बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

महत्त्वपूर्ण कागजात नष्ट भएका कारण आवश्यक प्रमाण जुटाउन कठिन : सचिव राउत

सोमबार, ११ जेठ २०८३, १४ : ५५
सोमबार, ११ जेठ २०८३

सारांश

  • उद्योग मन्त्रालयका सचिव कृष्णबहादुर राउतले महत्त्वपूर्ण कागजात नष्ट भएका कारण बेरुजु फर्स्योटमा प्रमाण जुटाउन कठिन भएको बताएका छन् ।
  • कानुनी अस्पष्टता र केही फाइलहरू महालेखा परीक्षकको कार्यालयमा रोकिएका कारणले पनि बेरुजु रकम बढेको सचिव राउतले जानकारी दिए ।
  • मन्त्रालयले हाल कानुनबमोजिम 'बेरुजु फर्स्यौट समिति' गठन गरी मातहत निकायहरूसँग समन्वय गर्दै बेरुजु व्यवस्थापनलाई प्राथमिकतामा राखेको छ ।

काठमाडौँ । उद्योग मन्त्रालयका सचिव कृष्णबहादुर राउतले महत्त्वपूर्ण कागजात नष्ट भएका कारण आवश्यक प्रमाण जुटाउन कठिन भइरहेको बताएका छन् । 

सोमबार सार्वजनिक लेखा समिति बैठकमा बोल्दै उनले विगतका केही महत्त्वपूर्ण कागजात नष्ट भएका कारण बेरुजु फर्स्योटका काममा आवश्यक प्रमाण जुटाउन कठिन भइरहेको जानकारी दिए । 

उनकाअनुसार कतिपय फाइल महालेखा परीक्षकको कार्यालयमा पठाइए पनि विभिन्न कारणले प्रक्रिया रोकिएको अवस्था छ । यसले बेरुजु फर्स्यौटका काम प्रभावित भएको छ । सचिव राउतले विगत करिब दुई वर्षसम्म कायम रहेको कानुनी अस्पष्टताका कारण पनि बेरुजु रकम बढेको बताए । 

कानुनी अन्योलका कारण समयमा फर्स्यौट हुन नसक्दा बेरुजुको दायरा विस्तार भएको उनको भनाइ थियो ।

सचिव राउतले भने– ‘केही यो कागजातहरू नष्ट भएको कारणले पनि पछिल्लो समयमा आवश्यक कागज–प्रमाणहरू पूरा गर्न नसकेर रहेको छ, अलिकति अहिलेको समस्या भनेको त्यही हो भने । त्यसपछि कतिपय फाइल चाहिँ महालेखा परीक्षकको कार्यालयमा पठाइए पनि त्यो विविध कारणले अहिले रोकिएको अवस्था  छ र यो बेरुजुको रकम अलिकति बढ्नुमा विगतमा हाम्रो लगभग दुई वर्ष जति कानुनी अस्पष्टताको कारणले पनि यो फर्स्यौट हुन नसकेको कारणले बढेको हो र अब अहिले हामी मन्त्रालयले कानुनमा तोकिए बमोजिमको ‘बेरुजु फर्स्यौट समिति’ नै गठन गरेर नियमित रूपमा मन्त्रालय र अन्तर्गतका निकाय प्रमुख र लेखा प्रमुखहरूको छलफल गरेर त्यो अनुसार बेरुजु फर्स्यौटलाई तदारुकताका साथ अगाडि बढाइरहेका छौँ ।’

उनले हाल मन्त्रालयले कानुनबमोजिम ‘बेरुजु फर्स्यौट समिति’ गठन गरी नियमित रूपमा काम गरिरहेको जानकारी दिए । मन्त्रालय तथा मातहत निकायका प्रमुख र लेखा प्रमुखहरूसँग निरन्तर छलफल गरेर कार्य योजनाअनुसार बेरुजु फर्स्यौट प्रक्रिया अघि बढाइएको सचिव राउतले बताए । उनकाअनुसार मन्त्रालयले बेरुजु व्यवस्थापनलाई प्राथमिकतामा राखेर तदारुकताका साथ काम गरिरहेको छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप