बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

नेपाललाई 'वेलनेस' गन्तव्य बनाउन सामूहिक प्रतिबद्धता

मङ्गलबार, ०५ जेठ २०८३, १७ : ३२
मङ्गलबार, ०५ जेठ २०८३

ललितपुर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र जीवन विज्ञान प्रतिष्ठान आरोग्य अध्ययन केन्द्रको संयुक्त आयोजनामा 'आरोग्य संवाद: आरोग्य वर्ष २०२७ पूर्वतयारी विमर्श' कार्यक्रम सम्पन्न भएको छ। 

ललितपुरको ग्वार्कोस्थित होटल रोयल टुलिपमा आयोजित उक्त कार्यक्रममा सरकारी निकाय, निजी क्षेत्र र विज्ञहरूले नेपाललाई विश्वस्तरको आरोग्य (वेलनेस) गन्तव्यका रूपमा स्थापित गर्ने साझा प्रतिबद्धता व्यक्त गरेका छन्।
कार्यक्रमका प्रमुख अतिथि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्कराज पौडेल 'गणेश' ले नेपालमा रहेका प्राकृतिक सम्पदा, योग, ध्यान, आयुर्वेद र आध्यात्मिक परम्परालाई आरोग्य पर्यटनसँग जोडेर आर्थिक रूपान्तरणको नयाँ आधार निर्माण गर्नुपर्नेमा जोड दिए । उनले आरोग्यलाई केवल शारीरिक स्वास्थ्यको रूपमा मात्र सीमित नराखी मानसिक, सामाजिक र वातावरणीय आयामका रूपमा बुझ्नुपर्ने धारणा राख्दै यसलाई देशको अर्थतन्त्रसँग जोड्ने नीतिगत योजना अघि बढाइने बताए । 

कार्यक्रममा जीवन विज्ञानका संस्थापक भानु गुरुदेवले विश्व पर्यटन बजार क्रमशः 'वेलनेस टुरिजम' तर्फ रूपान्तरण भइरहेको उल्लेख गर्दै नेपालले यसबाट ठूलो लाभ लिन सक्ने बताए । उनका अनुसार अन्य पर्यटकको तुलनामा 'वेलनेस' पर्यटकहरू लामो समय बस्ने र बढी खर्च गर्ने भएकाले गण्डकी र लुम्बिनी प्रदेशलाई नमुना आरोग्य प्रदेशका रूपमा विकास गर्न सकिने सम्भावना रहेको छ। अर्का संस्थापक रमेश गुरुदेवले आरोग्यलाई जीवनशैली र व्यवहारसँग जोड्नुपर्ने बताउँदै ध्यानको अभ्यास समेत गराएका थिए । 

WhatsApp Image 2026-05-19 at 16.16.18

संवादका क्रममा जीवन विज्ञान प्रतिष्ठानका संयोजक एवं पूर्व मुख्यसचिव डा. वैकुण्ठ अर्यालले 'आरोग्य पर्यटन र आरोग्य वर्ष' सफल कार्यान्वयनका लागि कार्यपत्र प्रस्तुत गर्नुभएको थियो। सो अवसरमा पर्यटन सचिव मुकुन्द निरौला, स्वास्थ्य सचिव डा. विकास देवकोटालगायत विभिन्न मन्त्रालयका उच्च अधिकारी र उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले नेपाललाई विश्वस्तरको आरोग्य गन्तव्य बनाउन अन्तर-मन्त्रालय समन्वय र निजी क्षेत्रसँगको सहकार्य अनिवार्य रहेको औँल्याए ।

WhatsApp Image 2026-05-19 at 17.37.04

 सन् २०२७ लाई आरोग्य वर्षका रूपमा सफल बनाउन र नेपालको अन्तर्राष्ट्रिय पहिचान प्रवर्द्धन गर्न नीतिगत कार्यान्वयनमा तीव्रता दिइने आयोजकले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप