१० बजे १० समाचार : देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश, गणतन्त्र दिवस विशेष समारोहमा बालेनले सम्बोधन नगर्ने !
सारांश
- सर्वोच्च अदालतले नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवाविरुद्ध जारी भएको पक्राउ पुर्जीलाई निष्क्रिय गर्दै पक्राउ नगर्न अन्तरिम आदेश दिएको छ ।
- प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले गणतन्त्र दिवस विशेष समारोहमा सम्बोधन नगर्ने भएका छन् ।
- सरकारले धानको समर्थन मूल्य तोक्नेदेखि नागरिक उड्डयन प्राधिकरण (क्यान)को महानिर्देशक नियुक्तिसम्मका निर्णय गरेको छ ।
आज २०८३ जेठ ११ गते सोमबार । आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ–
आजका मुख्य समाचारमा देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश, गणतन्त्र दिवस विशेष समारोहमा बालेनले सम्बोधन नगर्ने !, प्रधान न्यायाधीश सिफारिसविरुद्धको रिट दरपीठ सदर, कांग्रेसमा एकताका लागि शेखरले अघि सारे ५ प्रस्ताव, मन्त्रिपरिषदको निर्णयः धानको समर्थन मूल्य तोक्नेदेखि क्यानको महानिर्देशक नियुक्तिसम्म, किन रोकियो नाटक ‘लुसिफर राइजिङ’ ? नयाँ सरकार पुरानै शैलीमा लगायत छन् ।
१. देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश
सर्वोच्च अदालतले नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवाविरुद्ध जारी भएको पक्राउ पुर्जीमा प्रचलित कानुनको प्रक्रिया अवलम्बन नभएको भन्दै निष्क्रिय गरिदिएको छ । अदालतले देउवा दम्पतीलाई पक्राउ नगर्न अन्तरिम आदेशसमेत दिएको छ ।
२. गणतन्त्र दिवस विशेष समारोहमा बालेनले सम्बोधन नगर्ने !
प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले संसदमा सांसदहरूका प्रश्नको जबाफ नदिएको भन्दै विपक्षी दलहरूले आपत्ति जनाउँदै आएका छन् । सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जबाफ नदिएर आलोचना झेलेका बालेनले गणतन्त्र दिवस विशेष समारोहमा समेत सम्बोधन नगर्ने भएका छन् ।
३. प्रधान न्यायाधीश सिफारिसविरुद्धको रिट दरपीठ सदर
सर्वोच्च अदालतले प्रधान न्यायाधीश सिफारिसविरुद्धको रिट दरपीठ गर्ने निर्णयलाई सदर गरिदिएको छ । सोमबार न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले सर्वोच्च प्रशासनको दरपीठसम्बन्धी निर्णयलाई सदर गरिदिएको हो ।
४. कांग्रेसमा एकताका लागि शेखरले अघि सारे ५ प्रस्ताव
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र एकताका लागि ५ बुँदे प्रस्ताव अघि सारेका छन् ।
५. मन्त्रिपरिषदको निर्णयः धानको समर्थन मूल्य तोक्नेदेखि क्यानको महानिर्देशक नियुक्तिसम्म
सरकारले धानको समर्थन मूल्य तोक्नेदेखि नागरिक उड्डयन प्राधिकरण (क्यान)को महानिर्देशक नियुक्तिसम्मका निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले विभिन्न निर्णय गरेको हो ।
६. किन रोकियो नाटक ‘लुसिफर राइजिङ’ ?
राजधानीमा मञ्चन भइरहेको नाटक ‘लुसिफर राइजिङ’को प्रदर्शन एकाएक स्थगन गरिएको छ । अज्ञात राजनीतिक व्यक्ति, प्रवृत्ति र समूहको दबाबका कारण नाटकको शो रोक्न बाध्य भएको यसको निर्माण संस्था ‘मझुवा बगर’ले जनाएको छ ।
७. नयाँ सरकार पुरानै शैलीमा
सबैजसो निकायका राजनीतिक नियुक्ति खारेज गरेको सरकार यतिबेला रिक्त स्थानमा नयाँ नियुक्तिको तयारीमा छ । केही संस्थामा सरकारले नियुक्ति गरे पनि विवाद र असन्तुष्टि सतहमा आएको छ । नयाँ सरकार भए पनि पुरानै शैलीमा अघि बढेको भन्दै असन्तुष्टि बढ्न थालेको हो ।
८. धनगढी विमानस्थल विस्तारमा बजेट अभाव
सुदूरपश्चिम प्रदेशको लाइफलाइनका रूपमा रहेको धनगढी विमानस्थललाई क्षेत्रीयस्तरको अत्याधुनिक विमानस्थल बनाउने सरकारी योजना तीन आर्थिक वर्षदेखि कागजमै सीमित भएको छ । तामझामका साथ घोषणा गरिएको जग्गा अधिग्रहण र धावनमार्ग विस्तारको काम बजेट अभाव र सरकारी प्राथमिकतामा नपर्दा हाल पूर्ण रूपमा ठप्प भएको हो ।
९. पोखरा बसपार्कको जग्गामा व्यक्तिको रजाइँ
पोखरामा बसपार्क बनाउन भनेर २०३२ सालमै अधिग्रहण गरेको जग्गाको ठुलो हिस्सामा विभिन्न व्यक्तिले कब्जा गरेका छन् । यतिबेला बसपार्कको जग्गा खाली गर्ने अभियानमा पोखरा महानगरपालिका अघि बढेको छ । यसै सन्दर्भमा रातोपाटीले विशेष सामग्री तयार पारेको छ ।
१०. केही मन्त्रालयको बजेट घटाउने तयारी
आगामी आर्थिक वर्षका लागि सरकारले बजेटको आकार र मन्त्रालयगत सिलिङ (सीमा) घटाउने तयारी गरेको छ । विशेषगरी भौतिक पूर्वाधार, ऊर्जा, खानेपानी र कृषिजस्ता उत्पादनमूलक तथा विकास निर्माणको जिम्मा पाएका मन्त्रालयहरूको बजेट घटेर आउने भएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण