटना र मौलिकता हराउँदै गएको पाएँ ।

मैले २०४४÷०४५ सालदेखि नै तीजको भाकामा ‘घटना गीत’हरू बनाउन थालेको थिएँ । त्यतिबेला संसदमा भएका खिचातानी वा अन्य सामाजिक घटनाहरूलाई म गीतमा उतार्थें । २०५० सालमा जब दासढुङ्गामा मदन भण्डारीको रहस्यमय दुर्घटना भयो, त्यसले देशै स्तब्ध बनायो । त्यो वर्षको सबैभन्दा ठुलो र दुःखद् घटना नै त्यही थियो । त्यसैले एउटा स्रष्टाको नाताले यसलाई इतिहासमा सुरक्षित राख्नुपर्छ भन्ने लाग्यो र मदन भण्डारीको बारेमा गीत बनाउने निर्णय गरेँ र बनाएँ ।

  • गीत लेख्दा र रेकर्ड गर्दाको सम्झना कस्तो छ ?

एकदिन रेडियो नेपालमा बसिरहेको थिएँ, बाहिर मुसलधारे पानी परिरहेको थियो । मसँग मोटरसाइकल त थियो, तर पानीले गर्दा निस्कन सक्ने अवस्था थिएन । त्यही खाली समयमा मैले दासढुङ्गा काण्डको बारेमा पहिले नै टिपोट गरेका कुराहरूलाई गीतको रूप दिन थालेँ । त्यहीँ मेरो सहकर्मी दामोदर घिमिरे पनि आउनुभयो र हामीले कुरा गर्दागर्दै गीतले पूर्णता पायो ।

पछि रेडियो नेपालकै स्टुडियोमा यसलाई रेकर्ड गर्दा पनि निकै समय लाग्यो । सामान्यतया दुई घण्टाको समय लिएका थियौँ, तर भावुकता र प्राविधिक कुराहरूले गर्दा तीन घण्टाभन्दा बढी लाग्यो । सुरुमा मैले महिलाहरूलाई मात्र गाउन लगाउने सोचेको थिएँ, तर पछि भाव व्यक्त गर्न म आफैँ पनि सहभागी भएँ ।

  • गीतले मदन भण्डारीको व्यक्तित्वका कुन–कुन पक्षलाई समेटेको छ ?

यो गीतमा मुख्यतया दासढुङ्गाको त्यो रहस्यमय दुर्घटनाको चित्रण गरिएको छ । उहाँका पार्टीका साथीहरू, उहाँको कार्यशैली र उहाँको अभावमा देशले भोग्नुपरेको पीडालाई मैले समेट्ने प्रयास गरेको छु । गीतमा तत्कालीन समयका उहाँका उपनामहरू पनि प्रयोग गरिएको छ । यो विशुद्ध राजनीतिक गीतभन्दा पनि एउटा महान् नेताप्रतिको श्रद्धाञ्जलि र घटनाको जीवन्त दस्तावेज भन्छु म ।

  • गीतका कारणले दबाब त झेल्नु प¥यो रे नि, हो ?

हो, गीत बजारमा आएपछि मैले निकै ठुलो जोखिम र दबाब झेल्नुप¥यो । त्यतिबेला म निजामती कर्मचारी पनि थिएँ । गीत सार्वजनिक भएपछि तत्कालीन सञ्चार मन्त्रालय र रेडियो नेपाल प्रशासनले मलाई स्पष्टीकरण सोधे । मलाई ‘राष्ट्र विप्लव’ गर्न खोजेको, अमर्यादित शब्द प्रयोग गरेको र अवाञ्छित गतिविधिमा लागेको आरोप लगाइयो ।

कतिपयले मलाई ज्यान मार्ने धम्कीसमेत दिए । मान्छेहरू मसँग खाजा खान जान पनि डराउँथे । कतै यसको सङ्गतले गर्दा जागिर जाने हो कि भन्ने डर उनीहरूमा थियो ।

त्यो समय रेडियो नेपालमा म्युजिक नेपालले साप्ताहिक कार्यक्रम चलाउँथ्यो । त्यहाँ यो गीत बज्दा सेन्सर गरेर काटियो । गीत काटिएपछि नेकपा (एमाले)ले संसदको शून्य समयमा यस विषयमा आवाज उठायो । त्यसपछि यो गीत पूर्ण रूपमा राजनीतिकरण भयो ।

अचम्मको कुरा त के छ भने, मलाई यो गीतको क्यासेट नष्ट गर्नका लागि ५ लाख रुपैयाँको प्रस्ताव आएको थियो । २०५० सालमा ५ लाख रुपैयाँ भनेको अहिलेको करोडौँ बराबर हो । त्यतिबेला ४ लाखमा काठमाडौँको मुख्य ठाउँमा घडेरी आउँथ्यो । तर, मैले पैसाको लोभमा आफ्नो सिर्जना र देशको इतिहासलाई बेच्न चाहिनँ । मैले सोचेँ, आज पैसाको लोभमा यो गीत मेटाएँ भने भोलि इतिहासले मलाई धिक्कार्नेछ ।

  • राजनीतिक क्षेत्रबाट कस्तो प्रतिक्रिया पाउनुभयो नि ?

त्यतिबेला शेरबहादुर देउवा गृहमन्त्री हुनुहुन्थ्यो । हाम्रै जिल्लाका केही नेताहरू उहाँकहाँ पुगेर बमबहादुर कार्कीले यस्तो गीत बनायो, यसले गर्दा जनताहरू कम्युनिस्ट बन्ने भए, यसलाई कारबाही गर्नुपर्छ भनेर उक्साएछन् । देउवाजी र म लन्डनमा सँगै बसेको हुनाले उहाँले मलाई व्यक्तिगत रूपमा चिन्नुहुन्थ्यो । उहाँले बमबहादुर कार्कीले त्यस्तो खराब नियतले त बनाएन होला, गीत सुनौँ न त भन्नुभएछ । पछि उहाँले गीत सुनेपछि यसमा त केही नराम्रो छैन, बरु यस्ता गीत अरूका बारेमा पनि बनाउनू भन्नुभयो भन्ने मैले सुनेँ । तर रेडियो नेपालले भने मलाई धेरै समयसम्म मानसिक तनाव दियो ।

698254511_2537555056702953_3956655060901042070_n

  • तपाईंको मदन भण्डारीसँग व्यक्तिगत चिनजान थियो त ?

मेरो उहाँसँग धेरै बाक्लो सङ्गत त थिएन, तर उहाँका भाषणहरू सुन्न म धेरै ठाउँमा पुग्थेँ । उहाँ एक प्रखर वक्ता र असाधारण राष्ट्रवादी नेता हुनुहुन्थ्यो । ०४७ सालको चुनावताका उहाँको चर्चा शिखरमा थियो । उहाँसँगै जीवराज आश्रितसँग पनि मेरो भेट भएको थियो । आश्रितजीले मलाई ‘तपाईंको गीतमा नेपालको माटो बोल्छ, यसलाई निरन्तरता दिनुहोला’ भन्नुभएको अहिले पनि सम्झन्छु । मदन भण्डारीले पनि मेरो गीतको प्रशंसा गर्नुभएको थियो । उहाँ यस्तो नेता हुनुहुन्थ्यो, जसले नेपाली राजनीतिमा नयाँ विचारधारा र आशाको सञ्चार गर्नुभएको थियो ।

  • यो गीतले आजको युवा पुस्तालाई के सन्देश दिन्छ त ?

यो गीत एउटा इतिहासको प्रतिविम्ब हो । आजका युवाहरू, जसले मदन भण्डारीलाई प्रत्यक्ष देख्न पाएनन्, उहाँका विचार र उहाँको रहस्यमय अन्त्यका बारेमा यो गीतबाट धेरै कुरा बुझ्न सक्छन् । यसले युवाहरूलाई आफ्नो देशको इतिहासप्रति जिज्ञासु बनाउँछ र राष्ट्रियताको भावना जागृत गराउन मद्दत गर्छ । स्रष्टाले सत्य बोल्दा कति चुनौती आउँछन् र ती चुनौतीसँग कसरी जुध्नुपर्छ भन्ने कुरा पनि यो गीतको पृष्ठभूमिले सिकाउँछ ।

  • गीतका कारण सम्मान पनि मिल्यो कि ?

इमानदार भएर भन्नुपर्दा राज्य वा कुनै पनि राजनीतिक प्रतिष्ठानले यो गीतको कदर गरेनन् । मदन भण्डारीका नाममा धेरै फाउन्डेसन र संस्था खुलेका छन्, उहाँका नाममा करोडौँको बजेट खर्च हुन्छ, तर एउटा कलाकारले ज्यानको जोखिम मोलेर इतिहासलाई जीवन्त राख्न गरेको यो प्रयासलाई कसैले औपचारिक रूपमा सम्झिएन । मलाई कतैबाट सम्मानको आशा त थिएन, तर कदर नहुँदा अलिकति खल्लोचाहिँ लाग्छ । मेरो लागि त जनताको माया र यो गीतले इतिहासमा राखेको महत्त्व नै सबैभन्दा ठुलो सम्मान हो ।

  • यस्ता ऐतिहासिक घटना र व्यक्तित्वको गीत–संगीत बनाउनु कत्तिको आवश्यक छ ?

निकै आवश्यक छ । गीत–संगीत भनेको मनोरञ्जन मात्र होइन, यो इतिहासको अभिलेख पनि हो । मैले पासाङ ल्हामु शेर्पाको बारेमा पनि गीत बनाएको थिएँ । उहाँको शव ल्याएर घरमा पूजा गर्दाको त्यो क्षणलाई मैले गीतमा उतारेको थिएँ । गीतकै माध्यमबाट नयाँ पुस्ताले मदन भण्डारी को हुनुहुन्थ्यो, दासढुङ्गामा के भएको थियो भन्ने कुरा थाहा पाउँछन् । आजका युवाहरू जो मदन भण्डारीको समयमा जन्मिएका थिएनन्, उनीहरूका लागि यो गीत एक किसिमको अध्ययन सामग्री बन्न सक्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप