सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

हेटौँडामा ऐतिहासिक ‘तुछिमला भैरव प्याखँ’ प्रदर्शन हुने

सोमबार, ०४ जेठ २०८३, २० : ३२
सोमबार, ०४ जेठ २०८३

मकवानपुर । नेपाली मौलिक कला र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले हेटौँडामा ऐतिहासिक एवम् सांस्कृतिक ‘तुछिमला भैरव प्याखँ’ प्रदर्शन गरिने भएको छ । नेप इभेन्ट्स इन्टरटेनमेन्टको आयोजनामा जेठ १५ गते नेवार समुदायको ऐतिहासिक एवम् सांस्कृतिक ‘तुछिमला भैरव प्याखँ’ प्रदर्शन गरिने भएको हो ।

‘हेरिटेजको प्रतिध्वनि’ नाराका साथ आयोजना गरिने उक्त कार्यक्रममा नेवार सम्प्रदायका विभिन्न कला समेत प्रदर्शन हुनेछ । कार्यक्रमकी संयोजक निलम वैद्यका अनुसार भक्तपुरको तुलाछें टोलबाट करिब ६०० वर्षअघि (मल्ल कालमा) सुरु भएको एवम् सांस्कृतिक ‘तुछिमला भैरव प्याखँ’ हेटौँडामा प्रदर्शन गरिने भएको हो ।

उक्त नाचको आफ्नै विशिष्ट पहिचान सहित नेवार समुदायको सांस्कृतिक तथा धार्मिक आस्था र सामुदायिक एकताको प्रतीकको रूपमा रहेको उनले बताइन् । देवी–देवताप्रति श्रद्धा प्रकट गर्न र समुदायमा शान्ति कायम गर्न उक्त नाच परम्परागत रूपमा नाचिँदै आएको उनले बताए । युवा पुस्तालाई सांस्कृतिक जगेर्नामा प्रोत्साहन गर्न उक्त कार्यक्रम आयोजना गरिएको उनको भनाइ छ ।

हेटौँडा–१ स्थित हिमालयन दरबार ब्यांक्वेटमा दिउँसो ४ बजेदेखि सुरु हुने उक्त कार्यक्रममा विभिन्न देवी–देवताका स्वरुपहरुको रोचक नृत्य प्रदर्शन हुनेछ । कार्यक्रममा भैरव, महाकाली, बाराही, कुमारी र महालक्ष्मी लगायतको नृत्य प्रदर्शन, खिचा प्याखँ, कवाँचा प्याखँः गरिने कार्यक्रम संयोजक वैद्यले बताइन् ।

उनका अनुसार आधुनिकताको बढ्दो प्रभावसँगै हराउँदै गएका मौलिक संस्कृतिहरूलाई नयाँ पुस्तासम्म पुर्‍याउन र स्थानीय पर्यटन प्रवर्द्धन गर्न उक्त कार्यक्रम आयोजना गरिएको हो । 

उक्त कार्यक्रमले भक्तपुर बाहिर ऐतिहासिक नाच प्रदर्शन हुनुले सांस्कृतिक आदानप्रदानमा ठुलो सहयोग पुग्ने अपेक्षा गरिएको छ। कार्यक्रमको अवलोकनका लागि प्रतिव्यक्ति टिकट दर एक हजार रुपैयाँ तोकिएको छ । कार्यक्रममा विभिन्न विधामा २५ जना बढीको नृत्य रहने छ भने बाध्यबादन सहित करिब १०० जनाले प्रस्तुति दिनेछन्। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप