नेतृत्व मिल्न नसकेपछि नयाँ दल खोल्ने गृहकार्यमा मधेसका युवा नेता
सारांश
- पार्टी अध्यक्षहरूको व्यक्तिगत स्वार्थका कारण दलहरूबीच एकता हुन नसकेपछि मधेसका युवा नेताहरू छुट्टै राजनीतिक दल गठन गर्ने गृहकार्यमा जुटेका छन्।
- जनता समाजवादी पार्टी (जसपा) नेपाल, राष्ट्रिय मुक्ति पार्टी नेपाल, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनता प्रगतिशील पार्टी, तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) का साथै नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) मा आबद्ध केही असन्तुष्ट मधेसी युवा नेताहरू नयाँ दलमा संलग्न हुने दाबी गरिएको छ।
- जसपा र लोसपाबीचको एकता प्रयासपछि एकीकृत पार्टीको नाम जनता समाजवादी पार्टी (जसपा) नेपाल राखिएको छ, जसमा उपेन्द्र यादव अध्यक्ष र महन्थ ठाकुर संरक्षक छन्, तर केन्द्रीय समितिमा पुरानै अनुहार दोहोरिँदा युवा नेताहरूमा चरम असन्तुष्टि बढेको छ।
काठमाडौँ । पार्टी अध्यक्षहरूको व्यक्तिगत स्वार्थ वा अडानका कारण दलहरूबिच एकता हुन नसकेपछि मधेसका युवा नेताहरू छुट्टै राजनीतिक दल गठन गर्ने गृहकार्यमा जुटेका छन् ।
मधेसमा नयाँ वैकल्पिक दल स्थापना गरेर अघि बढ्ने सोचका साथ प्रारम्भिक छलफल सुरु भइसकेको स्रोतले जनाएको छ ।
प्रस्तावित नयाँ दलमा जनता समाजवादी पार्टी (जसपा) नेपाल, राष्ट्रिय मुक्ति पार्टी नेपाल, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनता प्रगतिशील पार्टी, तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) का साथै नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) मा आबद्ध केही असन्तुष्ट मधेसी युवा नेताहरूको पनि संलग्नता रहने दाबी गरिएको छ ।
यसअघि, जसपा नेपालका संरक्षक महन्थ ठाकुरको नेतृत्वमा रहेको संघीय लोकतान्त्रिक मोर्चाले आबद्ध सबै दलहरूबिच एकता गर्ने निर्णय गरेको थियो, तर शीर्ष नेताहरूले आआफ्नो पद र प्रतिष्ठा छाड्न अस्वीकार गरेपछि एकता प्रयास विफल भयो । दलहरू एकीकृत हुन नसकेपछि अहिले तिनै पार्टीका दोस्रो र तेस्रो तहका युवा नेताहरू छुट्टै संगठन निर्माणको तयारीमा लागेका हुन् । नयाँ संगठन गठनको गृहकार्यमा जुटेका जसपा नेपालका एक नेताले भने, 'यस अभियानमा मधेसकेन्द्रित दलका युवाहरू मात्र होइन, कांग्रेस, एमाले र माओवादीलगायत दल सम्बद्ध युवाहरूको पनि सहभागिता छ । संगठन निर्माणका लागि पूर्वमन्त्री, सांसद तथा विभिन्न पार्टीका पदाधिकारीहरू समेत सक्रिय हुनुहुन्छ ।'
यस विषयमा राष्ट्रिय मुक्ति पार्टीका महासचिव केशव झाले भने अनभिज्ञता प्रकट गरेका छन् । उनले युवाहरूमा विकसित राजनीतिक परिस्थितिलाई लिएर असन्तुष्टि र उकुसमुकुस हुनु स्वाभाविक भए पनि तत्कालै नयाँ संगठन बनाउने कुनै ठोस तयारी भइरहेजस्तो आफूलाई नलागेको बताए । 'मधेसकेन्द्रित दलहरूबिच एकता हुन नसक्नु दुःखद हो, जसका कारण युवाहरूमा आक्रोश र असन्तुष्टि देखिएको छ,' झाले भने, 'केही युवाबिच अनौपचारिक छलफल भएको हुन सक्छ, तर छुट्टै पार्टी नै गठन भइहाल्छ भन्ने कुरामा मलाई विश्वास छैन ।'
यद्यपि नयाँ पार्टी गठनको गृहकार्य अन्तिम चरणमा पुगिसकेको स्रोत बताउँछ । २०८४ मा हुने स्थानीय तथा प्रदेश तहको निर्वाचनअघि नै दल घोषणा गर्ने तयारीका साथ अहिले सम्पूर्ण प्रक्रिया गोप्य राखिएको बताइएको छ ।
पछिल्लो समय जसपा र लोसपाबिचको एकता प्रयासपछि एकीकृत पार्टीको नाम जनता समाजवादी पार्टी (जसपा) नेपाल राखिएको छ, जसमा उपेन्द्र यादव अध्यक्ष र महन्थ ठाकुर संरक्षक छन् । तर, पार्टीको केन्द्रीय समितिमा पुरानै अनुहारहरूलाई दोहोर्याइएका कारण युवा नेताहरूमा चरम असन्तुष्टि बढेको छ । जेनजी आन्दोलनपछि दलहरूको कार्यशैलीमा परिवर्तन आउने आशा गरिए पनि अवस्था जस्ताको त्यस्तै रहेको भन्दै एक युवा नेताले गुनासो पोखे । निर्वाचनमा मधेसवादी दलहरूको उपस्थिति कमजोर हुँदा पनि नेतृत्वले चेत नफिराएको र यही अवस्था कायम रहे आगामी स्थानीय तथा प्रदेश निर्वाचनमा यी दलहरूको अस्तित्व नै संकटमा पर्ने ती नेताले दाबी गरे ।
मधेसवादी दलहरू निर्वाचनमा कमजोर देखिए पनि अहिले मधेस प्रदेशमा सरकार गठन र सत्ताको लुछाचुँडीमा मात्र केन्द्रित भएको आरोप युवाहरूको छ । नेपाली कांग्रेस नेतृत्वको तत्कालीन सरकार ढालेर एमालेसँगको सहकार्यमा नयाँ सरकार बनाउने दौडधुपमा जसपा नेपाल र जनमत पार्टी सक्रिय देखिएका छन् ।
जनमत पार्टीभित्र मन्त्री चयनलाई लिएर विवाद बढेपछि अध्यक्ष डा. सीके राउतले सरकारबाट बाहिरिने निर्णय गरे पनि मन्त्रीहरूले अझै राजीनामा दिएका छैनन् । 'यस्ता अस्थिर दलहरूबाट मधेसका युवाले के अपेक्षा गर्ने ?' ती युवा नेताले प्रश्न गरे, 'वास्तवमा अहिले संगठन सुदृढीकरण र जनसरोकारका विषयमा केन्द्रित हुनुपर्ने समय हो, तर जसपा नेपाल र जनमत पार्टी लगायतका दलहरू सत्ताको भागबण्डा र मुख्यमन्त्रीको दौडधुपमा मात्र अल्झिएका छन् । यसले मधेसी युवाहरूमा व्यापक निराशा पैदा गरेको र विकल्प खोज्नुपर्ने बाध्यात्मक परिस्थिति सिर्जना भएको निष्कर्ष हाम्रो हो ।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण