शनिबार, २० असार २०८३
ताजा लोकप्रिय

एमाले सचिवालय बैठक आज :  नेताहरूको कार्यविभाजन गर्ने तयारी

सोमबार, ०४ जेठ २०८३, ०७ : १४
सोमबार, ०४ जेठ २०८३

सारांश

  • नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज अध्यक्ष केपी शर्मा ओलीको निवासमा बस्दैछ ।
  • बैठकमा ११औँ महाधिवेशनपछि नेताहरूको कार्यविभाजन, केन्द्रीय विभाग तथा निकायहरूमा जिम्मेवारी बाँडफाँट गरिनेछ ।
  • यसैगरी बैठकले निर्वाचनको समीक्षा गर्न केन्द्रीय कमिटी बैठकको मिति तोक्ने र सुकुमबासी समस्या तथा सरकारका कामकारबाहीबारे छलफल गर्नेछ ।

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्दैछ । 

कार्यालय सचिव डा. भीष्म अधिकारीका अनुसार पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा दिउँसो १ बजे बैठक बस्न लागेको हो । यसअघि जेठ २ गते बस्ने भनिएको बैठक तयारी नपुगेको भन्दै आजका लागि सारिएको थियो ।

११औँ महाधिवेशनपछि नेताहरूको कार्यविभाजन नभएकाले आजको मुख्य एजेन्डा यसमै केन्द्रित हुने नेताहरूले बताएका छन् । एक पदाधिकारीले भनेका छन्, ‘केन्द्रीय सदस्यहरूलाई पालिका स्तरको जिम्मेवारी दिएर पठाउने तयारी छ ।’ 

ती पदाधिकारीका अनुसार हरेक केन्द्रीय सदस्यलाई पालिकाको इन्चार्ज बनाएर आगामी स्थानीय तहको निर्वाचनमा पार्टीलाई बलियो बनाउन निर्देशन दिइनेछ । यसैगरी केन्द्रीय विभाग तथा निकायहरूमा पनि जिम्मेवारी बाँडफाँट गर्ने तयारी छ ।

आजको बैठकले गत फागुनमा भएको निर्वाचनको समीक्षा गर्न केन्द्रीय कमिटी बैठकको मिति समेत तोक्ने ती पदाधिकारीले जानकारी दिए । यसका साथै बैठकमा सरकारले जबरजस्ती हटाएका सुकुमबासी, उनीहरूको व्यवस्थापन र सरकारका पछिल्ला कामकारबाहीले जनतामा पारेको नकारात्मक असरका बारेमा पनि छलफल हुने नेताहरूले बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप