मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
संगीत

‘न बिर्सें तिमीलाई’ : म्युजिकल फिल्म शैलीमा आयो अन्जु पन्तको लोकप्रिय गजल

सोमबार, ११ जेठ २०८३, १७ : २३
सोमबार, ११ जेठ २०८३

काठमाडौँ । करिब दुई दशक अगाडि एउटा गजल-गीत ‘न बिर्सें तिमीलाई न पाएँ तिमीलाई’ अधिकांश संगीतप्रेमीको मनमा बस्यो । अन्जु पन्त र जगदीश समालले गाएको उक्त गजल विपिन किरणले रचना गरेका थिए भने महेश खड्काले संगीत सिर्जना गरेका थिए । गजल श्रोताको मनमा यतिसम्म गढ्यो गायिका अन्जु पन्तको यो ‘सिग्नेचर सङ’ नै बन्न पुग्यो । आज पनि अन्जु पन्तलाई ‘न बिर्सें तिमीलाई’बाटै धेरैले चिन्छन् ।

२०६४ सालमा यो गजल आएको समयमा सुगम संगीत र पप-संगीतकै वर्चस्व नेपाली संगीतमा थियो । ‘न बिर्सें तिमीलाई’ले गजललाई फेरि मूलधारको संगीतको भँगालोमा ल्याइदिएको थियो । त्यसै समयको पेरिफेरीमा गीतबाट मात्रै नभई गजल समेत गाएर शिव परियार, राज सिग्देशजस्ता गायकहरू स्थापित भए । यो गजलको म्युजिक भिडियोले पनि त्यसबेला निकै प्रशंसा पाएको थियो । 

अहिले करिब दुई दशकपछि फेरि यही गजलको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । तर यसपटक म्युजिक भिडियो नभनेर ‘म्युजिक फिल्म’ भनेर दर्शकमाझ प्रस्तुत गरिएको छ । निकेश खड्का निर्देशित भिडियोलाई किरण क्रियसनले निर्माण गरेको हो । भिडियोमा केकी अधिकारी, सरोज खनाल र सुरेन्द्र दियालीले अभिनय गरेका छन् । आफूले माया गरेको व्यक्तिलाई भौतिक रूपमा संसारमा रहेपनि, नरहेपनि कहिल्यै बिर्सन नसकिने भाव म्युजिक फिल्मले प्रस्तुत गर्छ । 

भिडियोमा दिनेश पराजुलीको छायांकन र विकास धमलाको सम्पादन छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप