बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

एस्टन भिल्लालाई युरोपा लिग: ३० वर्ष पछिको पहिलो उपाधि

बिहीबार, ०७ जेठ २०८३, ०७ : १७
बिहीबार, ०७ जेठ २०८३

सारांश

  • एस्टन भिल्लाले ३० वर्षपछि युरोपा लिग उपाधि जितेको छ ।
  • यौरी तिलेमान, इमिलियानो बौन्डिया र मोर्गन रोजर्सको गोलमा भिल्लाले यस सि फ्राइबर्गलाई ३-० ले पराजित गर्‍यो ।
  • प्रशिक्षक उनाई एमरीको नेतृत्वमा भिल्लाले क्लबको इतिहासमा नयाँ उचाइ हासिल गरेको छ ।

इस्तानबुल । एस्टन भिल्लाले ३० वर्ष लामो उपाधि खडेरी अन्त्य गर्दै बुधबार राति इस्तानबुलमा भएको युरोपा लिग फाइनलमा यस सि फ्राइबर्ग माथि ३–० को प्रभावशाली जित निकालेको छ ।

स्पेनी प्रशिक्षक उनाइ इमरीको नेतृत्वमा मैदान उत्रिएको भिल्लाले खेलभर दबाब कायम राख्दै सहज जित हासिल गर्‍यो । योसँगै क्लबले सन् १९९५–९६ मा लिग कप जितेपछि पहिलो ठूलो उपाधि उचाल्न सफल भयो ।

भिल्लाका लागि यौरी तिलेमान र इमिलियानो बौन्डियाले पहिलो हाफमै आकर्षक गोल गर्दै टोलीलाई बलियो अवस्थामा पुर्‍याएका थिए । दोस्रो हाफ सुरु भएको केही समयमै मोर्गन रोजर्स ले अर्को गोल थपेपछि फ्राइबर्ग खेलमा फर्किन सकेन ।

खेलपछि प्रतिक्रिया दिँदै रोजर्सले भने, “यो भावनालाई शब्दमा व्यक्त गर्न गाह्रो छ । हामीले यसका लागि निकै मेहनत गरेका थियौँ । यो समर्थक र क्लबका लागि ऐतिहासिक क्षण हो ।”

भिल्लाका कप्तान जोन म्यकगिनले रङ्गशालाको बीचमा ट्रफी उचाल्दा क्लबका समर्थक हर्षले रमाएका थिए । खेल हेर्न आएका राजकुमार विलियम्स समेत टोलीको जितपछि खुसीयालीमा सहभागी बने । उनी बाल्यकालदेखि नै एस्टन भिल्लाका समर्थक मानिन्छन् ।

“उहाँ निकै सरल र उत्कृष्ट व्यक्ति हुनुहुन्छ,” म्याकगिनले प्रिन्स विलियमबारे भने, “उहाँ ठूलो भिल्ला समर्थक भएकाले यो खेल छुटाउने कुरा नै थिएन ।”

सन् २०२२ मा एमरी प्रशिक्षक बनेका बेला भिल्ला प्रिमियर लिगको रेलिगेसन क्षेत्र नजिक थियो । तर, उनको आगमनपछि टोलीले उल्लेखनीय सुधार गर्दै गत सिजन च्याम्पियन्स लिगमा स्थान बनाएको थियो । अब युरोपा लिग उपाधिसमेत जित्दै एमरीले क्लबलाई नयाँ उचाइमा पुर्‍याएका छन् ।

भिल्लाका फरवार्ड ओली वाक्तिन्सले पनि प्रशिक्षकको प्रशंसा गर्दै भने, “आज प्रशिक्षक निकै शान्त देखिन्थे, यसले टोलीलाई आत्मविश्वास दियो । यस्तो प्रदर्शन गर्नु अद्भुत अनुभव हो ।”

यता, इतिहासमै पहिलो युरोपियन फाइनल खेलेको फ्राइबर्ग भने भिल्लाको आक्रामक खेलअगाडि कमजोर साबित भयो । एक दशकअघि मात्र जर्मनीको दोस्रो डिभिजनमा रहेको टोलीले फाइनलसम्मको यात्रा गरे पनि उपाधि जित्ने सपना पूरा गर्न सकेन ।

यो उपाधिसँगै एमरीले पाँचौँ पटक युरोपा लिग जित्ने कीर्तिमानसमेत कायम गरेका छन् । उनले यसअघि सेभिया र भिल्लारियलसँग पनि यो प्रतियोगिता जितेका थिए ।

एजेन्सीको सहयोगमा 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप