मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय

विश्वकपको सेमिफाइनल हुने डालस स्टेडियम 'म्यानेजमेन्टको लीड'मा नेपाली युवा आश्विन

मङ्गलबार, १२ जेठ २०८३, १२ : १८
मङ्गलबार, १२ जेठ २०८३

सारांश

  • विश्वकपको सेमिफाइनल खेल आयोजना हुने अमेरिकाको डालसमा रहेको एटीएण्डटी स्टेडियममा नेपाली युवा आश्विन राज पोखरेलले स्टेडियम म्यानेजमेन्ट टिममा लीडको जिम्मेवारी पाएका छन् ।
  • काठमाडौंको अनामनगरका स्थायी घर भएका आश्विनले अमेरिकाबाटै स्नातक र स्नातकोत्तर पूरा गरेका छन् र यसअघि अमेजनमा समेत काम गरिसकेका छन् ।
  • आश्विनको नेतृत्वमा रहेको टिमले रंगशालाभित्रको समग्र अपरेसन र दर्शकहरूको अनुभवलाई उत्कृष्ट बनाउने तथा कोका-कोलासँग सहकार्यमा सेवा प्रवाहलाई चुस्त बनाउने काम गर्नेछ ।

काठमाडौँ । विश्व खेलकुदको कुम्भमेला ‘फिफा विश्वकप २०२६’ सुरु हुन अब तीन साता पनि बाँकी छैन । सोही विश्वकपको तयारी  तीव्र गतिमा भइरहँदा एक नेपाली युवाले समेत महत्त्वपूर्ण जिम्मेवारी पाएका छन् । 

अमेरिकाको डालसस्थित टेक्सासमा रहेको एटीएण्डटी स्टेडियममा नेपाली युवा आश्विन राज पोखरेल ‘लीड’ को रूपमा चयन भएका हुन् । जहाँ विश्वकपको सेमिफाइनल खेल आयोजना हुँदैछ । यही उनले स्टेडियम म्यानेजमेन्ट (सञ्चालन) टिममा लीडको जिम्मेवारी पाएका हुन् । 

सन् २०२६ को विश्वकप अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गर्दैछन् । यसै सिलसिलामा डालस स्टेजमा हुने खेलहरू र विशेषगरी सेमिफाइनलका लागि स्टेडियमको व्यवस्थापन र सञ्चालन हेर्ने गरी आश्विनले नेतृत्वदायी भूमिका पाएका हुन् । 

काठमाडौंको अनामनगर स्थायी घर भएका आश्विन सन् २०१८ मा उच्च शिक्षाका लागि अमेरिका पुगेका थिए । उनले अमेरिकाबाटै आफ्नो स्नातक र स्नातकोत्तर (मास्टर्स) पुरा गरेका छन् । अमेरिका जानुअघि उनले नेपालमा मिडिया कम्पनी ‘हाइलाइट्स नेपाल’ मा भिडियो सम्पादन र अपलोडिङको काम सम्हाल्ने गर्थे । 

अमेरिका पुगेपछि पनि उनले आफ्नो मेहनतलाई जारी राखे । उनले केही समय विश्वप्रसिद्ध ई-कमर्स कम्पनी ‘अमेजन’ मा समेत अनुभव बटुलेका थिए ।

हाल उनी इभेन्ट म्यानेजमेन्टमा सक्रिय छन् । उनले अर्जुन रामपाल र तमन्ना जस्ता चर्चित कलाकारहरू सहभागी हुने ठूला कार्यक्रमहरूको डालसमा सफल व्यवस्थापन गरिसकेका छन् । सोही अनुभव र कार्यक्षमताका कारण उनलाई फिफा विश्वकपको म्यानेजमेन्ट टिममा चुनिएको हो ।

कस्तो छ उनको जिम्मेवारी ?

आश्विनको नेतृत्वमा रहेको टिमले रंगशालाभित्रको समग्र अपरेसन र दर्शकहरूको अनुभवलाई उत्कृष्ट बनाउने काम गर्छ । विशेषगरी विश्वकपको मुख्य प्रायोजक मध्येको एक ‘कोका-कोला’ सँगको सहकार्यमा स्टेडियमभित्रको सेवा प्रवाहलाई चुस्त बनाउनु उनको मुख्य जिम्मेवारी हो । 

उनको यो कार्यकाल मे २० देखि जुलाई १४ सम्मका लागि दुई महिनाको सम्झौतामा आधारित छ । यस अवधिमा उनले स्टेडियम म्यानेजमेन्टको लिडरका रूपमा अन्य कर्मचारी र स्वयंसेवकहरूको परिचालन गर्नेछन् ।

आश्विनले यो अवसरलाई व्यक्तिगत सफलता मात्र नभएर समग्र नेपालीका लागि गर्वको विषय मानेका छन् । उनी भन्छन्, 'नेपालीहरूले अवसर पाउँदा जे पनि गर्न सक्छन् भन्ने स्लोगनलाई म चरितार्थ गर्न चाहन्छु ।' यसबाहेक उनले आफ्नै कम्पनी ‘एस फाइनान्स’ मार्फत उनले नेपाली विद्यार्थीहरूलाई क्रेडिट ट्रान्सफर र अन्य प्राविधिक सहयोग समेत प्रदान गर्दै आएका छन् ।

उनको सपना केवल म्यानेजमेन्टमा मात्र सीमित छैन । एक भिडियो सन्देशमा उनले भनेका छन्, 'मेरो सपना कुनै दिन यही रंगशालामा नेपालको राष्ट्रिय टोलीले खेलिरहेको हेर्ने छ । म चाहन्छु हरेक नेपालीले एक दिन हाम्रो देशलाई विश्वकपको मैदानमा देख्न पाओस् ।'

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप