पोखरा बसपार्क क्षेत्रमा संरचना खाली गर्न थप १५ दिनको म्याद
सारांश
- पोखरा बसपार्क निर्माणका लागि महानगरले संरचना खाली गर्न थप १५ दिनको म्याद दिएको छ ।
- ट्रेड युनियन महासंघले आफ्नो कार्यालय भवन र परिसर नगर विकास समितिमा हस्तान्तरण गरेको छ ।
- बसपार्क क्षेत्रका सुकुम्बासी तथा भूमिहीन परिवारहरूको लगत संकलन गरिएको छ र न्यायिक छानबिन समिति गठन गरिनेछ ।
पोखरा । पोखराको बहुप्रतीक्षित योजना पोखरा बसपार्क निर्माणका लागि महानगरले तीव्र तयारी थालेको छ ।
यसअघि वैशाख ४ गते निकालिएको ३५ दिने सूचना शनिबार सकिएको छ ।
मेयर धनराज आचार्यले ३५ दिनको म्याद सकिएपछि डोजर लिएर निस्किने बताएका थिए । तर, स्थानीयहरुकै मागका आधारमा संरचना हटाउन थप १५ दिनको म्याद दिइएको छ । उनले बसपार्क क्षेत्रलाई व्यवस्थित र आधुनिक बनाउने उद्देश्यका साथ आवश्यक प्रक्रिया अघि बढाएको बताए ।
नेपाल कम्युनिस्ट पार्टी निकट ट्रेड युनियन महासंघले लामो समयदेखि भोगचलन गर्दै आएको आफ्नो कार्यालय भवन र परिसर पोखरा उपत्यका नगर विकास समितिलाई शनिबार हस्तान्तरण गरेको छ । यसले महानगरलाई काम गर्न थप सहजता ल्याएको मेयर आचार्यले बताए । पोखरा बसपार्कको जग्गामा नेकपा एमाले र नेपाली काँग्रेस निकट संघ संगठनका कार्यालय पनि सञ्चालनमा छन् । त्यसबाहेक, विभिन्न सामाजिक संघ संस्थाका भवन पनि छन् ।
सबैले आफ्ना भवन खाली गर्न थालिसकेका छन् । बसपार्क क्षेत्रमा रहेका जग्गाधनीहरूसँग भएको छलफलपछि सबै सटर र कबलहरू १५ दिनभित्र खाली गर्ने सहमति भएको महानगरले जनाएको छ । सोहीअनुसार, पोखरा उपत्यका नगर विकास समितिले १५ दिनको समयसीमा तोक्दै लालपुर्जा भएको जमिनमा रहेका पसल, कबल, कम्प्लेक्स र पम्पहरू हटाउन सूचना जारी गरेको हो ।
छलफलमा बसपार्क क्षेत्रका जग्गा सट्टापट्टामा परेका समस्याहरू, जग्गाधनी पुर्जा भएर पनि पश्चिमतर्फ बसोबास गरिरहेका परिवारहरू तथा आफैं व्यापार व्यवसाय गरिरहेका जग्गाधनीहरूसँग समन्वय गरिएको मेयर आचार्यले जानकारी दिए । बसपार्क क्षेत्रमा हालसम्म आफ्नो परिचय र विवरण बुझाएका ५ सय ७५ सुकुम्बासी तथा भूमिहीन परिवारहरूको महानगरले लगत संकलन गरेको छ । ती परिवारहरूको आवश्यक छानबिन गरी उपयुक्त स्थानमा स्थानान्तरण गरिने उनले सुनाए ।
जग्गा सट्टापट्टा र लालपुर्जा वितरण प्रक्रियामा भएका कमीकमजोरी, अयोग्य व्यक्तिले सुविधा पाएको र असमानता भएको गुनासालाई सम्बोधन गर्न महानगरले न्यायिक छानबिन समिति गठन गर्ने भएको छ ।
मेयर आचार्यले पोखराको गौरवको आयोजनाको रूपमा रहेको बसपार्क निर्माणको महाअभियानमा सकारात्मक सहयोग गर्न सबैसँग आह्वान गरेका छन् ।
‘बसपार्क निर्माणको महाअभियानमा केही पुराना गुनासाहरूलाई सम्बोधन गर्न हामी न्यायिक छानबिन समिति गठन गर्दैछौँ,’ उनले भने, ‘सरोकारवाला सम्पूर्ण साथीहरू र पाँचवटै टोलवासीबाट यो राष्ट्रिय गौरवको परियोजना सफल बनाउन रचनात्मक सहयोग, सहजीकरण र स्थानान्तरण प्रक्रियामा सकारात्मक भूमिकाको अपेक्षा गर्दछु ।’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण