कांग्रेसले किन दियो केही वडामा सभापतिबाहेकलाई सदस्यता अद्यावधिकको जिम्मेवारी ?
सारांश
- नेपाली कांग्रेसले १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यता नवीकरण गरिसकेकालाई पनि पुनः अद्यावधिक गर्नुपर्ने नियम बनाएको छ ।
- पार्टीले सदस्यता अद्यावधिकलाई डिजिटलाइज्ड गर्न लागेको र केही वडासभापतिसँग प्राविधिक ज्ञान नभएकाले विश्राम दिइएको जनाएको छ ।
- यद्यपि, देउवा र कोइराला समूहले भने बहालवाला वडासभापतिलाई हटाएर नयाँलाई जिम्मेवारी दिएको भन्दै यसको विरोध गरेका छन् ।
काठमाडौँ । नेपाली कांग्रेसले १५औँ महाधिवेशनका लागि भन्दै क्रियाशील सदस्यता नवीकरण गरिसकेकालाई पनि पुनः अद्यावधिक गर्नुपर्ने नियम बनाएको छ ।
महामन्त्री प्रदीप पौडेल नेतृत्वको क्रियाशील सदस्यता व्यवस्थापन समितिले सदस्यता अद्यावधिकका लागि जेठ २१ गतेसम्मको समय दिएको हो ।
उक्त सदस्यता अद्यावधिक पार्टीलाई ‘डिजिटलाइज्ड’ गर्न भएको कांग्रेसले जनाएको छ । अद्यावधिक अनलाइनमार्फत आफ्नो वडामा पुगेर पार्टीको वडा सभापतिमार्फत गर्नुपर्ने नियम छ । तर, अहिले यो कार्यका लागि जिल्लामा खटिएका केन्द्रीय प्रतिनिधि, जिल्ला सभापति र क्षेत्रीय सभापतिले आवश्यकताका आधारमा केही वडासभापतिलाई सदस्यता अद्यावधिक गर्ने प्रयोजनका लागि मात्रै विश्राम दिइएको प्रवक्ता देवराज चालिसेले बताए ।
‘स्पेसल टास्कका रूपमा सदस्यता अद्यावधिक गर्ने प्रयोजनका लागि मात्रै केही वडामा सभापति पद पुरानाको यथावत् रहनेगरी नयाँलाई जिम्मेवारी दिइएको छ,’ प्रवक्ता चालिसेले रातोपाटीसँग भने, ‘कतिपय वडा सभापतिसँग मोबाइल छैन । कतिपय वडा सभापतिको मृत्यु भएको छ । कतिपय वडा सभापति विदेश गएका छन् । यी अवस्थाले केन्द्रीय प्रतिनिधिले सदस्यता अद्यावधिक कार्य प्रयोजनका लागि मात्रै अख्तियारी दिएका हुन् । यो कुनै राजनीतिक करण होइन, प्राविधिक विषय मिलाउन हो ।’
सदस्यता अद्यावधिकका लागि वडा सभापतिको मोबाइलमा ‘ओटीपी’ कोर्ड आउने व्यवस्था अनलाइनमा गरिएकोले त्यो अवस्था आएको प्रवक्ता चालिसेले बताए । ‘सदस्यता अद्यावधिक डिजिटलाइज्ड गर्नका लागि हो । पुरानो पार्टी भएकाले सम्मानका लागि पहाडी र हिमाली क्षेत्रमा पाको उमेरकालाई वडा सभापति बनाइएको र उनीहरूले प्राविधिक विषय नजानेकाले यही प्रयोजनका लागि मात्रै अर्कोलाई जिम्मेवारी दिन परेको बताए ।
निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइराला समूहले भने बहालवाला वडासभापतिलाई हटाएर नयाँलाई जिम्मेवारी दिएको बताइरहेको छ । त्यसबारे रातोपाटीको जिज्ञासामा प्रवक्ता चालिसेले भने, ‘कसैलाई हटाएको छैन र हटाउने कुरा पनि छैन । कारबाही गरेको होइन, गर्ने पनि होइन । यसलाई राजनीतिक विवाद बनाउन खोजिएको छ तर यो राजनीतिक विवादको विषय होइन ।’
नेता डा. शेखर कोइराला र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सदस्यता अद्यावधिक गर्ने निर्णय पार्टीले गरेपछि विज्ञप्ति नै निकालेर विरोध गरेका थिए । एकपक्षीय यस्तो निर्णयबाट पार्टी एकतामा ठेस पुगेको उनीहरूको भनाइ थियो ।
डा. कोइरालाले अहिले डिजिटलाइज्ड गर्ने नाममा अहिले नवीकरण भइसकेका सदस्य फेरि अद्यावधिक आवश्यक नरहेको बताए । ‘अहिले डिजिटलाइज्ड गर्ने नाममा नवीकरण गर्ने बेला होइन । यो आवश्यक छैन,’ डा. कोइरालाले रातोपाटीसँग भने, ‘पार्टी एकताको आधार बलियो बनाउन अद्यावधिक गर्ने कार्य रोक्नुपर्छ भन्ने मरो धारणा रहँदै आएको छ ।’
सदस्यता व्यवस्थापन समितिका संयोजक महामन्त्री पौडेलले पनि कुनै पनि वडा सभापतिलाई नहटाइएको र हटाउने योजना पनि नभएको जानकारी दिए । ‘अहिलेसम्म कुनै वडा सभापतिलाई हटाइएको छैन, हटाउने कुनै योजना पनि छैन, ‘महामन्त्री पौडेलले रातोपाटीसँग भने, ‘यो विशुद्ध प्राविधिक विषय हो । तर, राजनीति गर्ने प्रयास भएको छ । पार्टीलाई व्यवस्थित गर्न, सदस्यको प्रोफाइल आवश्यक परेको बेलामा सहजै हेर्न सकियोस् भनेर यस्ते व्यवस्था गर्न लागिएको हो ।’
देउवा पक्षका नेताहरूले भने सदस्यता अद्यावधिक गर्ने नाममा आफ्नो समूहमा रहेका वडा सभापतिहरूलाई हटाउन खोजिएको बताएका छन् ।
देउवा समूहका नेता पूर्वसहमहामन्त्री डा. प्रकाशशरण महतले अहिलेको अवस्थामा सदस्यता अद्याविकको नचाहिने विषय ल्याइएको भन्दै आपत्ति जनाए । ‘अनुपयुक्त समयमा अद्यावधिकको नाटक मञ्चन गरिएको छ । यो आवश्यक विषय होइन,’ डा. महतले रातोपाटीसँग भने, ‘वडा सभापतिको जिम्मेवारीका विषय पनि आएका छन् । यसले एकता थप कमजोर बनाउने काम गरिरहेको छ ।’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण