सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

देवघाटमा पशुपक्षी तथा मत्स्य उत्पादन प्रवर्द्धन गरिँदै

सोमबार, ०४ जेठ २०८३, २३ : ०३
सोमबार, ०४ जेठ २०८३

तनहुँ । देवघाट क्षेत्रमा दूध उत्पादन वृद्धि तथा पशुपालनलाई व्यावसायिक र आधुनिक बनाउने उद्देश्यले ‘कालीगण्डकी कोरिडोर केन्द्रित पशुपक्षी तथा मत्स्य उत्पादन प्रवर्द्धन कार्यक्रम’ सञ्चालन गरिएको छ । भेटेरीनरी अस्पताल तथा पशुसेवा कार्यालय तनहुँले चालु आर्थिक वर्षमा २० लाख रुपैयाँ बराबरका विभिन्न कार्यक्रम सञ्चालन गरेको हो ।

कार्यालयको ९० प्रतिशत तथा गोहीटार कृषि सहकारी संस्था, देवघाटको १० प्रतिशत साझेदारीमा सञ्चालन गरिएको उक्त कार्यक्रमले स्थानीय कृषकमा उत्साह थपेको छ । कार्यक्रममार्फत पशुपालनलाई व्यवस्थित, उत्पादनमुखी र व्यावसायिक बनाउने लक्ष्य लिइएको कार्यालयका प्राविधिक रुद्रसिंह ठकुरीले जानकारी दिए ।

कार्यक्रमअन्तर्गत सहकारीमार्फत तीन वटा ठुला नयाँ गोठ निर्माण गरिएको छ भने चार वटा साना नयाँ गोठ निर्माण गरिएका छन् । यसै गरी, १९ वटा पुराना गोठ मर्मत गरी सुधार गरिएको छ । गोठ सुधारसँगै पशुपालनका लागि आवश्यक वातावरण निर्माण हुँदा कृषकलाई सहज भएको बताइएको छ ।

व्यावसायिक गाई भैँसी पालनसम्बन्धी तालिम सञ्चालन गरी कृषकलाई आधुनिक पशुपालन, पशुको आहार व्यवस्थापन, रोग नियन्त्रण तथा स्वच्छ दूध उत्पादनबारे व्यावहारिक ज्ञान प्रदान गरिएको ठकुरीले जानकारी दिए ।

पशु स्वास्थ्यलाई प्राथमिकता दिँदै सञ्चालन गरिएको स्वास्थ्य शिविरमार्फत गाई भैँसीका लागि आवश्यक भिटामिन, मिनरल तथा जुकाको औषधि वितरण गरिएको उनले उल्लेख गरे । नियमित स्वास्थ्य परीक्षण र औषधि वितरणले पशुमा रोगको जोखिम कम हुनुका साथै उत्पादन क्षमतामा वृद्धि हुने विश्वास गरिएको छ ।

दुग्ध व्यवसायलाई थप व्यवस्थित बनाउन सहकारीमा आबद्ध दुग्ध व्यवसायी तथा गाई भैँसी पालक कृषकलाई ७० वटा ‘स्टेनलेस स्टिल’का दूध बोक्ने क्यान वितरण गरिएको छ भने गाई भैँसीलाई आरामदायी राख्नका लागि विशेष म्याटसमेत उपलब्ध गराइएको छ ।

ठकुरीले कार्यक्रमले कृषकमा व्यावसायिक पशुपालनप्रति आकर्षण बढाएको बताए । उनका अनुसार गोठ निर्माण, तालिम, पशु स्वास्थ्य सेवा तथा आवश्यक सामग्री वितरणले दूध उत्पादनमा सकारात्मक प्रभाव देखिन थालेको छ ।

“कृषकलाई आधुनिक प्रविधिसहित व्यावसायिक पशुपालनतर्फ लैजान कार्यक्रम निकै प्रभावकारी बनेको छ”, उनले भने, “स्वच्छ दूध उत्पादन र पशुको स्वास्थ्य सुधारमा कार्यक्रमले महत्त्वपूर्ण योगदान पुर्‍याएको छ ।”

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप