बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
विपक्षीहरूकाे एक स्वर

विपक्षी दलहरूले भने– प्रधानमन्त्री नआई संसद्को कारबाही अगाडि नबढाइयोस्

मङ्गलबार, १२ जेठ २०८३, १४ : ५०
मङ्गलबार, १२ जेठ २०८३

सारांश

  • विपक्षी दलहरूले प्रधानमन्त्री संसद्मा उपस्थित नभएसम्म कार्यसूची अगाडि नबढाउन सभामुखलाई आग्रह गरेका छन् ।
  • प्रमुख सचेतकहरूले प्रधानमन्त्रीले सदनलाई बेवास्ता गरेको र संविधानको उल्लङ्घन गरेको आरोप लगाएका छन् ।
  • विपक्षी दलहरूले बहुमतको आधारमा नभई सहमति र सहकार्यबाट सदन सञ्चालन गर्न माग गरेका छन् ।

काठमाडौँ । विपक्षी दलहरूले प्रधानमन्त्री बालेन शाह संसद्मा नआई प्रतिनिधि सभाको कार्यसूची अगाडि नबढाउन सभामुखलाई आग्रह गरेका छन् । उनीहरूले मङ्गलबार सभामुख डोलप्रसाद अर्यालले सदनको कार्यसूची अगाडि बढाउन लाग्दा उठेर विरोध गरेका थिए । 

त्यसपछि सभामुख अर्यालले विपक्षी दलहरू नेपाली कांग्रेसकी प्रमुख सचेतक वासना थापा, एमालेका प्रमुख सचेतक ऐन महर, नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतक युवराज दुलाल, श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आर्यन राई र राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीलाई पालैपालो बोल्न दिएका थिए । 

उनीहरू सबैले प्रधानमन्त्री शाहले संसद्लाई सम्बोधन गरेपछि कार्यसूची अगाडि नबढाउन आग्रह गरे । 

कांग्रेस प्रमुख सचेतक थापाले संसद्को गरिमा र प्रतिपक्षीको भूमिकालाई कमजोर बनाउन सरकार लागिरहेको बताइन् । ‘प्रधानमन्त्रीले प्रश्नोत्तर कार्यक्रम बेवास्ता गर्नुभयो । बहुमत नै सर्वशक्तिमान् ठान्ने हो भने लोकतान्त्रिक व्यवस्था कसरी बलियो हुन्छ,’ थापाले भनिन्, ‘साझा राष्ट्रिय एजेण्डामा सहमति गरेर अगाडि बढौँ । एकपक्षीय रूपमा अगाडि नबढ्नुस् ।’

उनले बहुमतको आधारमा होइन, सहमति  र सहकार्यबाट सरकार र सदन सञ्चालन गर्न आग्रह गरिन् । 

एमाले प्रमुख सचेतक महरले प्रधानमन्त्रीले आफूलाई उत्पादन गर्ने संसद्लाई बेवास्ता गरेको आरोप लगाए । सरकारले संविधानको उल्लङ्घन गरेको उनको भनाइ छ । ‘सरकारले धारा ७६ (१०) उल्लङ्घन गरेको छ । प्रधानमन्त्री संसद‌्मा आएर सदनलाई रेस्पेक्ट गर्नुभएको छैन,’ उनले भने । 

सरकारले कार्यपालिका र राष्ट्रपतिबिच दूरी बढाउन खोजिरहेको बताए ।  महरले सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीले संविधानको चीरहरण गरेर बालेनतन्त्र स्थापना गर्न खोजेको हो भन्दै प्रश्न गरे। 

प्रधानमन्त्री सदनमा आउनु पर्ने र सांसदका प्रश्नको जवाफ दिन माग गर्दै विपक्षीहरूले अवरोध गरेपछि सभामुखले बोल्न दिएको समयमा सांसद महरले प्रधानमन्त्री बालेन्द्र शाहले सदनमा आएर सांसदमा जवाफ दिनुपर्ने बताए । उनले प्रश्न गर्दै भने, ‘संविधानको चीरहरण गरेर बालेनतन्त्र स्थापना गर्न खोजिएको हो ?’

उनले प्रधानमन्त्री शाह सदनमा नआउँदै सदनको कारबाही अगाडि नबढाउन माग गरे । नेकपाका प्रमुख सचेतक दुलालले प्रधानमन्त्री संसद‌्बाट जन्मिएकाले सदनलाई समय दिनुपर्ने बताए । 

सभामुखले प्रधानमन्त्री संविधानभन्दा माथि हो भन्ने जानकारी दिनुपर्ने उनको भनाइ थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप