बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय
३३औँ मदन–आश्रित स्मृति

एमाले पटक–पटक सत्तामा पुग्दा पनि खुलेन दासढुङ्गा दुर्घटनाको रहस्य

आइतबार, ०३ जेठ २०८३, १९ : ३०
आइतबार, ०३ जेठ २०८३

सारांश

  • चितवनको दासढुङ्गामा रहस्यमय जीप दुर्घटनामा नेकपा एमालेका तत्कालीन महासचिव मदन कुमार भण्डारीको निधन भएको ३३ वर्ष पूरा भएको छ ।
  • यो दुर्घटनालाई षड्यन्त्रमूलक हत्या भएको आरोप लगाउँदै आएका एमालेका नेताहरू सरकारमा पुगेको बेला अनुसन्धान गरी हत्यारा पत्ता लगाउन तदारुकता देखाउन सकेनन् ।
  • यद्यपि, उच्चस्तरका राजनीतिक हत्याहरूको छानबिन जटिल हुने र घटनाका प्रत्यक्षदर्शी अमर लामाको रहस्यमय हत्याले अनुसन्धान थप जटिल बनेको पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताएका छन् ।

काठमाडौँ । चितवनको दासढुङ्गामा रहस्यमय जीप दुर्घटनामा नेकपा एमालेका तत्कालीन महासचिव मदन कुमार भण्डारीको निधन भएको ३३ वर्ष पूरा भएको छ । यो दुर्घटना अझै पनि रहस्यकै गर्भमा छ ।

२०५० साल जेठ ३ एमाले कास्कीको तेस्रो अधिवेशन सकेर चितवन आउने क्रममा जीप दुर्घटना परेर भण्डारीको निधन भएको थियो ।

यस अवधिमा भण्डारीका उत्तराधिकारी माधव कुमार नेपाल, झलनाथ खनाल र केपी शर्मा ओली प्रधानमन्त्री बने । उनको पार्टी नेकपा एमाले १३ पटकसम्म सरकारको महत्त्वपूर्ण हिस्सेदार बन्यो । भण्डारीको निधनलाई दुर्घटना नभई षड्यन्त्रमूलक हत्या भएको आरोप लगाउँदै आएका एमालेका नेताहरू सरकारमा पुगेको बेला अनुसन्धान गरी हत्यारा पत्ता लगाउन तदारुकता देखाउन सकेनन् ।

भण्डारीकी पत्नी विद्यादेवी भण्डारी रक्षामन्त्री हुँदै देशकै पहिलो महिला राष्ट्रपति भइन् । उनी २०७२ देखि २०७९ साल फागुनसम्म राष्ट्रपति थिइन् । २०७४ सालमा भएको निर्वाचनमा वामपन्थी गठबन्धनले दुई तिहाइ नजिक मत ल्याएको थियो । दासढुङ्गा दुर्घटना छानबिन समितिका संयोजक रहेका ओली शक्तिशाली प्रधानमन्त्री बने । सरकारमा जानुअगाडि दासढुङ्गा दुर्घटनालाई हत्याकाण्डको संख्या दिएका ओली आफैँ पटक–पटक प्रधानमन्त्री हुँदा सरकारको तर्फबाट छानबिन गरी यथार्थ बाहिर ल्याउन चासो देखाएनन् । सरकारमा जानुअघि एक टेलिभिजनलाई दिएको अन्तर्वातामा गिरिजाप्रसाद कोइराला नेतृत्वको तत्कालीन सरकारले छानबिन गर्नै नमानेको आरोप ओलीले लगाएका थिए ।

‘तत्कालीन सरकारले छानबिन गर्न पनि मानेन । छानबिन नै गर्नुपर्दैन भन्यो । छानबिनको माग गर्ने कम्तीमा २२ जनालाई गोली हानेर मार्‍यो । हामी सरकारमा गएपछि यसबारे छानबिन गरेर हत्यारा पत्ता लगाउँछौँ’, ओलीले भनेका थिए ।

२०७१ सालमा एमालेको नवौँ महाधिवेशनबाट पार्टी नेतृत्वमा आएका ओली २०७२, २०७४ र २०८१ मा चार पटक प्रधानमन्त्री बने । २०७४ सालमा दुई तिहाइ बहुमतको शक्तिशाली प्रधानमन्त्री बन्दा राज्यसंयन्त्र उनकै नियन्त्रणमा थियो । २०७९ को निर्वाचनपछि तत्कालीन माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्वमा गठित सरकारको मुख्य घटक एमाले नै थियो । २०८१ साल असारमा सबैभन्दा ठुलो दल कांग्रेसको समर्थनमा प्रधानमन्त्री बनेका ओली गत वर्ष भदौमा भएको जेनजी आन्दोलनबाट पदमुक्त भएका थिए ।

यद्यपि पूर्वपरराष्ट्रमन्त्री तथा एमालेका नेता प्रदीप ज्ञवालीले यसलाई दुई कोणबाट व्याख्या गरेका छन् । पहिलो, उच्चस्तरका राजनीतिक हत्याहरू छानबिन गर्न संसारभरि नै जटिल रहेको उनको तर्क छ । अर्को, घटनाका प्रत्यक्षदर्शी अमर लामाको रहस्यमय हत्या भएकाले अनुसन्धान थप जटिल बनेको उनले रातोपाटीसँगको अन्तर्वार्तामा बताएका थिए ।

‘अमेरिकामा जोन एफ केनेडीको हत्याको सम्पूर्ण तथ्य अहिलेसम्म बाहिर आएको छैन, जबकि केनेडी परिवार नै राजनीतिमा शक्तिमै छ । भारतमा इन्दिरा गान्धी र राजीव गान्धीका कतिपय कुराहरू अझै रहस्यमै छन् । यस्ता हत्यामा प्रयोग हुने शक्ति देशको अनुसन्धान निकायभन्दा बलियो र चलाख हुँदो रहेछ,’ उनले भनेका थिए ।

सो घटनाको अन्तिम सूत्र मानिएका अमर लामालाई पनि रहस्यमयी ढंगले हत्या गरिएका कारण यथार्थ कुरा बाहिर ल्याउन कठिन भएको ज्ञवालीको भनाइ थियो । ‘माओवादीले अमर लामालाई किन मार्नुपर्थ्यो ? मदनप्रति माया र अमर लामाप्रति घृणा थियो भने त उनलाई समातेर प्रहरीलाई बुझाउनुपर्ने थियो, ताकि प्रमाण नष्ट नहोस् । यसले झन् बढी प्रश्न खडा गरेको छ,’ उनले भनेका थिए, ‘त्यसैले रहस्य पत्ता लाग्न नसकेको यथार्थ हो । हाम्रो प्रयास पनि कतिपय सन्दर्भमा अपुरो भयो होला, तर कुनै न कुनै दिन यो रहस्यको पर्दा उदघाटित हुनैपर्छ भन्ने मलाई विश्वास छ ।’

पुराना वामपन्थी नेता केशवलाल श्रेष्ठले पनि ज्ञवालीको तर्कसँग मिल्नेगरी उच्चस्तरीय राजनीतिज्ञहरूको हत्याको तथ्य बाहिर ल्याउन जटिल हुने गरेको जिकिर गरे । ‘अमेरिकाका राष्ट्रपति जोन एफ केनेडीको हत्या भएको कति वर्ष भयो । यस्तै भारतमा इन्दिरा गान्धी र राजीव गान्धी गान्धीको हत्या अहिलेसम्म पनि रहस्यमै छन्’, श्रेष्ठले भने, ‘मदनजी र जीवराजजीको हत्या सम्बन्धमा पनि सरकार र नागरिकस्तरमा विभिन्न आयोग बन्यो । यी आयोगका प्रतिवेदन अंशका रूपमा प्रकाशित भए । पूरै सार्वजनिक भएनन् । एमालेले छानबिन गर्नै नचाहेको भन्दा पनि यस्ता घटनाहरू रहस्यमय नै हुन्छन् ।’

एमालेको मार्गदर्शक सिद्धान्त जनताको बहुदलीय जनवाद (जबज)का प्रणेता तथा चर्चित जननेता भण्डारी दुर्घटनाअघि कास्की जिल्लाको तेस्रो अधिवेशनलाई सम्बोधन गर्न पोखरा गएका थिए । जेठ ३ गते पोखराको दीपेन्द्र सभागृहमा आयोजित अधिवेशनलाई सम्बोधन गरी तत्कालीन महासचिव भण्डारी सहित संगठन विभाग प्रमुख आश्रित र ऋषिराम कट्टेल दिउँसो ३ बजे बा.अ.च ८७९३ नम्बरको चितवनतर्फ आएका थिए ।

ड्राइभर सिटतर्फ भण्डारी, पछाडि सिटमा आश्रित र कट्टेल बसेका थिए । गाडी चालक अमर लामा थिए । गोरखा जानुपर्ने भएकाले कट्टेल तनहुँको आँबुखैरेनीमा ओर्लिएका थिए । बिहानैदेखि पानी परिरहेका हुनाले त्यसदिन मौसम खराब थियो । करिब ५ः३० बजे दासढुङ्गामा पुगेपछि अनियन्त्रित भएर गाडी १५० फिट तल त्रिशुलीमा खसेको थियो । छानबिन आयोगको रिपोर्ट अनुसार गाडीको गति ५०–६० किलोमिटर प्रतिघण्टा थियो । दुर्घटना पश्चात् लामाले चितवन पुगेर केन्द्रीय कार्यालय र जिल्ला प्रहरीलाई खबर गरेका थिए ।

घटनाको खबर पाउनासाथ सुरक्षाकर्मी खोजी तथा उद्धारमा परिचालित भए । भोलिपल्ट सुरक्षाकर्मीले मदन भण्डारी चढेको गाडी त्रिशुलीमा फेला पारे । आश्रित गाडीभित्रै मृत अवस्थामा भेटिएका थिए । भण्डारीको शव जेठ ५ गते करिब ३५ किलोमिटर तल नारायणी नदीमा भेटिएको थियो ।

त्यस दुर्घटनाबारे छानबिन गर्न गिरिजाप्रसाद कोइराला नेतृत्वको तत्कालीन सरकारले जेठ ४ गते पूर्वन्यायाधीश प्रचण्डराज अनिलको नेतृत्वमा छानबिन समिति गठन गर्‍यो । तर सरकारी छानबिन समितिलाई एमालेले अस्वीकार गरेर स्थायी समिति सदस्य केपी ओलीको नेतृत्वमा अर्को समिति बनायो । असार ३ गते प्रधानमन्त्री समक्ष पेस गरेको अनिल आयोग प्रतिवेदले कुनै हत्या नभई दुर्घटना भएको निष्कर्ष निकाल्यो । प्रतिवेदन अनुसार दुर्घटनाको कारण गाडीको स्पिड तीव्र भएको र चालकको लापरवाही देखिएको निष्कर्ष थियो ।

यता जेठ ५ गते ओलीको नेतृत्वमा एमालेले बनाएको छानबिन समितिले दासढुङ्गा दुर्घटना नभई षड्यन्त्रमूलक हत्या भएको निष्कर्ष निकाल्यो । असार ३ गते केन्द्रीय कार्यालयलाई बुझाएको प्रतिवेदन सार्वजनिक नगरे पनि १५ बुँदे निष्कर्ष सञ्चारमाध्यम मार्फत सार्वजनिक गरियो ।

अनिल आयोगको प्रतिवेदन जलाउँदै निष्पक्ष छानबिन गर्न अर्को आयोग गठन गर्न एमालेले आन्दोलन चर्कायो । आन्दोलन हिंसात्मक बन्दै गएपछि सरकारले असार ७ गते पूर्वन्यायाधीश त्रिलोक प्रताप राणाको नेतृत्वमा अर्को आयोग गठन गरेको थियो । त्यस आयोगले पनि भण्डारीको हत्या नभई चालकको लापरबाहीका कारण दुर्घटना भएको निष्कर्ष निकाल्यो । यस्तै नागरिक समाजको तर्फबाट पद्मरत्न तुलाधरको नेतृत्वमा अर्को छानबिन समिति गठन भएको थियो । तुलाधर समितिले भण्डारीको दुर्घटना नभई रहस्यमय हत्या भएको निष्कर्ष निकालेको थियो ।

एमालेका नेता प्रदिप ज्ञवालीका अनुसार त्यो घटनापछि सुरुमा अनिल आयोग बन्यो । तर त्यो ‘बायस’ छ भनेर आन्दोलन गर्ने क्रममा धेरै कार्यकर्ताले ज्यान गुमाएको उनले बताए । पछि सरकारले राणाको नेतृत्वमा अर्को आयोग बनायो, जसलाई एमालेले स्वीकार गरेको उनले स्मरण गरे ।

यता नागरिकस्तरमा तुलाधर र पार्टीबाट ओलीको नेतृत्वमा छुट्टाछुट्टै आयोग बनेको ज्ञवालीले स्मरण गरे । तर यी तीन वटै आयोगले सामान्य दुर्घटना नभनेको ज्ञवालीको तर्क छ ।

‘यी तीन वटै आयोगले यसलाई सामान्य दुर्घटना भनेका छैनन् । त्रिलोक प्रताप राणा आयोगले समेत मदनको भिसरा परीक्षण गर्न लण्डन पठाइएको, तर त्यो सही ढंगले सुरक्षित नराखिएकाले यथार्थ रिपोर्ट आउन सकेन भन्यो’, उनले भने, ‘त्यसैलाई आधार बनाएर उसले अहिलेसम्मको अध्ययनले षड्यन्त्र वा हत्या भन्न मिल्दैन  भन्दै जेनेरलाइज गर्‍यो । तर उसले भिसरा किन सुरक्षित राखिएन भन्ने ठुलो प्रश्नवाचक चिह्न खडा गरेको थियो । पद्मरत्न तुलाधर र केपी ओलीको आयोगले त षड्यन्त्रकै पुस्ट्याइँ गरेको छ ।’

वामपन्थी नेता केशवलाल श्रेष्ठले दासढुङ्गा दुर्घटनाको सम्बन्धमा एमालेले अनुसन्धान नै गर्न नचाहेको भए छानबिन समिति नै नबन्ने बताए । ‘तत्कालीन सरकारले गठन गरेको आयोगप्रति विश्वास नलागेर नै पार्टीले छुट्टै छानबिन समिति बनाएको हो । चासो नदिएको वा नचाहेको भए समिति नै बन्दैनथ्यो’, श्रेष्ठले भने ।

चितवन जिल्ला अदालतले लापरबाही तरिकाले गाडी चलाएकोमा अमर लामालाई पाँच वर्ष कैद र पाँच सय रुपैया जरिवानाको फैसला सुनाएको थियो । २०६० साल साउन ११ गते कीर्तिपुरमा लामाको हत्या भएको थियो ।  

ओली नेतृत्वको समितिले सम्बन्धित व्यक्तिहरूसँग बयान लिने, घटना सम्बद्ध स्थानहरूको भ्रमण गरी तथ्यहरूको सङ्कलन गर्ने, घटनास्थलको सुक्ष्म अध्ययन गर्ने, सम्बन्धित गाडीको प्राविधिक जाँच गर्ने, पुनः शव–परीक्षण गराई रासायनिक जाँच गराउने र पत्र–पत्रिकाहरूमा प्रकाशित सम्बद्ध तथ्यहरूको सङ्कलन गर्ने काम गरेको थियो ।

ओली प्रतिवेदनको १५ बुँदे निष्कर्ष :

१. घटनास्थलको बाटो फराकिलो, सोझो, एकदमै सामान्य ढङ्गको ओरालो मात्र भएको, दुर्घटना स्थलस्थित सडकको बायाँपट्टी पहाडी भित्ताभन्दा पहिले फराकिलो र खाली भएको, गाडी बायाँ च्यापिएर गइरहेको, एक्सिलेटर छाडेको र दायाँ–बायाँ काटिएको कारणले नियन्त्रण गर्न नसकिने गतिमा गाडी नरहेको अवस्थामा गाडी गुडेर नै सडकबाट नदीतर्फ खसेको छ । गाडीले पहिलो ठक्कर खाए पछाडि नै गाडी बल्ड्याङ्ग खाँदै नदीमा झरेको देखिन्छ ।

२. गाडीको अवस्था प्रत्येक दृष्टिकोणले राम्रो छ र गाडीको प्राविधिक त्रुटिबाट दुर्घटना भएको देखिँदैन ।

३. गाडीको ब्रेक राम्रो अवस्थामा छ र ड्राइभरले ब्रेक लगाउने पटक्कै प्रयास गरेको देखिँदैन ।

४. सडकको दायाँ छेउमा रहेको झोपडीलाई र बायाँ भित्तामा ठोक्किनबाट गाडीलाई बचाउन सकेबाट गाडी ड्राइभर अमर लामाको पूर्ण नियन्त्रणमा रहेको देखिन्छ । यस्तो अवस्थामा गाडीलाई दाहिने खोलातर्फ घुमाएर ब्रेक लगाउने कोसिससम्म नगरी, बायाँ घुमाउने प्रयास नगरी र दिवङ्गत कमरेडहरूलाई सचेत गराउने एक शब्दसम्म नबोली आफू उम्कन तयारी गरी सडकको डिलमा पुगेर ड्राइभर अमर लामा हामफालेको देखिन्छ । आफू हामफाल्नु अगाडि ड्राइभर लामाले गाडीको ट्रान्समिसन गियरलाई न्यूटल राखेर निस्किएको छ । यसबाट अमर लामाले जानी–जानी र देखिएको परिणाम होस् भन्ने इच्छा राखेर सुनियोजित ढङ्गले काम गरेको देखिन्छ ।

५. गाडीको पछाडि–पछाडि खोला पुगेर उद्धारको कार्यमा संलग्न नभई मुखको रगत धुने, लुगाको हिलो पखाल्ने, शरीरमा पानी छ्याप्ने र घटनास्थलमा पन्ध्र मिनेट पनि नबसेर अरूलाई सम्बन्धित निकायमा खबर गर्न पठाएर आफू उद्धारको लागि जुट्नुपर्ने स्वाभाविक प्रतिक्रियाको प्रतिकूल नारायणगढ गएर झुटो सूचना प्रवाहित गर्नुबाट ड्राइभर अमर लामा सुनियोजित षड्यन्त्रको एउटा हिस्सा भएको प्रमाणित हुन्छ ।

६. घटनास्थलमा रहेको बालुवा तथा भुसको थुप्रोलाई आधार बनाएर गाडीलाई खोलातर्फ झार्दामात्र अहिले प्राप्त परिणाम देखिने, थुप्राहरू नियोजित देखिने उक्त बालुवाको थुप्रो स्वाभाविक रूपमा राखिएको भन्ने एउटा पनि तथ्य फेला पर्न नसकेको अवस्थामा उक्त थुप्राहरू, षड्यन्त्रलाई व्यवहारमा कार्यान्वयन गर्ने एउटा चिह्नको रूपमा आयोगले ग्रहण गरेको छ ।

७. दिवङ्गत कमरेडहरूलाई गाडी खस्दै रहेको अवस्थामा सचेत गराउने एक शब्द पनि नबोल्ने, पार्टीलाई निरन्तर भ्रमित तुल्याउँदै गलत सूचना प्रवाह गर्ने र पार्टीसँग मतलब नरहेको अभिव्यक्ति प्रकट गर्नेजस्ता तथ्यहरूले गर्दा ड्राइभर अमर लामाको पार्टीप्रति कुनै आस्था तथा निष्ठा रहेको देखिँदैन, तर मानसिक रूपले ड्राइभर लामाको स्थिति भने स्वार्थ र कुनै पश्चात्ताप नभएको कुरा मनोरोग विशेषज्ञको रिपोर्टबाट देखिन्छ ।

८. कमरेड जीवराज आश्रितको मृत्यु गाडीमै रहेको अवस्थामा पानी बाहिर भएको तथ्य प्रमाणित छ । तर कमरेड मदन भण्डारीको हकमा केही महत्त्वपूर्ण पक्षहरू प्रस्ट भएपछि मात्र उहाँको अवसान कहाँ भएको हो भनेर निश्चित गर्न सकिने अवस्था छ । 

९. कमरेड मदन भण्डारीको मृत्यु पानी बाहिर भएको प्रमाणित छ, तर उहाँको लास जाँच प्रतिवेदनले गाडी खस्दाको ठक्कर वा अन्य प्रकारको चोटले उहाँको मृत्यु भएको हुन सक्ने दुवै सम्भावनालाई देखाएको छ ।

१०. कमरेड मदन भण्डारी बस्नुभएको गाडीको सिट र हेडरेष्टमा देखिएको कालो दाग र ड्राइभर लामाको कपडामा देखिएको रगतजस्ता दागहरूको रासायनिक जाँच भएको छैन । यसको जाँच हुनु एकदमै आवश्यक छ ।

११. दिवङ्गत कमरेडहरूमाथि उच्च प्रविधियुक्त जाँचबाट मात्र पत्ता लाग्न सक्ने र अहिलेसम्म जाँच नगरिएको विषको प्रयोग भएको हुनसक्छ । यसको निरूपण हुनु आवश्यक छ र यसको लागि रोनाष्टको प्रयोगशालामा राखिएको भिसेराहरूलाई जाँचको लागि प्रविधिको हिसाबले स्कटलैण्डस्थित प्रयोगशालामा पठाइनु पर्छ ।

१२. उच्च प्रविधियुक्त जाँचबाट विषको प्रयोग भएको नदेखिएमा दिवङ्गत कमरेडहरूमाथि औषधिको प्रकृतिको कारणले जाँचबाट पत्ता लाग्न नसक्ने सुँघाउने औषधिको प्रयोग भएको हुनुपर्छ भन्ने निष्कर्षमा आयोग पुगेको छ ।

१३. दासढुङ्गा घटनाको सन्दर्भमा देखिएको सुनियोजित तथा व्यवस्थित षड्यन्त्र र घटनापश्चात् पनि मुख्य अभियुक्त ड्राइभर अमर लामाले पाइरहेको आड भरोसा तथा संरक्षणबाट यसको पछाडि गम्भीर र उच्चस्तरको षड्यन्त्र रहेको आयोगको ठहर छ ।

१४. अमर लामा एक्लैले यो स्तरको हत्या गर्न सम्भव छैन । तथ्यहरूले उच्चस्तरको षड्यन्त्र देखाइरहेको छ । यस सम्बन्धमा वास्तविकता पत्ता लगाएर षड्यन्त्रकारीहरूलाई जनता समक्ष उभ्याउने दायित्व सरकारको हो र अहिलेसम्म यो दायित्व वहन गर्ने प्रयास सरकारले गरेको देखिएको छैन ।

१५. अन्त्यमा दासढुङ्गा घटना पश्चात् सरकारले उद्धार कार्यको हकमा प्रचारमा बढी र व्यवहारमा भने उदासीनता तथा लापरबाही देखाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश पाण्डे
गणेश पाण्डे

रातोपाटीका वरिष्ठ संवाददाता पाण्डे राजनीतिक तथा समसामियक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप