सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
रातोपाटी ब्रिफिङ

१० बजे १० समाचार : प्रधान न्यायाधीशमा प्रस्तावित डा. शर्माविरुद्ध ७ वटा उजुरी, मनोनयनले झन् बढायो कांग्रेसमा विवाद

आइतबार, ०३ जेठ २०८३, २२ : ००
आइतबार, ०३ जेठ २०८३

आज २०८३ जेठ ३ गते आइतबार । आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ–

आजका मुख्य समाचारमा प्रधान न्यायाधीशमा प्रस्तावित डा. शर्माविरुद्ध ७ वटा उजुरी, मनोनयनले झन् बढायो कांग्रेसमा विवाद, सरकारलाई सुकुमबासीको चेतावनी, मदन–आश्रितको ३३औँ स्मृति दिवस : एमाले पटक–पटक सत्तामा पुग्दा पनि खुलेन रहस्य, प्रचण्डको टिप्पणी– बालेन शाहको नियत राम्रो छैन, ‘फ्रि भिसा, फ्रि टिकट’ भए पनि म्यानपावर कम्पनीले ३ लाख मागेपछि.. लगायत छन् ।

१. प्रधान न्यायाधीशमा प्रस्तावित डा. शर्माविरुद्ध ७ वटा उजुरी
प्रधान न्यायाधीशका लागि सिफारिस गरिएका डा. मनोज शर्माविरुद्ध संसदीय सुनुवाइ समितिमा ७ वटा उजुरी परेका छन् । संवैधानिक परिषदले सर्वोच्च अदालतका चौथो वरीयतामा रहेका न्यायाधीश शर्मालाई प्रधान न्यायाधीश पदका लागि सिफारिस गरेको थियो । संसदीय समितिले अनुमोदन गरेपछि मात्र नियुक्ति हुने बाटो खुल्नेछ ।

२. मनोनयनले झन् बढायो कांग्रेसमा विवाद
नेपाली कांग्रेसभित्रको विवाद पछिल्लो समय झन् बढेको छ । सभापति गगन थापाले निवर्तमान सभापति शेरबहादुर देउवा र डा. शेखर कोइराला पक्षका १९ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेपछि विवाद झन् गहिरिएको हो ।

३. सरकारलाई सुकुमबासीको चेतावनी
भूमिहीन तथा सुकुमबासी समुदायले बस्तीमा डोजर चलाउने कार्य तत्काल रोक्न सरकारलाई चेतावनी दिएका छन् । बुटवलमा आइतबार विरोध प्रदर्शनपछि सुकुमबासी अगुवाले सम्मानपूर्वक बाँच्न पाउने अधिकार सुनिश्चित गर्न राज्यलाई आग्रह गरे ।

४. मदन–आश्रितको ३३औँ स्मृति दिवस : एमाले पटक–पटक सत्तामा पुग्दा पनि खुलेन रहस्य
चितवनको दासढुङ्गामा रहस्यमय जीप दुर्घटनामा नेकपा एमालेका तत्कालीन महासचिव मदन कुमार भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको निधन भएको ३३ वर्ष पूरा भएको छ । एमाले पटक–पटक सत्तामा पुग्दासमेत यो दुर्घटना अझै पनि रहस्यकै गर्भमा छ ।

५. प्रचण्डको टिप्पणी– बालेन शाहको नियत राम्रो छैन
नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहको नियत राम्रो नभएको बताएका छन् । आइतबार वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले सरकारमाथि विभिन्न खालका संशय र प्रश्न रहेकाले समर्थन गर्न नसकिने प्रस्ट पारे ।

६. ‘फ्रि भिसा, फ्रि टिकट’ भए पनि म्यानपावर कम्पनीले ३ लाख मागेपछि..
‘फ्रि भिसा, फ्रि टिकट’ प्रावधानका बाबजुद म्यानपावर कम्पनीले वैदेशिक रोजगारीमा जान लागेका युवासँग तीन लाख रुपैयाँ मागेपछि प्रहरीले म्यानपावर कम्पनीमा छापा मार्नुका साथै कारबाही प्रक्रिया अघि बढाएको छ ।

७. कुलो विवादमा दाजुभाइको हत्या
नुवाकोटको म्यगङ गाउँपालिकाका समराज तामाङ र उनका भाइ सूर्यमान तामाङको हत्यामा संलग्न दुई जना पक्राउ परेका छन् । कुलोको विवादमा उनीहरूको हत्या भएको प्रहरीले जनाएको छ ।

८. घरजग्गा कारोबार बढ्न थाल्यो
लामो समयदेखि मन्दीको सामना गरिरहेको नेपालको घरजग्गा कारोबारमा सुधारको सङ्केत देखिएको छ । गत वर्षको वैशाख महिनाको तुलनामा यो वर्षको वैशाखमा घरजग्गाको कारोबार बढेको हो ।

९. चिनीबारे चिन्ता
भारत सरकारले सन् २०२६ को सेप्टेम्बर ३० सम्मका लागि चिनी निकासी (निर्यात)मा प्रतिबन्ध लगाएपछि नेपालमा चिनीको अभाव हुने हो कि भन्ने आशङ्का देखिएको छ । चिनीको स्टक पर्याप्त रहेको भन्दै मन्त्रालय र चिनी उत्पादक संघले आश्वस्त पार्न खोजे पनि उद्योगी र व्यवसायीहरूमा चिन्ता छाएको छ ।

१०. मुख्यमन्त्री कार्यालयकै गेटमा तीन दिनदेखि धर्ना
सल्यानको कालीमाटी गाउँपालिका–७ का वडा अध्यक्ष मित्रलाल रिजाल वीरेन्द्रनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको गेटमा तीन दिनदेखि धर्नामा बस्दै आएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप