एमालेको यूटर्न : विद्यालाई सक्रिय राजनीति गर्ने बाटो खुला
सारांश
- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीति गर्ने बाटो खुला भएको छ ।
- एमाले सचिवालय बैठकले भण्डारीको सदस्यता खुला गर्ने निर्णय गरेसँगै उनलाई सक्रिय राजनीति गर्ने बाटो खुलेको हो ।
- पार्टीभित्रैबाट ओलीमाथि घेराबन्दी, नेतृत्व हस्तान्तरणको दबाब, पार्टी एकताको आवश्यकता लगायतका कारणले विद्या भण्डारीका सवालमा एमाले यूर्टन हुन पुगेको हो ।
काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीति गर्ने बाटो खुला भएको छ । सोमबार बसेको एमाले सचिवालय बैठकले भण्डारीको सदस्यता खुला गर्ने निर्णय गरेसँगै उनलाई सक्रिय राजनीति गर्ने बाटो खुलेको हो ।
भण्डारीको सदस्यता खुला भएसँगै नेकपा एमालेको नेतृत्व र पार्टी एकताको प्रक्रिया समेत अघि बढ्ने सङ्केत देखिएको छ ।
यसअघि नवीकरण भएको भण्डारीको सदस्यता समेत अध्यक्ष केपी ओलीको चाहानामा खारेज गरिएको थियो । सदस्यता खारेज भएपछि भण्डारी एमाले नेतृत्वसँग असन्तुष्ट बनेकी थिइन् । २०८२ साल साउन पहिलो साता बसेको एमाले केन्द्रीय कमिटी बैठकले भण्डारीको सदस्यता खारेज गरेको थियो ।
२०७९ सालमा राष्ट्रपतिको कार्यकाल पुरा गरेसँगै भण्डारी एमालेको सक्रिय राजनीतिमा फर्कन चाहेकी थिइन् । तर भण्डारी सक्रिय राजनीतिमा फर्कँदा अध्यक्ष ओलीको तेस्रो पटक अध्यक्ष बन्ने चाहनामा बाधा पुग्ने देखेर उनले भण्डारीको सदस्यता नै खारेज गरेका थिए ।
त्यसक्रममा एमालेले पूर्वराष्ट्रपतिको गरिमा कायम गर्न पनि उनले सक्रिय राजनीति गर्न नहुने र राष्ट्रको अभिभावकका रूपमा बस्नुपर्ने दलिल पेस गरेको थियो ।
भण्डारीले २०८२ साल असार १४ गते जननेता मदन भण्डारीको ७४ जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रमबाट आफू सक्रिय राजनीतिमा फर्केको घोषणा गरेकी थिइन् । भण्डारीको यो घोषणासँगै एमालेभित्र तरङ्ग फैलिएको थियो ।
त्यसपछि नेकपा एमालेले ८ कारण देखाउँदै पूर्व राष्ट्रपति भण्डारीको सदस्यता खुला नहुने बताएको थियो । एमालेले संविधानको भाग ६ का विभिन्न धाराहरू नै कोट गरेर भण्डारीलाई सदस्यता दिनबाट रोकेको थियो ।
‘नेपालको संविधानको भाग ६ धारा (६१) मा राष्ट्रपतिको व्यवस्था गरेको छ ।
सोही धाराको २ मा राष्ट्रपति देशको राष्ट्राध्यक्ष हुने सोही धाराको ३ मा राष्ट्रिय एकताको प्रवर्द्धक,सोही धाराको ४ मा संविधानको पालना र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुने र धारा २६७ को व्यवस्था बमोजिम नेपाली सेनाको परमाधिपति हुने व्यवस्था छ’ एमालेले त्यसवेला जारी गरेको विज्ञप्तिमा भनेको थियो ।
तर, गत फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा एमालेको लज्जास्पद पराजय, पार्टीभित्रैबाट ओलीमाथि घेराबन्दी, नेतृत्व हस्तान्तरणको दबाब, पार्टी एकताको आवश्यकता लगायतका कारणले विद्या भण्डारीका सवालमा एमाले यूटर्न हुन पुगेको हो ।
सदस्यता खुला हुनु अघिल्लो दिनमात्र जननेता मदन भण्डारी र जिवराज आश्रितको स्मृति सभामा प्रमुख अतिथिका रूपमा विद्या मदननगर बल्खु पुगेकी थिइन् ।
पार्टीका औपचारिक फोरमहरूमा निषेध जस्तै भएकी भण्डारीलाई एकाएक जेठ ३ मा प्रमुख अतिथि बनाइएपछि एमालेभित्रको आन्तरिक शक्ति समीकरणमा ठुलो बदलाव आउने सङ्केतका रूपमा हेरिएको थियो।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण